• १२ असार २०८१, बुधबार

डिभिजन वन कार्यालयबाट निःशुल्क बिरुवा वितरण

blog

डिभिजन वन कार्यालयको आफ्नै नर्सरीमा विरुवा लिन आएका सर्वसाधारण । तस्बिर : मीना कंडेल

मीना कंडेल

कावासोती, असार ४ गते । पूर्वी नवलपरासी डिभिजन वन कार्यालयले निःशुल्क बिरुवा वितरण गर्न आफ्नै नर्सरी तयार पारेको छ । गत वर्षबाट वन कार्यालयले आफ्नै नर्सरीमा विभिन्न प्रजातिका एक वर्षे र बहुवर्षिय बिरुवा उत्पादन गरि निःशुल्क वितरण गर्दै आएको छ । 

यस वर्ष वन कार्यालयले आफ्नै नर्सरीमा २८ प्रजातिका बिरुवा तयार गरेको छ । नर्सरीमा बाँस, तेजपात, हर्राे, बर्राे, धुपी, कपुर, म्याडगोस्टिक, अशोक, सितलचिनी, निम, रुख कटहर, अम्बा, टाँकी, बडहर, जामुन, कल्की, टिकुमा, टिक, किम्बु, बकाइनो, पिपल,, अमला, लप्सी,चिउरी, भटमास घाँस, लगायतका बिरुवा छन् ।

डिभिजन वन कार्यालय नवलपुरका प्रमुख बसन्त केशव अधिकारीले डिभिजन वन कार्यालय परिसरमा रहेको डिभिजन नर्सरी र गैँडाकोट सवडिभिजन कार्यालयको सवडिभिजन नर्सरीमा करिब एक लाख ६० हजार बिरुवा हुर्काइएको बताउनु भयो । उहाँले भन्नभयो, "कावासोतीमा एक लाख दश हजार यस वर्षको र गत वर्षको १४ हजार गरि एक लाख २४ हजार बिरुवा तयार भएका छन् , बाँकी गैडाकोटमा हुर्काइएको छ ।"

नर्सरीमा हुर्काइएका बिरुवा रोपणका निमित्त निःशुल्क वितरण थालिएको छ । कावासोती र गैँडाकोट गरी दुई वटा नर्सरीमा उत्पादित विभिन्न प्रजातिका बिरुवाको निःशुल्क वितरण थालेपछि बिरुवा लिन आउनेहरू बढेका छन् । डिभिजन वन कार्यालय नवलपुरका सूचना अधिकारी शिशिर लम्सालले विशेष गरी निजी जमिनमा बिरुवा माग गर्ने उपभोक्ताहरूले सौन्दर्यजन्य धुपी, कल्की फूल, गोलमोहर, वीरेन्द्र फूल, कपुर जस्ता बिरुवा लैजाने गरेको बताउनुभयो । 

सामुदायिक वन, संस्थागत र सार्वजनिक स्थलमा वृक्षारोपण गर्नेहरूबाट भने सबै प्रजातिका मिश्रित बिरुवाको माग हुने गरेको उहाँले बताउनुभयो । बहुवर्षीय रुखका बिरुवा, बहुवर्षीय डालेघाँसका बिरुवा, बहुवर्षीय फूलका बिरुवा, सुगन्धित, जडीबुटीजन्य बिरुवाका साथै भूक्षय, कटान तथा पहिरो रोकथामा उपयोगी बाँस तथा अम्रिसो जातका बिरुवा उत्पादन गरिएको वन कार्यालयले जनाएको छ । 

निजी, सार्वजनिक तथा संस्थागत सबैलाई निःशुल्क रूपमा बिरुवा उपलब्ध गराइएको छ । यसले वातावरणीय सन्तुलन, वातावरणीय सौन्दर्यीकरण, भूक्षय तथा कटान रोकथाम, पशुको आहारा घाँस परिपूर्तिमा टेवा पुग्ने अपेक्षा गरिएको छ । पहिलो पटक जिल्लाभित्रै नर्सरीमा बिरुवा उत्पादन भएपछि अन्य जिल्लाबाट पनि खरिद गर्न आउनेहरू बढेका छन्।

खेर गएको जमिन हराभरा बनाउने, किसानलाई चाहिने डाले घाँसको आपूर्ति गर्ने, जडीबुटी खेती विस्तारमा सघाउने भएकाले आफुले पनि बिरुवा लिन आएको स्थानीय मेघनाथ खरालले बताउनु भयो । डिभिजन वनले आफूलाई आवश्यक पर्ने सवै बिरुवा निशुल्क वितरण गरेकाले खुसी लागेको बताउनुभयो ।