तिलाचन पाण्डे
तम्घास, असार ४ गते । काली गण्डकी कोरिडोर पहिरोका कारण अवरुद्ध भएको छ । जिल्लाको कालीगण्डकी गाउँपालिकाको हर्मिचौर अर्वेनी सडक खण्डको गरगरेमा सडक माथिबाट पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।
आइतबार राती परेको वर्षाका कारण पहिरो खस्दा सडक अवरुद्ध भएको हो । सोमबार र मङ्गलबार बिहानभर पहिरो पन्छाउनका लागि स्कोटरको प्रयोग गरिएको कालीगण्डकी गाउँपालिकाकी उपाध्यक्ष मञ्जुकुमारी दर्लामीले जानकारी दिनुभयो । आजै केही समय पश्चात पहिरो पन्छाएर सकिने उहाँको भनाइ छ । सडकमाथि ठूलो ढुङ्गा रहेको र जुनसुकै समयमा पनि खस्न सक्ने भएकाले जोखिम भने कायमै रहेको दर्लामीको भनाइ छ ।
पहिरो खस्दा कालीगण्डकी गाउँपालिकाको केन्द्र पूर्तिघाटदेखि छुटने लामो तथा छोटो दूरीका सवारीसाधन चल्न सकेका छैनन् । गाउँपालिकाको केन्द्रसम्म जान र आउनका लागि पनि ठप्प भएको स्थानीयहरुले बताएका छन् ।
हर्मिचौरदेखी बाग्लुङको बलेवासम्मको ४५ किलोमिटर सडक स्तराेन्नतिसँगै कालोपत्रे गर्नका लागि कालिका कन्ट्रक्सनले काम गरिरहेको छ । तीन अर्वको लागतमा निर्माण हुने उक्त सडकको २०७९ मङसिर २६ गते सम्झौता भई २०८२ मङ्सिर २५ गते सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख गरिएको छ ।