• १२ असार २०८१, बुधबार

झिंझरी खोला कटान क्षेत्रमा तटबन्धन निर्माण

blog

राप्तीसोनारी गाउँपालिका वडा नं. ९ बुच्चापुरस्थित झिंझरी खोलामा निर्माण गरिएको तटबन्धन । तस्बिर : गजेन्द्र गुरुङ

गजेन्द्र गुरुङ

खजुरा, असार ४ गते । बाँकेको राप्तीसोनारी गाउँपालिका ९ स्थित झिंझरी खोलामा तटबन्धन निर्माण गरिएको छ । लुम्बिनी प्रदेशका उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कृष्णा केसी ‘नमुना’को पहलमा उर्जा, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय नेपालगन्जको समन्वयमा उपभोक्ता समितिमार्फत् राप्तीसोनारी गाउँपालिका ९ बुच्चापुरस्थित झिंझरी खोलाको कटान क्षेत्रमा तटबन्धन गरिएको उपभोक्ता समितिका सचिव गोविन्द वलीले जानकारी दिनुभयो ।

सचिवि वलीका अनुुसार हरेक वर्षको वर्षायाममा आउने झिंझरी खोलाको बाढीले बुच्चापुरका स्थानीयबासीको खेतीयोग्य जमिन कटान गर्ने गरेको थियो । हरेक वर्ष वर्षायामको समयमा हुने जमिन कटानबाट स्थानीय पीडित बनेका थिए । प्रदेश सरकार र उपभोक्ता समितिको संयुक्त लागत खर्चमा यस वर्ष उक्त क्षेत्रमा तटबन्धन गरिएको उहाँले बताउनुभयो ।

सचिव वलीका अनुसार कटान हुने क्षेत्रमा एक सय पाँच मिटर लम्बाइको तटबन्धन निर्माण गरिएको छ । तटबन्धन निर्माण गरिएपछि त्यस क्षेत्रका ५० घरधुरीका २ सय ५० जनसंख्या लाभान्वित भएका छन् । प्रदेश सरकारको ३८ लाख ४३ हजार ९ सय चार रुपियाँ र स्थानीय जनश्रमदान दुई लाख २५ हजार ४ सय ८५ रुपियाँ गरी कुल ४० लाख ६९ हजार ३ सय ८९ रुपियाँको लागत खर्चमा उक्त तटबन्धन निर्माण गरिएको उहाँले जानकारी दिनुभयो ।

गत वर्षको फागुन १६ गतेबाट सम्झौता गरी उपभोक्ता समितिमार्फत् काम सुरु गरेर यस वर्षको असार १० गतेसम्म काम सम्पन्न गर्ने लक्ष्य रहेपनि लक्षित समय अगावै जेठ २० गते भित्रै निर्माण कार्य सम्पन्न गरिएको सचिव वलीले जानकारी दिनुभयो ।

यस वर्ष कटान क्षेत्रमा तटबन्धन निर्माण सम्पन्न भएपछि स्थानीयले अबदेखि खोलाले आफ्नो जमिन कटान गर्न नपाउने र ढुक्क साथ खेती गर्न पाइने भो भनेर खुसी देखिएका छन्। तटबन्धन निर्माणपछि स्थानीयको खेतीयोग्य जमिन कटान हुन बाट जोगिने आशा गरिएको छ ।