• १२ असार २०८१, बुधबार

कुलेखानी जलाशयमा नौ लाख माछाका भुरा छोडियो

blog

अनिल पराजुली

हेटौँडा, असार ४ गते । मकवानपुरको कुलेखानीमा नौ लाख माछाका भुरा छोडिएको छ । इन्द्रसरोवर रिजरभ्वायरको जलीय जैविक विविधता संरक्षणका लागि नौ लाख २० हजार माछाका भुरा छाडिएको हो । मत्स्य विकास केन्द्र, कुलेखानी मकवानपुरले ८ लाख र प्राकृतिक जलाशय मत्स्य प्रवर्धन एवं संरक्षण केन्द्र हेटौँडाले एक लाख २० हजार माछाका भुरा कुलेखानी जलाशयमा छाडेका हुन् । 

मत्स्य विकास केन्द्र, कुलेखानी मकवानपुर निमित्त प्रमुख मनिता पौडेलका अनुसार सिल्भर २ लाख, बिगहेड कार्प २ लाख, कपन कार्प १ लाख, नैनी,रुबु २ लाख र ग्रास कार्प १ लाख र प्राकृतिक जलाशय मत्स्य प्रवर्धन एवं संरक्षण केन्द्र हेटौँडाका वरिष्ठ  मत्स्य विकास अधिकृत सरोजकुमार यादवका अनुसार रहू तथा नैनी प्रजातिका माछाका भुरा एक लाख २० हजार छाडिएको हो । नेपाली सेना, स्थानीय, कर्मचारी र सरोकारवालाको सहयोगमा माछाको भुरा जलाशयसम्म लगेर छाडिएको थियो ।

मत्स्य विकास केन्द्र, कुलेखानी मकवानपुरले मत्स्य विकास केन्द्र भण्डाराबाट ५ लाख र हिरा मत्स्य ह्याचरीबाट ३ लाख माछाको भुरा खरिद गरेको थियो । यसअघि प्राकृतिक जलाशय मत्स्य प्रवर्द्धन एवं संरक्षण केन्द्र हेटौँडाले बागमती नदीमा रहू तथा नैनी प्रजातिका एक लाख २५ हजार माछाका भुरा छोडेको थियो । केन्द्रले प्राकृतिक जलाशयमा जलीय जैविक विविधता संरक्षण तथा त्यसमा आश्रित समुदायको जीवन उकास्नको लागी स्थानीय जातका माछाका भुरा बागमती नदीमा छाडेको हो । 

मत्स्य विकास केन्द्र, कुलेखानी मकवानपुरले अघिल्लो आर्थिक वर्षमा १० लाख माछाको भुरा छाडेको निमित्त प्रमुख पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार केन्द्रले चालु आवको जेठ मसान्त सम्म २ हजार ६६ केजी माछा उत्पादन गरेर सो विक्री मार्फत ५ लाख १२ हजार रुपियाँ राजस्व सङ्कलन गरेको छ । अघिल्लो आव २०७९÷८० मा २ हजार ५१० केजी माछा उत्पादन गरेको कार्यालयले यसवर्ष अझैं उत्पादन बढ्ने विश्वास लिएको छ । 

यहाँ उत्पादन भएका माछा स्थानीय स्तरमै खपत हुने गरेको छ । सिल्भर बिग हेड प्रतिकेजी २५० रुपियाँ र केज (पिँजडा) मा पालेको माछा प्रतिकेजी २३० र कमन कार्प, रुहु, नैनी प्रतिकेजी ३०० का दरले स्थानीय स्तरमै विक्री हुने गरेको पौडेलको भनाइ छ ।  पर्यटकको रोजाइको क्षेत्र भएकाले यहाँ आउने स्वदेशी तथा विदेशी पर्यटकले यहाँको माछा अत्यधिक मन पराएर खाने गरेको होटेल व्यवसायी युनिक विष्टले जानकारी दिनुभयो ।

बागमती प्रदेशको मकवानपुर जिल्लाको उत्तरी पहाडी क्षेत्रमा रहेको इन्द्रसरोवर रिजरभ्वायर विद्युत् उत्पादनको उद्देश्यले कुलेखानी खोलामा ड्याम बनाइ निर्माण गरिएको मानव निर्मित नेपालकै ठुला रिजरभ्वायरमध्ये एक हो । यसमा पानी जम्मा पार्नलाई पालुङ खोला, चित्लाङखोला, सेतीखोला, चखेल इनलेट, चल्खुखोला, ठाडोखोला र धस्कुखोला गरी जम्मा ७ वटा स्राेतहरु रहेका छन् । समुद्र सतहदेखि १५०० मिटर उचाइमा यो रिजरभ्वायर रहेको छ । पूर्णरुपमा रिजरभ्वायरमा पानी भरिएको समयमा २१६ हेक्टर र हिउँदमा ५५ हेक्टर पानी रहेको हुन्छ भने रिजरभ्वायरको औसत लम्बाइ ७ कि.मि.र चौडाइ ५०० मिटरसम्म छ ।

विद्युत् उत्पादनको अतिरिक्त पानीको बहुआयामिक उपयोग गरी आयोजनाकालमा विस्थापित भएका सरोकारवाला कृषकहरूलाई स्थानीय स्तरमै वैकल्पिक रोजगारी प्रदान गर्ने तथा प्राणी प्रोटिनको उपलब्धतालाई बढाउने उद्देश्यले केजमा माछा पालन पनि गरिएको छ । तालमा पाइने प्राकृतिक प्लाङ्कटन आहारा खाएर हुर्कने सिल्भरकार्प र बिगहेडकार्प जातका माछाहरूको केजमा पालन गरिएको हो । वि.स.२०४५ सालदेखि निजी स्तरमा कृषकहरूलाई प्रविधि सिकाई केजमा माछापालन कार्यको थालनी गरिएको थियो । वि.सं. २०६६ सालमा ६८५ जना शेयर सदस्य सहित इन्द्रसरोवर मत्स्य व्यवसायी सङ्घको स्थापना गरी रिजरभ्वायरमा केजमा माछा पालन तथा खुला तालमा विभिन्न जातका माछाको भुरा छोडी मत्स्यपालन कार्य सञ्चालन हुँदै आइरहेको छ ।