• १२ असार २०८१, बुधबार

आँखाको नानी प्रत्यारोपण सेवा प्रभावकारी

blog

नेपालगन्ज समाचारदाता

नेपालगन्ज, असार ४ गते । नेपालगन्जस्थित फत्ते बाल आँखा अस्पतालमा सानो समयमै सय जनाभन्दा बढीको आँखाको नानी प्रत्यारोपण गरिएको छ । सेवा प्रभावकारी बन्दै गएपछि सेवा लिने दिनदिनै बढ्दै गएको अस्पतालले जनाएको छ । फत्ते बाल आँखा अस्पतालका कर्निया विशेषज्ञ डा. राजशी श्रेष्ठले अस्पतालमा सुरु गरिएको आँखाको नानी प्रत्यारोपण सेवा सफल हुँदै गएपछि नानी प्रत्यारोपणका लागि आउने बिरामी बढेको बताउनुभयो । उहाँले क्यामिकल इन्जुरीका कारण आउने बिरामीको कर्नियाको सर्जरीलगायत कर्नियाको धेरै प्रकारका सर्जरी सेवा अस्पतालले प्रदान गरिरहेको बताउनुभयो ।

डा. श्रेष्ठका अनुसार मानिसको मृत्यु भएको छ घण्टाभित्र विशेषज्ञद्वारा आँखाको परीक्षण गरी आँखाको पूरै डल्लो नभई आँखाको नानी झिकिन्छ । यसरी झिकिएको नानी विशेष प्रयोगशालामा राखिन्छ र निश्चित समय वा दुई हप्ताभित्र आवश्यक व्यक्तिलाई प्रत्यारोपण गर्नुलाई नै आँखाको नानी प्रत्यारोपण भनिन्छ । शरीरबाट कर्निया झिकेर दृष्टि गुमाएकालाई उपचार गर्न सकिने भएको हुँदा आँखा दान गर्न र अरूलाई पनि आँखा दान गर्न प्रोत्साहान गर्न डा. श्रेष्ठले सबैलाई आग्रहसमेत गर्नुभएको छ ।

सेवा लिने ८० प्रतिशत भारतीय नानी प्रत्यारोपणका लागि आएका बिरामीमध्ये करिब ८० प्रतिशत भारतबाट आएको अस्पतालले जनाएको छ । आफ्नै नेतृत्वमा एक वर्षको अवधिमा एक सय जनाभन्दा बढीको आँखाको नानी प्रत्यारोपण गरिएको कर्निया विशेषज्ञ डा. श्रेष्ठले बताउनुभयो । 

नेपालगन्ज भारतीय नाकासँग जोडिएको सहर भएकाले फत्ते बाल आँखा अस्पतालमा उपचार गराउन भारतबाट दिनहँु दर्जनौँ बिरामी आउने गरेका छन् । नेपालमा आँखाको शल्यव्रिmया सरल र सस्तोमा हुने भएकाले धेरै भारतीय उपचारका लागि नेपाल आउने गरेको फत्ते बाल आँखा अस्पतालले जनाएको छ । भारत बहराइचका नन्कु कोरीले नेपालगन्जमा आँखाको उपचार राम्रो हुने भएका कारण उपचारका लागि नेपाल आएको बताउनुभयो । आँखाको नानी प्रत्यारोपण गराएका उहाँले यो निकै सफल देखिएको बताउनुभयो ।