• १२ असार २०८१, बुधबार

सामान्य वर्षामै सुरु भयो कटान

blog

तेलोबोनामा बलान नदीले कटान गरिरहेको अवस्था । तस्बिर : जीवछ यादव

लहान समाचारदाता

लहान, असार ४ गते । सामान्य वर्षा हुँदा नै बलान नदीले ठुलो क्षेत्रमा कटान थालेको छ । यही गतिमा कटान भइरहने हो भने यस वर्ष पश्मितर्फ भङ्गालो परिवर्तन गरी अकल्पनीय क्षति हुने डरले स्थानीयवासी चिन्तित हुन थालेका छन् । लहान–२३ का बिल्टु यादव भन्नुहुन्छ, “डेढ बिघा जमिन नदीले काटन गरिसक्यो । अब बहाव गाउँतर्फबाट बग्ने अवस्था आएको छ । नजिकका बस्ती नै उठिबास हुने चिन्ताले सयौँ स्थानीयलाई भोक न निन्द्रा हुन थालेको छ ।”

सिराहा–सप्तरीको सिमाना रहेको बलान नदीले एक दशक यता सिराहाको पश्चिमी सिमानामा पर्ने लहान–२३, तिलेबोना क्षेत्रमा तीव्र कटान गर्दै आएको छ । लहान नगरपालिकादेखि दक्षिणमा रहेको सखुवानानकरपट्टी–४ र ५, भगवानपुर गाउँपालिका–२ र ३ का गरी एक हजारभन्दा बढी बिघा उर्वर जमिन काटेर नदी बगिरहेको पीडा स्थानीयले पोख्दै आइरहेका छन् । 

गत वर्षको कटानबाट जोगिन आर्थिक वर्ष २०८०/८१ मा लहान नगरपालिकाको ५० लाख रुपियाँ र मधेश प्रदेश सरकारको ९० लाख रुपियाँ गरी एक करोड ४० लाखमा २०८ मिटर तटबन्ध निर्माण भएपछि उत्तरतर्फ सुरक्षित रहेको स्थानीय कपिलदेव यादवले बताउनुभयो । उत्तर दक्षिण तटबन्ध भइसकेको र बिचमा १३० मिटर तटबन्ध गर्न बाँकी रहेको तिलेबोनामा आइतबार बिहान आएको सामान्य बाढीले गरेको कटान हेर्दा अबका दिनमा नदी पश्चिमतर्फबाट बग्ने सम्भावना बढेको स्थानीयको भनाइ छ ।  

लहान–२३ का वडाध्यक्ष बद्रीनारायण चौधरी भन्नुहुन्छ, “उत्तर दक्षिण त तटबन्ध निर्माण भयो । बिचमा रहेको १३० मिटर तटबन्ध यसै वर्ष भएको भए समस्या नै समाधान हुन्थ्यो । किस्ता किस्तामा समस्या समाधान गर्दा झन् बढी समस्या थपिँदै गयो । तटबन्धको काम एकमुष्ट रूपमा हुन जरुरी छ ।

“तेलेबोना गाउँका २२ परिवारको लगभग ६० बिघा उर्वर जमिन काटेर बलान नदी बगिरहेको छ । त्यसको दीर्घकालीन समस्या समाधानको लागि बलान नदीलाई बिचबाट बग्ने गरी तटबन्ध गरियो भने काटिएको जमिन पनि जोगिने प्राविधिकहरूले सुझाव दिएका छन् । तर त्यस अनुसारको बजेट नआउँदा दीर्घकालीन समस्या समाधान भइरहेको छैन,” उहाँको भनाइ छ ।

बलान नदी कटानको समाचार सम्प्रेषण भएपछि मधेश प्रदेशका पूर्वमुख्यमन्त्रीहरू मो. लालबाबु राउत, सरोजकुमार यादव र आधा दर्जन मन्त्री यस क्षेत्रको अवलोकन भ्रमण गरे पनि दीर्घकालीन समस्या समाधानतर्फ अग्रसर नभएको स्थानीयको गुनासो छ । 

नदी कटान क्षेत्रको समस्या समाधानका लागि लहान नगरपालिका, सखुवानानकरपट्टी र भगवानपुर गाउँपालिकाले छुट्टाछुट्टै र संयुक्त रूपमा समेत प्रदेश र सङ्घ सरकारसँग माग गर्दै आइरहेको सखुवानानकरपट्टी गाउँपालिका अध्यक्ष केदारनाथ यादवले बताउनुभयो ।