• १२ असार २०८१, बुधबार

भवन चर्किएपछि डराउँदै पढाउनुपर्ने बाध्यता

blog

भूकम्पले क्षति भएको सानीभेरी गाउँपालिकास्थित भेरी दोभान माविको भवन ।

राजु लामिछाने

रुकुमपश्चिम, असार ४ गते  । रुकुमपश्चिममा जोखिमपूर्ण अवस्थामा रहेका विद्यालय भवनमा राखेर बालबालिकाको पठनपाठन हुने गरेको छ । गत कात्तिक महिनामा आएको भूकम्पका कारण भत्किएका र चर्किएका विद्यालय भवन पुनर्निर्माण तथा मर्मत नभएपछि जोखिमपूर्ण भवनमै बालबालिका राखेर कक्षा सञ्चालन गर्ने गरिएको छ । 

सानीभेरी गाउँपालिका–२ मा रहेको भेरी दोभान माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत छात्र धनबहादुर विकले हेर्दै भत्किएला जस्तो भएको भवनको कोठामा डर मान्दै पढ्नु परेको बताउनुभयो । विकले कोठाभित्रै छिर्न डर लाग्ने गरेको र कक्षामा पनि डराइ डराइ बस्नु परेको पीडा सुनाउनुभयो । सोही विद्यालयमा कक्षा १० मा अध्ययनरत छात्रा सङ्गीता रानाले भूकम्पपछि ढुक्कले कक्षाकोठामा बसेर पढ्न नपाएको बताउनुभयो । रानाले भन्नुभयो, “डर मानेर के गर्नु ? नपढेर पनि भएन । हाम्रा विद्यालयका भवन कहिले बन्लान् र आनन्दले कक्षाकोठामा बसेर पढ्न पाउँला भन्ने लागिरहन्छ ।”

विद्यालयका प्रधानाध्यापक भूपेन्द्र ओलीले भूकम्पका कारण विद्यालयका सबै भवन र कक्षाकोठा जीर्ण बनेको बताउनुभयो । शिशुदेखि कक्षा १२ सम्म पढाइ हुने यस विद्यालयमा अहिले दुई वटा अस्थायी सिकाइ कक्षा (टिएलसी) बनाइएको छ । कक्षाकोठा अभाव भएपछि कक्षा ८, १० र ११ लाई चर्किएकै भवनको कोठामा राखेर पठनपाठन गर्न बाध्य भएको प्रधानाध्यापक ओलीले बताउनुभयो । 

भूकम्प गएको करिब आठ महिनासम्म पनि यहाँका बालबालिकाको पढाइ प्रभावित भइरहेको छ । सानीभेरी गाउँपालिकाका शिक्षा अधिकृत भूपालसिंह विष्टका अनुसार भूकम्पले सानीभेरीमा मात्रै २० वटा विद्यालयका ६४ कक्षाकोठा पूर्ण रूपमा क्षति भएका छन् भने ४५ वटा विद्यालयका १०५ वटा कोठा चर्किएका छन्  । यीमध्ये ३९ वटामा मात्र अस्थायी सिकाइ केन्द्र बनाइएको छ । 

नयाँ भवन नबन्दा र चर्किएका भवन मर्मत नहुँदा जोखिमपूर्ण अवस्थामै कक्षा सञ्चालन गर्नुपर्ने बाध्यता रहेको शिक्षा अधिकृत ओलीले जनाउनुभयो । 

आठबिसकोट गाउँपालिकामा पनि चर्किएकै भवनमा राखेर बालबालिका पढाउने काम भइरहेको छ । वडा नम्बर ५ मा रहेको मष्टकैलाश आधारभूत विद्यालयका प्रधानाध्यापक धनप्रसाद शर्माले भूकम्पले चिराचिरा परेको भवनमै राखेर बालबालिका पढाउनु परेको बताउनुभयो । हावाहुरी चल्दा र पानी पर्दा भने भत्किने डरले बालबालिकालाई चर्किएको भवनबाट निकालेर एउटै कोठामा राखेर तीन वटासम्म कक्षा सञ्चालन गर्नु परेको उहाँको भनाइ छ । आदर्श मावि घेत्माका प्रधानाध्याक तिलक नारायण मल्लले पनि कक्षा १, २ र ३ लाई चर्किएकै भवनमा राखेर पढाउनु परेको बताउनुभयो । 

आठबिसकोट नगरपालिकाका शिक्षा अधिकृत इन्द्रबहादुर विष्टका अनुसार भूकम्पले यहाँका ५४ वटा सामुदायिक विद्यालय भवनमा पूर्ण रूपमा क्षति गरेको छ । उहाँका अनुसार नगरपालिका क्षेत्रका ६४ वटा विद्यालयमध्ये अन्यमा आंशिक क्षति भएको थियो । तत्काल ५९ वटा अस्थायी सिकाइ केन्द्र आवश्यक रहे पनि २२ वटा बनेका छन्, १० वटा निर्माणको व्रmममा छन् । बाँकी विद्यालयमा चर्किएकै भवनमा बालबालिकाको पठनपाठन हुने गरेको छ । यहाँको शिक्षा, स्वास्थ्य, सामुदायिक भवन, सिँचाइलगायतका क्षेत्रमा भएको भौतिक क्षतिको पुनर्निर्माणका लागि विभिन्न निकायको सहयोग आवश्यक रहेको उहाँको भनाइ रहेको छ ।