• १२ असार २०८१, बुधबार

पूर्व तयारी र प्राकृतिक प्रकोप व्यवस्थापन योजना स्वीकृत

blog

जिल्ला विपद् व्यवस्थापन समिति सुनसरीको बैठकले पूर्वतयारी र प्राकृतिक प्रकोप व्यवस्थापन योजना स्वीकृत गर्दै । तस्बिर : जयकृष्ण यादव

जयकृष्ण यादव 

इनरुवा, असार ३ गते । जिल्ला विपद् व्यवस्थापन समिति सुनसरीको बैठकले पूर्वतयारी र प्राकृतिक प्रकोप व्यवस्थापन योजना स्वीकृत गर्दै नगर, गाउँ हुँदै वडा तहसम्मका विपत् व्यवस्थापन समिति तथा उपसमितिहरूलाई विपत् प्रतिकार्यको पूर्वतयारीमा रहनुपर्ने निर्णय गरेको छ । 

समितिका अध्यक्ष तथा सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीको अध्यक्षतामा सम्पन्न भएको बैठकमा जिल्लाका सबै विपतबाट सुरक्षाका लागि पूर्वतयारी र प्राकृतिक प्रकोप व्यवस्थापन योजनालाई स्वीकृत गरिएको छ । 

विपत् पूर्वतयारी र प्राकृतिक प्रकोप व्यवस्थापन योजना स्वीकृत गरेसगैं कार्यान्वयनका लागि जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा विपत् प्रतिकार्य अनुसार काम गर्ने समिति बनाएको प्रजिअ तिवारीले जानकारी दिनुभयो । उहाँले जिल्ला, नगर, गाउँ सहित वडा तहसम्म पूर्वतयारी रहनुपर्नेमा बैठकले जोड दिएको बताउनुभयो । 

तिवारीले प्रतिकार्य योजना अनुसार सबै समिति, उपसमिति क्रियाशील हुनुपर्ने, सबै जोखिम क्षेत्रमा सजगता अपनाउने, फोहोरमैला जमेर डुवाह हुनसक्ने ढलहरूलाई सफाइ गर्न सम्बन्धित स्थानीय तहहरूलाई आग्रह गरिएको र सबैलाई नदीखोला, सडक फोहोर सहितको सरसफाइ गर्न आग्रह गरिएको बताउनुभयो । बैठकमा उपस्थित सबै सरोकारवालाहरू तथा सहभागीहरूले पूर्वतयारी योजनाको अनुरूप आ–आफ्नो कार्य जिम्मेवारी निर्वाह गर्न सम्पूर्ण रूपले कटिबद्ध भएर लाग्ने प्रतिबद्धता जनाएका छन् । बैठकमा मुख्य रूपमा नदी तथा खोलाका नाला सफा गर्ने, पानी जम्न नदिने, नागरिकहरूलाई सचेत गराउने, जोखिम क्षेत्रहरूको पहिचान थरी सर्तकर्ता अपनाउने र तटबन्ध निर्माण गर्ने जस्ता विषयहरूमा छलफल भएको थियो ।

सुनसरी जिल्लामा बाढी, आगलागी र अन्य प्राकृतिक प्रकोपहरूको जोखिमलाई मध्यनजर गर्दै बैठकले सुरक्षाका उपायहरूलाई सुदृढ बनाउने, र तदनुरूप आवश्यक तयारी गर्ने निर्णय गरेको छ । 

बैठकले जनताको सुरक्षालाई पहिलो प्राथमिकता दिँदै सूचना र जानकारीको प्रवाहलाई प्रभावकारी बनाउन आग्रह गरिएको छ । बैठकमा उपस्थित दलका प्रतिनिधिहरू, सामाजिक संस्थाका प्रतिनिधिहरू, सुरक्षाकर्मीहरू, र सञ्चारकर्मीहरूले निर्णयहरूको आ–आफ्नो क्षेत्रबाट सक्रिय रूपमा पालन गर्ने र आवश्यक परेको खण्डमा सहभागिता जनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । 

जिल्ला प्रशासन कार्यालय, सुनसरीले यस वर्षको वर्षा याममा जनतालाई सुरक्षित राख्नका लागि सबै आवश्यक तयारीहरू गरेको र सबैलाई सतर्क रहन आग्रह आग्रह गरेको छ ।