• १२ असार २०८१, बुधबार

तस्बिर हेर्दै जीवनरेखाको सम्झना

blog

काठमाडौँ, असार ३ गते । चलचित्र जीवनरेखाको छायाङ्कन सेट र कलाकार तयार थिए । चलचित्रका नायक शिव श्रेष्ठ सेटमा जान तयार थिए तर मेकअप भएको थिएन । मेकअप म्यान मुम्बईबाट आइपुगेका थिएनन् । निर्देशकको निर्देशन अनुसार नायक श्रेष्ठको मेकअप वसुन्धरा भुसालले गरिदिनुभयो । ४४ वर्षअघिको यो घटना गोरखापत्रको फोटो प्रदर्शनीमा सुनाउँदै हुनुहुन्थ्यो, वरिष्ठ कलाकार भुसाल । 

अभिनेतृ भुसाल अभिनीत चलचित्र ‘जीवनरेखा’ को छायाङ्कनका बेलाको तस्बिर गोरखापत्रको तस्बिर प्रदर्शनीमा राखिएको छ । सोही तस्बिर देखेपछि भुसालले अतितको सम्झना गर्नुभयो । उहाँले भन्नुभयो, “तस्बिर प्रदर्शनीले पुराना घटनाका दृश्य कसरी निकाल्दो रहेछ । यस्ता प्रदर्शनीले नयाँ पुस्तालाई विगत र अहिलेको अवस्थाको राम्रो ज्ञान दिन्छ ।” 

गोरखापत्रको फोटो प्रदर्शनी अवलोकनका लागि आइतबार आउनुभएकी भुसालले बाल्यकालदेखि अहिलेसम्मको करिब छ दशकको अभिनययात्राबारे बताउनुभयो । बाल कलाकारका रूपमा भुसालले चलचित्र आमाबाट अभिनय यात्रा सुरु गर्नुभएको हो । भुसालले २०२४ सालमा जनसेवा हलमा आयोजित बाल नृत्य प्रतियोगितामा नृत्य प्रस्तुत गरेको बताउनुभयो । उहाँका अनुसार आमा, हिजो आज भोलि, मनको बाँध, परालको आगो, सिन्दूरपछि जीवनरेखामा अभिनय गर्नुभएको थियो । मनको बाँधमा ‘डाँडेघरे साइली’ भनेर मुख्य नायिकाका रूपमा अभिनय गर्नुभएको थियो । चलचित्रमा स्व. गोपालराज मैनालीसँग उहाँको जोडी जमेको चाहिँ चलचित्र सिन्दूर थियो ।