• ८ असार २०८१, शनिबार

गर्मी बढेसँगै तराईमा रगत अभाव

blog

काठमाडौँ, असार २ गते । तराईका मुख्य सहरमा रगतको अभाव देखिएको छ । गर्मी मौसममा बिरामीको सङ्ख्या वृद्धि भएसँगै तराईका जिल्लामा रगतको अभाव भएको हो । 

नेपाल रेडक्रस सोसाइटीका अनुसार नेपालगन्ज, वीरगन्ज, भरतपुर, बुटवल, भैरहवा, विराटनगर, हेटौँडालगायत तराईका सहरमा रगतको अभाव देखिएको हो । तराईका कतिपय स्थानको तापक्रम ४४ डिग्रीभन्दा बढी भएको, गर्मीले अस्पतालमा बिरामीको सङ्ख्या बढेको, अत्यधिक गर्मीका कारण रगत सङ्कलन गर्न नसक्दा रगतको चरम अभाव हुन पुगेको हो । 

नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्त सञ्चार केन्द्रका निर्देशक पवन गुप्ताले माग र आपूर्तिको तालमेल मिल्न नसक्दा रगतको अभाव भएको बताउनुभयो । गुप्ताका अनुसार अस्पतालले कुनै बिरामीको शल्यक्रिया गर्दा दुई युनिट रगत आवश्यकता पर्नेमा पाँच युनिट मगाउने गरेका छन् । दुई युनिट मात्र प्रयोग भएको अवस्थामा तीन युनिट रगत फिर्ता हुँदैन । 

गुप्ताका अनुसार नेपाल रेडक्रसले काठमाडौँ उपत्यकाबाट मात्र प्रतिदिन पाँच सय युनिट रगत सङ्कलन गरिरहेको छ । यसबाहेक नेपाल रेडक्रस सोसाइटीले देशभरबाट वार्षिक तीन लाख ५० हजार युनिट रगत सङ्कलन गर्ने गरेको छ । हाल रगतको माग वार्षिक पाँच लाख युनिटसम्म रहेको छ । उहाँका अनुसार सही व्यवस्थापन गर्न नसक्दा रगत अभाव भएको हो । पछिल्लो समय रेडक्रसले मात्र रगत सङ्कलन गर्ने नभई निजी अस्पतालले पनि रगत सङ्कलन गर्ने गरेका छन् । गुप्ताले थप्नुभयो, “काठमाडौँमा रगतको अभाव छैन, विशेष गरी तराईका जिल्लामा रगत अभाव देखिएको छ ।” 

उहाँले सरकारी कार्यालय खुलेका दिनमा काठमाडौँमा मात्र दुई सय युनिट रगत सङ्कलन हुने गरेको जानकारी दिनुभयो । सार्वजनिक बिदा तथा शनिबार भने काठमाडौँमा पाँच सय युनिटभन्दा बढी रगत सङ्कलन हुने गरेको छ । 

उहाँका अनुसार ट्रमा, सिकलसेल, एनिमिया, हेमोफिलियाजस्ता बिरामीका लागि धेरै रगतको अवश्यकता पर्छ । रेडक्रसले रगत सङ्कलन गरेर बिरामीलाई दिने भएकाले रक्तदानबारे जनचेतना जगाउनुपर्ने उहाँले बताउनुभयो ।  

नेपाल  रक्तदाता समाजका अध्यक्ष प्रेमसागर कर्माचार्यले देशभर रगत अभावभन्दा पनि रगतको व्यवस्थापन गर्न नसकेको बताउनुभयो । उहाँले स्वयंसेवी रक्तदाताले निःशुल्क दिएको रगतमा निजी अस्पतालले महँगोमा बेच्ने गरेको आरोप लगाउनुभयो । अस्पतालले माग गरेको रगत शतप्रतिशत प्रयोग नहुने जानकारी दिँदै कर्माचार्यले भन्नुभयो, “देशभर रगत अभाव छैन, रगत व्यवस्थापनमा लापरबाही छ ।”

हाल नेपालमा रगतको मूल्य ८१० देखि एक हजार ६४० रुपियाँसम्म तोकिएको छ । र्‍यापिड टेस्ट रगतको मूल्य ८१० रुपियाँ पर्छ भने क्लिया प्रविधिको रगतलाई एक हजार ६४० रुपियाँ पर्ने गर्छ । 

  

Author
सरोज ढुङ्गेल

उहाँ गोरखापत्रका लागि स्वास्थ्य क्षेत्रको रिपोर्टिङ गर्नुहुन्छ ।