• ४ असार २०८१, मङ्गलबार

ऐतिहासिक ढोलठाना दरबारमा पूर्वाधार निर्माण

blog

ऐतिहासिक स्थल ढोलठानामा निर्माण गरिएका पूर्वाधार । तस्बिर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य  
म्याग्दी, असार १ गते ।
 म्याग्दीको बेनी नगरपालिका ९ स्थित ऐतिहासिक ढोलठाना दरबारमा पर्यटकीय पूर्वाधार निर्माण गरिएको छ । विक्रम संवत् १६३१ देखि १८४३ सम्म यहाँ पर्वत राज्यको राजधानी रहेको इतिहास छ । ऐतिहासिक महत्त्वको ढोलठानाको संरक्षण र पर्यटकीय पूर्वाधार निर्माण गर्न थालिएको हो । ढोलठाना दरबार बेनीको शिरमा पर्दछ ।

ढोलठाना दरबारको संरक्षण र पूर्वाधार निर्माण लागि चालु आर्थिक वर्षमा भू–तथा जलाधार व्यवस्थापन कार्यालय पर्वत मार्फत ढोलठाना संरक्षण योजनाका लागि १० लाख र पर्यटन तथा उद्योग कार्यालय म्याग्दी मार्फत १० लाख गरेर २० लाख रुपियाँको बजेटमा पर्यटन पूर्वाधार निर्माण गरिएको छ ।


पुरानो दरबार रहेको ठाउँमा मौलिक सीप, कला र स्रोतसाधनको प्रयोग गरेर विश्राम तथा दृश्यावलोकन स्थल, पदमार्ग र प्रवेशद्वार निर्माण गरिएको छ । दरबार प्रवेश गर्नका लागि ढुङ्गाको प्रयोग गरेर मौलिक सीपबाट आकर्षक किसिमको प्रवेशद्वार बनाइएको छ ।

‘‘हामीले ढोलठाना दरबार क्षेत्रमा स्थानीय मौलिक सीप र कला प्रयोग गरेर पूर्वाधार निर्माण गरेका छौं।,’’ उपभोक्ता समितिका सचिव याम विश्वकर्माले भन्नुभयो ‘‘दरबार क्षेत्रमा प्रवेशका लागि ढुङ्गाबाट निर्मित प्रवेशद्वार बनाएका छौं । यो प्रवेशद्वार नयाँ मोडेलको भएकाले यहाँ आउने पर्यटक दङ्ग परेर अवलोकन गर्ने गरेका छन् । अबको दुई हप्ता भित्र निर्माणको काम सक्ने तयारी गरेका छौं ।’’

उहाँका अनुसार ढुङ्गा र माटोको प्रयोग गरेर दुई सय मिटर सिँढी चिनेको पदमार्गका साथै उद्यान र बसेर दृश्यावलोकन गर्न ढुङ्गाको सिँढीसहितको विश्रामस्थल बनाइएको छ ।


प्रदेश सरकारकै थप १० लाख बजेटबाट उद्यान परिसरलाई संरक्षण गर्न टेवा पर्खाल निर्माण गरिएको छ । ढोलठानालाई पर्यटकीय स्थलका रुपमा विकास गर्ने लक्ष्य अनुसार यसअघि ३० लाख बजेटबाट सडक, पदमार्ग, उद्यान, सार्वजनिक शौचालय र विश्रामस्थल निर्माण भएको बेनी नगरपालिका ९ का वडाध्यक्ष चक्रबहादुर केसीले जानकारी दिनुभयो । ढोलठानामा थप पूर्वाधार निर्माणका लागि डिपिआर बनाएर अगाडि बढेको उहाँले बताउनुभयो ।

पुराना अभिलेख तथा चिनारीहरुको संरक्षण गरेर राख्न सङ्ग्राहलय बनाउने योजना रहेको उहाँले बताउनुभयो । तत्कालीन राजा बम मल्लको समयमा वि.सं.१६३१ देखि राजा हिउँदका चार महिना बेनी र अरू आठ महिना ढोलठानामा बसेर तत्कालीन पर्वत राज्य सञ्चालन गरेको इतिहास भएकाले संरक्षण गरेर पर्यटकीय स्थलका रुपमा विकास गर्ने उद्देश्य रहेको वडाध्यक्ष केसीले बताउनुभयो ।

ढोलठानालाई पर्यटकीय स्थलका रुपमा विकास गर्न पछिल्ला केही वर्षयता ५० लाख बढीको पूर्वाधार निर्माण गरिएका छन् ।नगरपालिकाले गलेश्वरदेखि घतान हुँदै ढोलठाना जोड्ने पदमार्ग बनाउने बनाउने योजना अघि सारेको उहाँको भनाइ छ ।


‘‘पर्वत राज्य नेपालमा विलय भएको वि.सं. १८४३ सम्म ढोलठानामा सो राज्यको राजधानीका रूपमा रहेको तथ्यहरु फेला परेका छन् ।,’’ स्थानीयवासी रामचन्द्र परियारले भन्नुभयो, ‘‘उद्यान निर्माणका क्रममा भेटिएका प्राचीन सामग्री सुरक्षित रुपमा राखेका छौं । तत्कालीन दरबार निर्माणमा प्रयोग भएका काठ, चटनी र नुन पिस्ने सिलौटो, झिँगटी, घरका पिल्लर र इटा भेटिएका छन् ।’’ 

समुन्द्री सतहदेखि एक हजार आठ सय ८० मिटर उचाइमा अवस्थित ढोलठानाबाट धवलागिरि, अन्नपूर्ण, नीलगिरि लगायत दर्जनौं हिमाल, सूर्योदयको मनमोहक दृश्यको अवलोकन गर्न सकिन्छ । साथै कालिगण्डकी, म्याग्दी नदी र पर्वत, बागलुङका रमणीय भूभागहरु अवलोकन गर्न सकिन्छ । बेनीदेखि ढोलठानासम्मको सडक स्तरोन्नति गरी सहज बनाए यहाँ आउने पर्यटकको सङ्ख्यामा वृद्धि हुने स्थानीयहरुले आशा गरेका छन् ।