• ४ माघ २०८१, शुक्रबार

सेनाद्वारा विपद् प्रतिकार्य तालिम प्रदान

blog

जनार्जन खत्री
सर्लाही, असार १ गते ।
 सर्लाहीको नवलपुरस्थित नेपाली सेनाको भैरवीदल गण पाँचकुमारीले ईश्वरपुर नगरपालिकाभित्रका ३० जनालाई विपद् प्रतिकार्य तथा उद्धार तालिम प्रदान गरेको छ ।

ईश्वरपुर नगरपालिकासँग सहकार्य गरी नगरभित्रका स्वास्थ्यकर्मी, रेडक्रसका प्रतिनिधि र विद्यार्थीलाई गणभित्रै तीन दिनको तालिम प्रदान गरिएको हो । सहभागीलाई बाढी तथा डुबान, आगलागी र आकस्मिक रूपमा बिरामी परेका व्यक्तिको उद्धार गर्न सिकाइएको भैरवीदल गणका गणपति एवम् प्रमुख सेनानी सूर्यबहादुर कार्कीले जानकारी दिनुभयो ।

तालिमको शनिबार बिहान ईश्वरपुर नगरपालिकाका नगरप्रमुख मनोजकुमार आचार्यको प्रमुख आतिथ्यतामा समापन गरिएको छ । मनसुनजन्य विपद्लाई प्रतिकार्य तथा उद्धार गर्न प्रभावकारी पूर्व तयारीका लागि गण र नगरपालिकाले सहकार्य गरी ईश्वरपुर नगरपालिकाको १५ वटै वडाबाट प्रतिनिधि सहभागी गराएर यस प्रकारको तालिम प्रदान गरेका हुन् ।

विभिन्न समयमा आइपर्ने विपद्लाई मध्यनजर गरी स्थानीय आपत्कालीन कार्य सञ्चालन केन्द्रलाई सक्रिय बनाउने तथा समुदायमा विपद् प्रतिकार्य सम्बन्धी ज्ञान र आत्मभरोसा अभिवृद्धि गर्ने उद्देश्यले तालिम प्रदान गरिएको प्रमुख सेनानी कार्कीले बताउनुभयो । सेनाको भैरवीदल गणले दुई साताअघि बागमती नगरपालिकास्थित बागमती खोलामा जिल्लास्तरीय विपद् प्रतिकार्य अभ्यास प्रदर्शन गरेको थियो ।