• ४ असार २०८१, मङ्गलबार

माओवादी केन्द्र बाँकेद्वारा ५० वडामा अधिवेशन सम्पन्न

blog

माओवादी केन्द्र बाँकेको एक वडा अधिवेशनले नयाँ नेतृत्व चयन गरेपछिको नेतृत्व । तस्बिर: सिराज खान

सिराज खान
नेपालगन्ज, असार १ गते ।
 नेकपा (माओवादी केन्द्र) बाँकेले जिल्लाका ५० वटा वडामा वडा अधिवेशन सम्पन्न गरेको छ । पार्टी केन्द्रीय कार्यालयको सर्कुलर अनुसार वडाका अधिवेशनहरू सम्पन्न गरिएको माओवादी केन्द्र बाँकेका संयोजक नरेन्द्र प्रसाद पाण्डेले बताउनुभयो ।

संयोजक पाण्डेका अनुसार वडा सम्मेलनमा पार्टीका नेता कार्यकर्ताहरूको उत्साहपूर्ण सहभागिता रहेको थियो ।

पार्टीको निर्देशन अनुसार वडा अधिवेशन गरे नेतृत्व समेत चयन गरिएको जनाउँदै जिल्ला संयोजक पाण्डेले सबै वडामा बिना विवाद अधिवेशन सम्पन्न भएको र बाँकी वडाहरूमा पनि छिट्टै अधिवेशन सम्पन्न गरेर नेतृत्व चयन गर्ने कार्यक्रम रहेको बताउनुभयो ।

अधिकांश वडा अधिवेशनहरूमा नेकपा माओवादीको स्थायी समिति सदस्य, पूर्व उपसभामुख तथा बाँके जिल्ला इन्चार्ज पूर्णा कुमारी सुवेदी लगायत केन्द्र, प्रदेश, जिल्ला र पालिकाका नेताहरूको सहभागिता रहेको नेकपा माओवादी बाँकेका सचिव डिल्ली बरालले बताउनुभयो । 

बाँके जिल्लाका ५० वटा वडामा वडा अधिवेशन भएपछि वडा, गाउँ र टोलमा पार्टीभित्र रक्तसञ्चार भएको नेकपा माओवादीको स्थायी समिति सदस्य, पूर्व उपसभामुख तथा बाँके जिल्ला इन्चार्ज सुवेदीले बताउनुभयो ।

नेकपा माओवादी केन्द्र बाँकेका अनुसार अहिलेसम्म वडा अधिवेशनहरू सम्पन्न भई नेतृत्व समेत चयन भएका वडाहरूमा राप्तिसोनारी गाउँपालिकाका-९ वटा वडा, नरैनापुर गाउँपालिकाका-६ वटा वडा, बैजनाथ गाउँपालिकाका-९ वटा वडा, खजुरा गाउँपालिकाका-८ वटा वडा, कोहलपुर नगरपालिकाका-८ वटा वडा, जानकी गाउँपालिकाका-४ वडा, डुडुवा गाउँपालिकाको एक र नेपालगन्ज उपमहानगरका-५ वटा वडा रहेका छन् ।

वडा अधिवेशन गर्न बाँकी रहेका जिल्लाका ३० वटा वडामा पनि छिट्टै अधिवेशन गर्ने गरी तयारी भइरहेको माओवादी केन्द्र बाँकेका संयोजक पाण्डेले बताउनुभयो ।