• ४ असार २०८१, मङ्गलबार

चीनको सीमाक्षेत्रमा संयुक्त सुरक्षा गस्ती

blog

गुणबहादुर रोका 

सुलीकोट, असार १ गते । भर्खरै मात्र स्थापना भएको उत्तरी गोरखाको बोर्डर आउट पोस्ट (बिओपी ) को टोली र चिनियाँ सुरक्षाकर्मीको टोलीले पहिलो  पटक संयुक्त रूपमा सुरक्षा गस्ती गरेको छ । 

शुक्रवार दुई देशका सुरक्षाकर्मी बिच अनौपचारिक छलफल गर्दै सीमाक्षेत्रमा अवाञ्छित गतिविधिमा पूर्ण रूपमा निषेध गरेर जानेमा छलफल भएको सशस्त्र प्रहरी कार्यालय गोरखाका प्रमुख सुमन बोगटीले जानकारी दिनुभयो ।  उहाँका अनुसार उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका – १ को साम्दोमा स्थापित बिओपिमा खटिएका सशस्त्र प्रहरी टोली र चिनियाँ प्रहरी टोलीले रोइला भन्ज्याङस्थित ३५ नम्बर सीमा स्तम्भ आसपासमा संयुक्त रूपमा गस्ती गर्दै दुई देशका सुरक्षाकर्मी बिच नियमित सम्पर्क र समन्वयमा आपराधिक गतिविधिलाई पूर्ण रूपमा निस्तेज पार्ने सहमति बनेको सशस्त्र प्रहरी गोरखाका प्रमुख बोगटीले बताउनुभयो । 

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका – १ साम्दोमा रहेको रुइला भञ्ज्याङ नाका नेपाल र चीन बिच आवतजावत गर्ने मुख्य नाका भएकाले सरकारले बिओपी स्थापना गरेको हो । यस नाका उत्तरी गोरखाका बासिन्दाहरू आफूलाई चाहिने सर सामान रोइला भञ्ज्याङ हुँदै ल्याउने गरेकोमा विगत ५ वर्ष देखि यो नाका बन्द अवस्थामा छ । 

नेपाल सरकारले जेठ १३ गते साम्दोमा बिओपी स्थापना गरे सँगै दुई देशका सुरक्षाकर्मी बिच पहिलो पटक सौहार्दपूर्ण वातावरणमा सकारात्मक छलफल भएको सशस्त्र प्रहरी गुल्म गोरखाले जनाएको छ ।