• ४ असार २०८१, मङ्गलबार

क्रान्तियोद्धा ‘रिचपल्या’

blog

नेपालमा पहिलो पटक २०१५ सालमा भएको आमनिर्वाचनबाट निर्वाचित पहिलो महिला सांसद र मन्त्री हुनुभएकी द्वारिकादेवी ठकुरानी प्रजातन्त्रका लागि लड्ने एक्ली वीराङ्गना हुनुहुन्थेन, उहाँलाई साथ दिन सरकारी जागिर त्यागेर सङ्घर्ष गर्ने बैतडीका बलदेव भट्ट ‘रिचपल्या’ पनि हुनुहुन्थ्यो । ‘रिचपल्या’ लाई तत्कालीन सरकारले अराष्ट्रिय तत्व भनेर २०१७ सालमा गोली हानेर हत्या गरी बैतडीको कठपतेमा खाल्डोमा पुरेको थियो । यद्यपि बलदेव भट्ट ‘रिचपल्या’ को नाम सहिदको सूचीमा छैन । पञ्चायती व्यवस्थाविरुद्ध लडेर प्रजातन्त्र ल्याउन ‘रिचपल्या’ ले हुलाकको जागिर छाडेर क्रान्ति गर्नुभएको थियो ।

बलदेव भट्ट ‘रिचपल्या’ बारे खोजी गर्ने क्रममा उहाँको तैलचित्र तयार गर्न काठमाडौँ महाराजगन्जस्थित यशस अर्यालले सहयोग गर्नुभएको छ । बलदेव भट्ट ‘रिचपल्या’ को जन्म विसं १९६७ मा बैतडी जिल्लाको हालको दशरथ चन्द नगरपालिका–५, रिचपला गाउँमा भएको थियो । उहाँको आर्थिक अवस्था कमजोर थियो । उहाँका बुवाको नाम माधव भट्ट हो । गरिब किसान परिवारको जीविका चलाउन सामान्य खेतीपाती र पशुपालन नै मुख्य पेसा थियो । 

पशुपालन गरे पनि त्यतिबेला बैतडीमा कतै पनि दुध बेच्ने चलन थिएन । रिचपला गाउँबाट बलदेव भट्टले बजारमा दुध बेच्न सुरु गरेर आफ्नो गाउँलाई बैतडीकै पहिलो दुध बेच्ने गाउँका रूपमा चिनाउनुभएको थियो । समाजमा हुने शोषण, दमन र अत्याचारविरुद्ध खरो बोल्ने भट्ट ‘रिचपल्या’ को स्वभाव थियो । उहाँलाई चिन्ने जान्ने गाउँलेको यही भनाइ छ । भट्टले आफ्नो रिचपला गाउँबाट दुध बेच्न सुरु गरेपछि उहाँलाई सबैले ‘रिचपल्या’ भनेर सम्बोधन गर्न थालेका थिए । 

खेतीपाती गर्न पर्याप्त जग्गा नभएपछि गरिबीले खान लगाउन धौ धौ थियो । परिवार पाल्न सक्ने अवस्था नभएपछि ‘रिचपल्या’ बैतडीबाट दार्चुलाको जेवलधारको थाम भन्ने ठाउँमा बसाइँ सरेर जानुभएको थियो । सो ठाउँ हालको दार्चुला जिल्लाको शिखर गाउँपालिकामा पर्छ । ‘रिचपल्या’ दार्चुला बसाइँ सरेपछि हुलाकमा जागिर पाउनुभयो । डाँक बोकेर जीविका चलाउँदै आएका ‘रिचपल्या’ तत्कालीन नेपाली कांग्रेसप्रति झुकाव राख्नुहुन्थ्यो । २०१५ सालमा बैतडीकी द्वारिकादेवी ठकुरानी स्वास्थ्यमन्त्री भएपछि गाउँमा बसेर ‘रिचपल्या’ नेपाली कांग्रेस र प्रजातन्त्रका गीत गाउनुहुन्थ्यो तर प्रजातन्त्रको त्यो खुसी लामो समय टिकेन । २०१७ सालमा राजनीतिक दलमाथि प्रतिबन्ध लाग्यो । द्वारिकादेवी ठकुरानीलगायतलाई अन्तर्राष्ट्रिय तत्वको आरोप लगाएर सर्वस्वहरण गरियो । ठकुरानी लुकीछिपी बैतडी पुग्नुभयो । ठकुरानीको सर्र्वस्वहरण गर्ने कुराको त्यतिबेला बैतडीमा ठुलै विरोध भएको थियो । सर्वस्वहरण गर्ने कुराको कडा विरोध गर्नेहरूमा त्यतिबेला बैतडीको मणिलेक काँणा हाइस्कुलका हेडमास्टर रमेशचन्द्र जोशी, ‘रिचपल्या’ र द्वारिकादेवीका भतिजा मीनबहादुर चन्द हुनुहुन्थ्यो । सरकारको विरोध गर्ने द्वारिकादेवीलगायत ‘रिचपल्या’, मीनबहादुर चन्द र रमेशचन्द्र जोशीलाई पक्राउ गर्न तत्कालीन डडेलधुरा गौँडाका बडाहाकिम देवेन्द्रबहादुर तुम्बाहाम्फेले वारेन्ट जारी गरेपछि द्वारिकादेवीलगायत प्रजातन्त्रवादी भारत प्रवास गए । पेसाले सरकारी जागिरे भए पनि आइपरेका बेला जागिर छाडेर लडाइँमा लाग्ने ‘रिचपल्या’ ले परिवारजनलाई बताउनुभएको थियो । नभन्दै ‘रिचपल्या’ घरपरिवार छाडेर गुप्तवास हुनुभयो । 

द्वारिकादेवीसँगै गुप्तवास हुनेमा पूर्वसांसद दुर्गादत्त जोशी, भतिजा मीनबहादुर चन्द र हेडमास्टर रमेशचन्द्र जोशी, बझाङका ओमजङ्ग सिंह, रामबहादुर हमाल हुनुहुन्थ्यो । अन्य केही द्वारिकादेवीसँगै प्रवासमा बसे पनि ओमजङ्ग सिंह भने क्रान्ति गर्न भारतको पिथौरागढ हुँदै ‘रिचपल्या’ लाई भेट्न दार्चुला पुग्नुभएको थियो । सिंहले प्रवासमा रहेका नेपाली कांग्रेसका हतियारसहितका लडाकु सिपाही भनेर चिनिने टनकपुरमा डेरा गरी बस्ने मकरबहादुर स्वाँर, पलिया, तीनकुनिया भन्ने ठाउँमा डेरा गरी बस्ने श्याम खतिवडा र शेरबहादुर शाहीलगायत आठ/दस जना लडाकु जम्मा गर्नुभयो । ती सबै मिलेर २० जनाको टोली बनाएर भारतको पिथौरागढ भएर दार्चुला पुग्नुभयो । दार्चुला पुग्दा ‘रिचपल्या’ सहित दार्चुला उकुका कर्णबहादुर पाल, पस्तीका काशीराम पन्त मिलेर दार्चुला जनताबाट नगद र भरुवा बन्दुक सङ्कलन गरेर बझाङ कब्जा गर्ने निर्णय गर्नुभयो । 

हुलाकीको जागिर छाडेर ‘रिचपल्या’ हतियार र नगद पैसा सङ्कलनमा लाग्नुभयो भने बझाङका सिंहलगायत नेपाली कांग्रेसका लडाकु बैतडीको पुर्चौडी क्षेत्र हुँदै बझाङको बुगल कालगङ्गा (सेती नदी) तरेर बझाङ प्रवेश गर्नुभयो । त्यहीबेला तत्कालीन सरकारले २०१७ साल पुसमा सुदूरपश्चिमका बैतडी, डडेलधुरा, कैलाली र कञ्चनपुरमा सेनाको ब्यारेक स्थापना गरिरहेको थियो । तत्कालीन सरकारले बैतडीको छेला भम्क पानीमाथि, डडेलधुराको ऐँसेलुघारी बस्ने कीर्तबहादुर विष्टको घरमा, धनगढीको बोराडाँडी र कञ्चनपुरको भगतपुरमा सेनाको ब्यारेक स्थापना गरेको थियो । 

सरकारले नेपाली कांग्रेसका लडाकु सिंहलगायतको टिम बझाङ पसेको थाहा पाएपछि पक्राउ गर्न सेना परिचालन ग¥यो । बैतडी, डडेलधुरा र डोटीबाट सेनाले घेरा हाल्दा बझाङको हिमलेकको पाखोमा हिँड्दै गरेका सिंहलाई बैतडीबाट गएका सेनाले दूरबिनबाट हेर्दा दुई हजार गज टाढाबाट निसाना साँधेर मारेर लास भिरबाट फालिदिए ।

सिंहको हत्या गरेर बझाङबाट सेना फर्किंदै गर्दा क्रान्तिका लागि हतियार र नगद सङ्कलनमा लागेका ‘रिचपल्या’ दार्चुला लेकमका काशीराम पन्त, उकुका कर्णबहादुर पाल, दामोदर जोशी र बैतडी पिपलकोटका रघुवीरशरण भट्ट र नाम नखुलेका चार जनालाई पक्राउ गरेर बैतडी ल्याइयो । ‘रिचपल्या’ पक्राउ पर्दा रामचन्द्र हमाल चमेलिया नदीमा हामफालेर भाग्न सफल हुनुभयो भने बहादुर खत्री पौडिन नसक्दा चमेलिया नदीमा डुबेर सहिद हुनुभएको भनाइ छ । 

पक्राउ परेका ‘रिचपल्या’ सहितका चार जनालाई बैतडीका तत्कालीन बडाहाकिम सत्यनारायण झा आफैँले जिम्मामा लिएर सिभिल कानुन लगाई बैतडी झ्यालखानामा थुनियो । बैतडी झ्यालखानामा थुनिएका ‘रिचपल्या’, काशीराम पन्त, कर्णबहादुर पाल, दामोदर जोशी, रघुवीरशरण भट्टलाई बैतडीका तत्कालीन बडाहाकिम झाले डोटी झ्यालखाना चलान गर्ने भनी बाहिर निकाल्नुभयो । डोटी झ्यालखाना लैजान भनी सेनाले घेरा हाली बैतडीको कठपतेको बिच जङ्गलमा लगेर ‘रिचपल्या’ सहितका चार जनालाई खाल्डो खन्न लगाइयो । खाल्डो खनिसकेपछि सेनाले एक/एक गरेर गोली हानेर पुरेको ‘रिचपल्या’ का नजिकका नातेदार एवं जानकार खेमानन्द भट्ट बताउनुहुन्छ । 

‘रिचपल्या’ सहित चार जनाको निर्ममतापूर्वक हत्या भएपछि सरकारविरुद्ध चर्को आवाज उठ्यो । हत्याको खबर काठमाडौँसम्म पुगेपछि सरकारले डोटीका तत्कालीन बडाहाकिमलाई विशेष अधिकार दिएर जाँचबुझ गर्न बैतडी पठायो तर हत्याबारे कुनै रिपोर्ट सार्वजनिक नभएको जानकार खेमानन्द बताउनुहुन्छ । २०६२/६३ सालको जनआन्दोलनपछि बैतडीको दशरथचन्द नगरपालिकाको बोर्ड बैठकले ‘रिचपल्या’ को नामबाट सदरमुकाम–सेरा सडकको नाम बलदेवमार्ग राख्ने निर्णय गरे पनि निर्णय कागजमै सीमित छ । २०४६ सालको जनआन्दोलनपछि बनेको सरकारले ‘रिचपल्या’ को परिवारलाई एक लाख २५ हजार रुपियाँ सहयोग र किरिया खर्च भनेर दिए पनि सहिद घोषणाका लागि कुनै पहल नगरिएको सहिद ‘रिचपल्या’ का कान्छा छोरा कालुराम भट्ट बताउनुहुन्छ । सहिद ‘रिचपल्या’ ले नेपाली कांग्रेसमा आबद्ध भएर देश र जनताको स्वतन्त्रता र प्रजातन्त्रका लागि ज्यानको आहुति दिए पनि अहिले नेपाली कांग्रेसले ‘रिचपल्या’ लाई बिर्सेको परिवारजनले गुनासो गरेका छन् । 

गणतन्त्रपछि बन्यो सालिक 

प्रजातन्त्रका लागि लड्ने वीर/वीराङ्गना द्वारिकादेवी ठकुरानी र सहिद बलदेव भट्ट ‘रिचपल्या’ को सम्झनामा दुई ठाउँमा सालिक बनाइएको छ । प्रजातन्त्रका लागि लड्ने ‘रिचपल्या’ २०१७ सालमै मारिनुभयो भने वीराङ्गना ठकुरानीको निधन २०५९ साल मङ्सिर २४ गते भएको थियो । २०६२/६३ सालको जनआन्दोलनपछि निर्माण भएका सालिकको उचित संरक्षण गर्न सके मात्रै उहाँहरूप्रति सच्चा श्रद्धाञ्जली हुने छ ।    

Author

गोकर्ण दयाल