• ७ असार २०८१, शुक्रबार

टी-२० विश्वकप : दक्षिण अफ्रिकासँग एक रनले हारेसँगै बाहिरियो नेपाल

blog

नेपालविरुद्ध ब्याटिङ गर्दै दक्षिण अफ्रिकाका खेलाडी । तस्बिर : क्यान

सेन्ट भिन्सेन्ट, असार १ गते । आइसिसी टी-२० विश्वकपअन्तर्गत समूह चरणको तेस्रो खेलमा नेपाल टेस्ट टोली दक्षिण अफ्रिकासँग एक रनले पराजित भएको छ ।

ब्याटिङमा कमजोर प्रदर्शन गरेपछि नेपालले जित नजिक पुगेर पनि नतिजा सुम्पिएको हो । यस हारसँगै समूह ‘डी’ मा रहेको नेपाल विश्वकपबाट बाहिरिएको छ । 


सेन्ट भिन्सेन्टस्थित किङ्सटाउन स्टेडियमा शनिबार बिहान भएको खेलमा नेपालले दक्षिण अफ्रिकालाई कडा चुनौती दियो । तर अन्तिममा नेपाली ब्याट्सम्यानले लय गुमाए । 

जसले गर्दा नेपालले बलियो टेस्ट टोलीमाथि पहिलो पटक ऐतिहासिक जित निकाल्ने मौका गुमायो । सुपर आठमा पुग्न नेपाललाई दक्षिण अफ्रिका पन्छाउनु पर्ने बाध्यता थियो । नेपालले अब समूहको अन्तिम खेल सोमबार बङ्गलादेशसँग खेल्नेछ ।

जितका लागि एक सय १६ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय १४ रन मात्र बनाउन सक्यो ।

नेपालका लागि ओपनर आशिफ शेखले सर्वाधिक ४२ रन बनाउनुभयो । उहाँले ४९ बलमा चार चौका र एक छक्काको सहयोगमा उक्त रन बनाउनुभएको हो ।

अनिल शाहले २७ रन बनाउनुभयो । उहाँले २४ बलमा तीन चौका र एक छक्काको सहयोगमा उक्त रन बनाउनुभएको हो । ओपनर कुशल भुर्तेलले १३ रन जोड्नुभयो । 

यस्तै दीपेन्द्रसिंह ऐरी ६ रनमा आउट हुनुभयो । कुशल मल्ल एक रन र कप्तान रोहित पौडेल शून्य रनमा पेभेलियन फर्किनुभयो । सोमपाल कामीले अविजित आठ र गुलशन झाले ६ रन बनाउनुभयो । 


बलिङमा दक्षिण अफ्रिकाका तवरेज साम्सीले चार विकेट लिनुभयो । एनरिच नोट्जे र ऐरिन मार्करामले एक एक विकेट लिनुभयो । यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय १५ रन बनाएको थियो । 

दक्षिण अफ्रिकाका लागि ओपनर रेजा हेन्ड्रिकले सर्वाधिक ४३ रन बनाउनुभयो । यस्तै त्रिस्टन स्टुबासले अविजित २७, कप्तान ऐडेन मार्करामले १५ र क्विटन डी ककले १० रन बनाउनुभयो । 


बलिङमा नेपालका कुशल भुर्तेलले चार विकेट लिनुभयो । दीपेन्द्रसिंह ऐरीले तीन विकेट झार्नुभयो । यस नतिजासँगै समूह ‘डी’ मा दक्षिण अफिका अपराजित रह्यो ।

यसअघि नै सुपर आठमा पुगेको दक्षिण अफ्रिकाले चार खेलबाट आठ अङ्क बनाएको छ । दोस्रो स्थानमा रहेको बङ्गलादेशको तीन खेलबाट चार अङ्क छ । दुई अङ्क बनाएको नेदरल्यान्ड्स तेस्रो स्थानमा छ ।

नेपालको तीन खेलबाट एक अङ्क छ । एक अङ्क बनाएको श्रीलङ्का अन्तिममा छ । सन २०१४ को विजेता श्रीलङ्का पनि विश्वकपबाट बाहिरी सकेको छ । 


नेपाल अमेरिकामा भएको आफ्नो पहिलो खेलमा नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको थियो । नेपाल र श्रीलङ्काविरुद्धको दोस्रो खेल भने वर्षाका कारण रद्द भएको थियो । नेपालले अब बङ्गलादेशसँग प्रतिष्ठाका लागि खेल्नेछ । 

दक्षिण अफ्रिकाविरुद्ध नेपाल-११ 

रोहित पौडेल (कप्तान), अशिफ खेस (विकेट किपर), कुशल भुर्तेल, अनिल शाह, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, गुलशन झा, करण केसी, सन्दीप लामिछाने र अभिनाष बोहोरा ।