• ४ असार २०८१, मङ्गलबार

राष्ट्रिय परिचयपत्र बनाउन सकस

blog

अमरराज नहर्की

तनहुँ, असार १ गते  । जिल्ला प्रशासन कार्यालय तनहुँमा राष्ट्रिय परिचयपत्र बनाउन आउने सेवाग्राहीलाई सास्ती भएको छ । परिचयपत्र बनाउन सेवाग्राहीले घण्टौँ कुर्नुपर्ने र निःशुल्क पाइने सेवा भए पनि शुल्कसहित अनलाइनमा फाराम भरेर आउनुपर्ने बाध्यता छ । 

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले आगामी साउनदेखि सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गरेकाले विवरण भर्नका लागि वृद्धवृद्धा तथा अपाङ्गता भएका व्यक्तिको बढी भिड लागेको हो । सीमान्तकृत समुदायबाट सामाजिक सुरक्षा भत्ता लिइरहेकी व्यास नगरपालिका–१०, डिहीगाउँकी इन्द्रमाया कुसुन्डाले भिड भएकाले दिनभरि कुर्दा पनि पालो नपाएकाले फर्किएको बताउनुभयो । विवरण भरेर लाइनमा बस्दा तीन/चार घण्टा पालो कुर्नुपर्ने अवस्था देखेपछि फर्किएको बताउनुभयो । कुसुन्डाले भन्नुभयो, “टन्टलापुर घाममा घण्टौँ लाममा बस्नु पर्ने भएपछि फर्किएँ, केही दिनपछि भिड कम हु्न्छ भन्ने सुनेको छु, पछि भर्नुपर्ला ।” कार्यालयमा अत्यधिक भिड रहेको र अनलाइनमा फाराम नभरेकाले दुई सय तिरेर बाहिरबाट विवरण भर्नु परेको गुनासो कुसुन्डाले गर्नुभयो । 

सेवाग्राहीको भिड हुँदा कार्यालयमा दुई वटा सङ्कलन कक्ष रहेकामा दोब्बर बनाएर चार वटा बनाइएको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बताउनुभयो । गाउँ गाउँबाट गाडी रिजर्भ गरेर सेवाग्राही आउने गरेकाले एकै पटक सेवाग्राहीको चाप हुँदा सेवा प्रवाहमा समस्या परेको गौतमले बताउनुभयो । प्रजिअ गौतमले भन्नुभयो, “भिड धेरै भएकाले बिहान ७ देखि साँझ ७ बजेसम्म सेवा दिँदासमेत सेवा प्रवाहमा समस्या परेको छ ।” जनशक्तिको अभाव हुँदा पालिकास्तरमा खटाउन नसकिएको उहाँले बताउनुभयो । 

सङ्घीय सरकारले आवश्यक स्थानीय सरकारसँग समन्वय गरेर तालिम प्रदान गरी गाउँ गाउँमा घुम्ती टोली पु¥याउनुपर्ने प्रजिअ गौतम बताउनुहुन्छ । जिल्ला प्रशासन कार्यालयमा जनशक्तिको अभाव भएकाले घुम्ती टोली खटाउन नसकिएको उहाँले बताउनुभयो । कार्यालयले राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलनका लागि घुइँचो नगरिदिन आग्रह गरेको छ ।