• ४ असार २०८१, मङ्गलबार

व्यासको पुनः मतगणना स्थगित गर्न आदेश

blog

रमेश पौडेल

पोखरा, असार १ गते । तनहुँको व्यास नगरपालिकाको पुनः मतगणना गर्नू भन्ने उच्च अदालत पोखराको फैसलालाई सोही अदालतको आज भएको अर्को आदेशले तत्कालका लागि स्थगित गरेको  छ । यही असार २ गते बिहान १० बजेदेखि गणना गर्ने फैसला भएकोमा नगरपालिकाका प्रमुख वैकुण्ठराज न्यौपानेले सर्वोच्च अदालतमा दिनुभएको निवेदनलाई ध्यानमा राखी सो आदेश भएको हो ।

नगरप्रमुख न्यौपानेले दिनुभएको पुनरावेदनपत्रको पेसी आगामी असार २ गते आइतबार नै तोकिएकाले सो पुनरावेदन पत्रउपर टुङ्गो नलागेसम्म हाललाई मतगणनाको कार्यलाई स्थगित गर्ने आदेश भएको उच्च अदालत पोखराका सूचना अधिकारी विश्वनाथ अर्यालले जानकारी दिनुभयो । नगरप्रमुखका प्रत्याशी दीपकराज जोशीले पुनः मतगणना हुनुपर्ने माग राख्दै उच्च अदालत पोखरामा दिनुभएको निवेदनउपर गत जेठ १ गते अदालतले पुनः मतगणना गर्न आदेश दिएको थियो तर सो आदेशविरुद्ध नगरप्रमुख न्यौपाने सर्वोच्च जानुभएको थियो । सर्वोच्च अदालतमा पुनरावेदनपत्र दर्ता भई सो मुद्दा पेसीमा चढिसकेको अवस्था भएको हुँदा सर्वोच्चबाट पुनरावेदनपत्रको अन्तिम निर्णय नभएसम्म यस फैसला कार्यान्वयन गर्न मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा २३१ को उपदफा (ख) मा उल्लेख भएबमोजिम सर्वोच्च वा यसै अदालतबाट अर्को आदेश नआएसम्म हाललाई मतगणना कार्य स्थगित गर्ने आदेश सो अदालतका रजिस्ट्रार अच्युत कुइँकेलले गर्नुभएको छ ।

यसअगाडिको फैसलामा न्यायाधीश राजनप्रसाद भट्टराई र निर्मला भट्टराई पौडेलको संयुक्त इजलासले पुनः मतगणना गर्न फैसला गर्दै सोको व्यवस्थापन गर्ने अधिकारसमेत रजिस्ट्रारलाई दिनुभएको थियो ।

नगरप्रमुख वैकुण्ठराज न्यौपानले दिनुभएको निवेदनउपरको सुनुवाइमा पनि न्यायाधीशमा मिलनकुमार राई र अमृतकुमार बस्नेतको संयुक्त इजलासले यसअगाडि यसै अदालतबाट भएको फैसलाउपर छलफल गरी पुनः मतगणना गराउने वा नगराउने भनी आदेश गर्न रजिस्ट्रार कुइँकेललाई नै जिम्मेवारी दिइएकोमा रजिस्ट्रार कुइँकेलले हालका लागि स्थगित गर्नुभएको हो । शुक्रबार भएको सुनुवाइमा पक्षका तर्फबाट वरिष्ठ अधिवक्ता कृष्ण थापालगायत पाँच जना र विपक्षका तर्फबाट वरिष्ठ अधिवक्ता हरि सुवेदीलगायत छ जना कानुन व्यवसायीले बहसपैरवी गर्नुभएको थियो ।