• ४ असार २०८१, मङ्गलबार

अवैध क्रसरमा सिल

blog

सिलबन्दी गरेको क्रसर उद्योग । तस्बिर: अर्जुन

अर्जुन काफ्ले 

स्याङ्जा, असार १ गते । भीरकोट नगरपालिका १ मा रहेको अवैध क्रसरमा जिल्ला प्रशासन कार्यालय स्याङ्जाले सिलबन्दी गरेको छ । प्रशासनले बजार अनुगमनका क्रममा भीरकोट खेलमैदानको नजिकै रहेको भुसाल इन्टरप्राइजेज नाम रहेको क्रसरमा सिलबन्दी गरेको हो । 

सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलको नेतृत्वमा खटिएको प्रशासनको अनुगमन टोलीले क्रसरको स्थलगत अनुगमन गरेपछि अवैध देखिएपछि सिल गरेको हो । उहाँले अनुगमनका क्रममा दर्ता नगरी सञ्चालन गरी पाइएकाले सिलबन्दी गरिएको बताउनुभयो । क्रसर उद्योग एक वर्ष पहिलाबाट यहाँ सञ्चालनमा आएको थियो भने गिट्टी र बालुवा बनाएर बिक्री हुँदै आएको थियो । 

आफू निर्माण व्यवसायी भएकाले पूर्वाधार विकास कार्यालयसँग समन्वय गरेर क्रसर चलाएको बताउँदै क्रसर सञ्चालक राम प्रदा भुसालले पालिकामा दर्ता गर्न खोज्दा नगरी दिएको बताउनुभयो । क्रसरबाट कुनै सामाग्री बिक्री वितरण नबेचेको बताउँदै भुसालले साथीहरूले कहिले काहीँ मागेमा सहयोग भने गरेको बताउनुभयो । 

पालिकाले नै गैर ढङ्गले क्रसर चलाएर बिक्री वितरण गरेको बताउँदै भुसालले प्रशासनले त्यसलाई नहेरी चुप चाप बसेको आरोप लगाउनुभयो । जिल्ला प्रशासनको अनुगमन टोलीले गल्याङ बजारमा रहेको फार्मेसी, होटेल र किराना पसल समेत अनुगमन गरेको थियो । 

अनुगमनका क्रममा बिल बिजक जारी नगरी कारोबार गर्ने सेवा हेल्थ केयर सेन्टरलाई १० हजार जरिवाना गरेको हो ।