• १६ भदौ २०८१, आइतबार

'हीट वेभ'का बिरामीले भरिभराउ अस्पताल

blog

बिरामीको सङ्ख्या बढेपछि भेरी अस्पतालमा पालो कुरेका बिरामीहरु । तस्बिर : सिराज खान

सिराज खान 

नेपालगन्ज, जेठ ३२ गते । तातो हावा 'लु' चलेर अत्यधिक बढेको गर्मीका कारण बाँकेका अस्पताल र स्वास्थ्य संस्थाहरूमा 'हीट वेभ'का बिरामीको चाप बढेको छ । गर्मीबाट पिडित भई विभिन्न समस्याबाट ग्रस्त भएर अस्पतालमा आउनेहरु पहिलेको तुलनामा अहिले धेरै बढेको नेपालगन्जका विभिन्न अस्पतालले जनाएको छ । 

तीमध्ये सबैभन्दा बढी हीट वेभका कारण 'लु' लागेर झाडा पखाला भएका, पेट दुखेको, एक्कासी बेहोस भएका, टाउको दुखेका र रक्तचाप घटेर अर्धचेत हुन लागेको बिरामीहरु ठुलो संख्यामा उपचारका लागि आउन थालेको भेरी अस्पतालले जनाएको छ । भेरी अस्पतालका सुचना अधिकारी डा. संकेत कुमार रिसालले अस्पतालको ओपिडि र इमरजेन्सीमा आउने बिरामी मध्ये अधिकांश गर्मीले पिडित भएका नै रहने गरेको बताउनुभयो । उहाँले भेरी अस्पतालको ओपिडीमा सरदर दैनिक दुई सय जना बिरामी आउने गरेकोमा अहिले त्यो संख्या बढेर चारसयको हाराहारीमा पुगेको बताउनुभयो । 

बिरामीको चाप बढेसँगे भेरी अस्पतालमा बिरामीहरूलाई बेड पाउन समस्या भइरहेको छ । सूचना अधिकारी डा. रिसालले अस्पतालमा आपतकालीन कक्ष, आइसियु, मेडिसिन कक्षका सबै बेडहरूमा बिरामी भरिभराउ रहेको बताउनुभयो । उहाँले भन्नुभयो, "भेरीमा बिरामीको चाप यस्तो छ कि आपतकालीन कक्ष, आइसियु, मेडिसिन कक्षका सबै बेडहरू भरिएका छन्, अन्य बेला यस्तो हुँदैनथ्यो । तर अहिले नयाँ बिरामी आए उपचारमा समस्या छ ।"

चर्को गर्मीपश्चात् पानी परेमा अस्पतालमा अझै बिरामीहरूको चाप बढ्ने डा. रिसालले जानकारी दिनुभयो । भेरी अस्पतालसँगै नेपालगन्जस्थित नर्सिङ होम, वेस्टर्न अस्पताल, सिद्धार्थ अस्पताल, मेडिकल कलेज कोहलपुर लगायतका अस्पतालमा बिरामीको चाप अहिले अत्यधिक बढेको छ । ज्वरो आउने, पेट दुख्ने, झाडापखाला लगायतका लक्षण देखिएका बिरामीहरूको सङ्ख्या बढ्दै गएको नेपालगन्ज मेडिकल कलेजको नेपालगन्ज शिक्षण अस्पतालका सह निर्देशक डा. रोमन किदवाईले बताउनुभयो । उहाँले नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्ज र कोहलपुर दुबै ठाउँमा ओपिडी उपचार गराउन आउने बिरामीहरूको चाप उच्च रहेको जनाउँदै हीट वेभका बिरामीहरू उल्लेख्य संख्यामा आइरहेको बताउनुभयो । 

बढी गर्मीका कारण थकान र कमजोरी महसुस हुने, चक्कर लाग्ने, बेस्सरी टाउको दुख्ने, वाकवाकी लाग्ने, हात गोडा बाउँडिने, हात गोडा वा अनुहार सुन्निने र बेहोस हुने, मुटुको धड्कन बढ्न सक्ने हुँदा सचेत रहन चिकित्सकहरूले सुझाव दिएका छन् । अहिले जिल्लाको तापक्रम ४३ डिग्री भन्दा बढी नै हुने गरेको छ । यती धेरै तापक्रममा बाहिर निस्कनेहरुलाई बिरामी पर्ने धेरै सम्भावना रहेकोले सकेसम्म दिउँसोको बेला बाहिर ननिस्कन र निस्कनै परेमा व्यवस्था गरेर निस्कन चिकित्सहरुको थप सुझाव छ ।