• १२ मंसिर २०८१, बुधबार

बागलुङमा बने सोह्र झोलुङ्गे पुल

blog

जैमिनी नगरपालिकाको दमेकफेदी–कुसीगाउँ जोड्ने १८६ मिटर लामो झोलुङ्गे पुल । तस्बिर : ठाकुरप्रसाद आचार्य

बेनी समाचारदाता 

म्याग्दी (बेनी), जेठ ३२ गते । बागलुङ जिल्लामा चालु आर्थिक वर्षमा जिल्लाभर १६ वटा झोलुङ्गे पुल निर्माण भएका छन् । गण्डकी प्रदेश सरकारले पाँच वटा र स्थानीय तहले ११ वटा झोलुङ्गे पुल निर्माण गरेका हुन् । पुल निर्माण भएसँगै ग्रामीण भेगमा बसोबास गर्ने सर्वसाधारणको दैनिकी सहज भएको छ । 

बागलुङको बडीगाड गाउँपालिकामा चार, निसीखोलामा चार, तमानखोला गाउँपालिकामा एक, काठेखोला गाउँपालिकामा एक, ढोरपाटन नगरपालिकामा तीन, जैमिनी नगरपालिकामा दुई र गलकोट नगरपालिकामा एक गरी १६ वटा झोलुङ्गे पुल निर्माण भएको पूर्वाधार विकास कार्यालय बागलुङका इन्जिनियर गोपाल शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार ती सबै पुल ठेक्का सम्झौता मितिभित्र नै सम्पन्न भएका छन् । 

पूर्वाधार विकास कार्यालयका अनुसार बडीगाडको फुर्साघाट, खहरे खोलाघाट, दलिङ निगालपानी, सानो किटेनीघाटमा झोलुङ्गे पुल निर्माण गरिएको छ । यसै गरी निसी गाउँपालिकाको हकला बगर झिवा खोला, आठबोरघाट, सेलाखेत र कारी खोलामा झोलुङ्गे पुल निर्माण गरिएको छ । 

यस्तै तमानखोला गाउँपालिकाको लामेलाघाट, काठेखोला गाउँपालिकाको बुदी खोला, ढोरपाटन नगरपालिकाको भुसुन्डेघाट, जैमिनी नगरपालिकामा दमेकफेदी, कुसीगाउँ, कल्लेनी, देउराली घाट, ढोरपाटन नगरपालिकाको उत्तरगङ्गा, भण्डारी गाउँ कुदुङ र गलकोट नगरपालिकाको चिप्लेटीघाटमा झोलुङ्गे पुल निर्माण भएको छ । नौ वटा पुल निर्माणाधीन रहेको पूर्वाधार विकास कार्यालय बागलुङले जनाएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रम अन्तर्गत स्थानीय तहले पुलको योजना छनोट र कार्यान्वयन गर्ने गरेका छन् । नेपाल सरकार र स्विस सरकारबिचको सम्झौता अनुसार पुल निर्माण गर्न बागलुङमा झोलुङ्गे पुल सहयोग एकाइ (टिबिएसयु) र पिटिएपी पोखराले प्राविधिक सहयोग गर्दै आएको इन्जिनियर शर्माले जानकारी दिनुभयो ।