• १६ भदौ २०८१, आइतबार

लागूऔषधका घटना बढेसँगै प्रहरी सक्रिय

blog

आज इलाम नगरपालिका –९ स्थित भगवती माविमा लागूऔषधसम्बन्धी सचेतना कार्यक्रममा इलाम नगरपालिका प्रमुख केदार थापा । तस्विरः कोकिला ढकाल

कोकिला ढकाल

इलाम, जेठ ३१ गते । पछिल्लो समय इलाममा लागूऔषधका घटना बढ्न थालेपछि जिल्ला प्रहरी कार्यालय इलाम जनस्तरमा सचेतनाका लागि सक्रिय भएको छ । प्रहरीले युवालाई लक्षित गरी सचेतनाका कार्यक्रम गर्न थालेको हो । 

यसैक्रममा प्रहरी कार्यालयले आज इलाम नगरपालिका–९ को भगवती माविका विद्यार्थीलाई लागूऔषधसम्बन्धी सचेतना गराएको छ । इलाम नगरपालिका प्रमुख केदार थापाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विद्यालयका विद्यार्थी, अभिभावक, शिक्षक, शिक्षिकाको सहभागिता थियो । 

कार्यक्रममा जिल्ला प्रहरी प्रमुख प्रभुप्रसाद ढकालले लागूऔषधको प्रयोगमा बालबालिका र युवाहरू किन बढी आकर्षित हुन्छन् र उनीहरूलाई कूलतबाट बचाउन कस्तो सचेतता अपनाउनु पर्छ भन्ने जानकारी गराउनु भएको थियो । कार्यक्रममा पछिल्लो समय स्कुलले बालबालिकामा लागूऔषधको लत बढिरहेको विषयमा छलफल गरिएको थियो ।  

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले लागूऔषधको बढ्दो प्रयोग, त्यसको नियन्त्रण र कानुनी उपचारका विषयमा सहजीकरण गर्नुभएको थियो । जिल्ला प्रहरी कार्यालय इलामले केही समयअघि इलाम नगरपालिका –५ स्थित अमर उच्च माविका विद्यार्थीसहित अन्य विभिन्न विद्यालयमा लागूऔषधसम्बन्धी सचेतना गरेको छ । 

जिल्लामा पछिल्लो समय अर्थात् चालू आर्थिक वर्षको जेठ महिनासम्ममा लागूऔषधसम्बन्धी १६ वटा मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ । यीमध्ये गाँजामा एउटा र ब्राउनसुगरमा १४ वटा मुद्दा दर्ता भएका छन् । गाँजासम्बन्धी मुद्दामा तीन जना पक्राउ परेका छन् । ब्राउनसुगरमा ३१ जना पक्राउ परेर उनीहरूमाथि मुद्दा चलिरहेको इलामका डिएसपी प्रकाश जबेगूले बताउनुभयो । 

जबेगुका अनुसार यो आर्थिक वर्ष २०८०–८१ मा पाँच किलो ६७ ग्राम गाँजा बरामद भएको छ भने एकसय ३३ ग्राम ब्राउनसुगर बरामद भएको छ ।