तानसेन समाचारदाता
तानसेन, जेठ ३१ गते । ऐतिहासिक पाल्पा दरबार परिसरलाई पुरानै स्वरूपमा पुनर्निर्माण गर्ने काम भइरहेको छ । दरबार परिसरलाई ऐतिहासिक पर्यटकीय स्थलका रूपमा विकास गर्ने उद्देश्यका साथ पुराना पर्खाल, मूलढोका तथा गेट निर्माणको काम भइरहेको हो ।
दरबार परिसरभित्र ढुङ्गा बिछ्याउने, पर्खाल लगाउने, मूलढोका बनाउने काम भइरहेको छ । पुरातत्व विभाग, तानसेन नगरपालिका र लुम्बिनी प्रदेश सरकारले ऐतिहासिक पाल्पा दरबार परिसरमा लगानी गरेर काम गरिरहेका छन् ।
तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाका भाइ बद्रीनरसिंह कुँवरले तानसेनमा रहँदा विसं १९११ देखि १९३० मा मूलढोका निर्माण गर्न लगाएका थिए । सोही बेला बनेका मूलढोका, पर्खाल तथा आँगन बनाउने काम भइरहेको हो । त्यतिबेलाको सुरक्षा नीति अनुसार बनेको ऐतिहासिक संरचनाको स्वरूप नबिग्रने गरी बनाइएको तानसेन नगरपालिकाले जनाएको छ ।
पाल्पा दरबारको बाहिरपट्टि कडा चट्टानको पर्खाल बनाउने काम भइरहेको छ । विसं १९११ ताका सुरक्षालाई ध्यानमा राख्दै दरबार परिसर वरिपरि एक/डेढ मिटर चौडा कडा चट्टानको वाल (पर्खाल) लगाइएको थियो ।
नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले सोही पर्खालको आकार तथा स्वरूपमा केही परिवर्तन गरेर पुरातत्व विभाग र लुम्बिनी प्रदेश सरकारले पुनर्निर्माणको काम गरिरहेको बताउनुभयो । तानसेन नगरपालिकाका इन्जिनियर रामप्रसाद श्रेष्ठले पर्खाल र ढुङ्गा बिछ्याउने काम चालु आर्थिक वर्षको असार मसान्तभित्र सक्ने गरी भइरहेको जानकारी दिनुभयो । पर्खाल लगाउने काममा एक महिना ढिला भए पनि समयमै काम सक्ने योजना रहेको श्रेष्ठले बताउनुभयो ।
यस्तै दरबार परिसरभित्र र बाहिर ढुङ्गा छाप्ने काम भइरहेको छ । तानसेन नगरपालिकाले चालु आवमा ४१ लाख र लुम्बिनी प्रदेश सरकारको ५० लाख दरबार परिसरबाहिर र भित्र ढुङ्गा बिछ्याउने काम असारभित्रै सक्ने योजना छ ।
मूलढोका बनाउन सुरु
दरबार परिसरभित्रको मूलढोका बनाउने काम सुरु भएको छ । पुरातत्व विभागको ८१ लाख ९५ हजार रुपियाँमा शीतलपाटीमा रहेको ऐतिहासिक मूलढोका बनाउन सुरु गरेको हो । मूलढोकाको अधिकांश संरचना पुरानै सामग्री प्रयोग गर्ने गरी निर्माणको काम थालिएको तानसेन नगरपालिकाले जनाएको छ ।
मूलढोका नेपालकै सबैभन्दा पुरानो ठुलो ढोका मानिन्छ । राणाकालमा बनेको ऐतिहासिक मूलढोका अहिले जीर्ण बनेको थियो । ऐतिहासिक दरबार क्षेत्रलाई पर्यटकीय स्थलका रूपमा विकास गर्ने गरी गत २०८० वैशाखमा यहाँका ५७ घरटहरा भत्काइएपछि धमाधम पुनर्निर्माणको काम भइरहेको हो ।