• १ साउन २०८१, मङ्गलबार

मधुपर्क ५७ औं वर्षमा

तीन साहित्यकारलाई मधुपर्क सम्मान

blog

गोरखापत्र संस्थानको साहित्यिक मासिक प्रकाशन मधुपर्कको ५७ औं वार्षिकोत्सवमा सम्मानित स्रष्टाहरु । तस्विरः विकास द्वारे

गोरखापत्र अनलाइन

काठमाडौं, जेठ ३० गते । गोरखापत्र संस्थानको साहित्यिक मासिक प्रकाशन मधुपर्कको ५७ औं वार्षिकोत्सव आज मनाइएको छ । सो अवसरमा तीन जना वरिष्ठ साहित्यकार सम्मानित हुनुभएको छ । 

संस्थानद्वारा हरेक वर्ष प्रदान गरिने ‘मधुपर्क सम्मान २०८१’ (गद्य) तर्फ वरिष्ठ साहित्यकार प्रा. कृष्ण गौतम, मधुपर्क सम्मान २०८१ (पद्य) तर्फ वरिष्ठ कवि मञ्जु काँचुली तिवारी र मधुपर्क प्रतिभा सम्मान २०८१ बाट साहित्यकार किशोर पहाडी सम्मानित हुनुभयो ।


सम्मानको जनही राशी नगद ५० हजार र सम्मानपत्र रहेको छ । सो अवसरमा उहाँहरुलाई वरिष्ठ समालोचक प्राडा. वासुदेव त्रिपाठीले सम्मान गर्नुभयो । कार्यक्रमको उद्घाटन उहाँले कविता वाचन गरेर गर्नुभएको थियो । 

वरिष्ठ समालोचक त्रिपाठीले नेपाली वाङ्मय साहित्यको श्रीवृद्धिमा मधुपर्क साहित्यिक मासिक पत्रिकाले गरेको योगदान अतुलनीय रहेको बताउनुभयो । यसको देशभित्र र बाहिर सबैतिर पाठक रहेको चर्चा गर्नुहुँदै उहाँले भन्नुभयो, “मधुपर्कमा प्रकाशन हुने सामग्री अद्योपान्त पठनीय रहने गरेको छ, यसले पाठकको चेतनाको स्तर बढाउनमा सहयोग गर्दैआएको छ ।”


सम्मानित व्यक्तित्व प्रा. कृष्ण गौतमले नेपालबाट प्रकाशन हुने कैयौं साहित्यिक पत्रिकाहरु बजारबाट हराए पनि मधुपर्कको निरन्तरताले नेपाली साहित्यलाई उर्वर बनाइरहेको बताउनुभयो । साहित्यले व्यापार नगर्ने तर समाज परिवर्तनमा भूमिका खेल्नेगरेको उहाँको भनाइ छ । मधुपर्क नाम नै समावेशी भएको बताउँदै उहाँले नेपाली साहित्यलाई उचाइमा लग्ने भूमिका मधुपर्कको रहेको बताउनुभयो ।

अर्का सम्मानित व्यक्तित्व मञ्जु काँचुली तिवारीले पुरस्कार पाउँदा आफूलाई मरिसकेको मानिस पुनः ब्यूँझेजस्तो भएको बताउनुभयो । चेतनाको कलात्मक भावना नै साहित्य भएको बताउँदै उहाँले समाज रुपान्तरणमा नेपाली साहित्यिक पत्रपत्रिकाले ठुलो भूमिका खेल्नेगरेको बताउनुभयो ।


अर्का सम्मानित साहित्यकार किशोर पहाडीले मधुपर्क नेपालको नम्बर एक साहित्यिक पत्रिका भएको बताउनुभयो । नेपाली साहित्यको उन्नयनमा मधुपर्कको भूमिका जति चर्चा गरे पनि कम हुने उहाँले धारणा राख्नुभयो । 

वरिष्ठ साहित्यकार पुस्कर लोहनीले आफू २०१६ सालदेखि लेखनमा सक्रिय रहेको भए पनि साहित्य लेखन पाठ्यक्रम बन्न नसक्दा नेपाली साहित्यले सही धार समात्न नसकेको बताउनुभयो । नेपाली साहित्यको उत्थानमा मधुपर्कले खेलेको भूमिका महत्वपूर्ण रहेको उहाँले चर्चा गर्नुभयो ।


संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीले मधुपर्क नेपाली साहित्यजगतको पाठशाला भएको बताउनुभयो । गोरखापत्र पत्रिका आफैंमा नेपाली पत्रकारिताको इतिहास र पाठशाला भएजस्तै नेपाली साहित्यको श्रीवृद्धिमा मधुपर्कले भूमिका निर्वाह गरिरहेको उहाँले बताउनुभयो । गोरखापत्र संस्थानका सबै प्रकाशनलाई सुरक्षित गर्ने अभियान स्वरुप डिजिटल अर्काइभिङको काम भइरहेको उहाँले जानकारी गराउनुभयो । 

महाप्रबन्धक लालबहादुर ऐरीले पछिल्लो समय गोरखापत्र संस्थानका प्रकाशनको कन्टेन्ट र प्रस्तुतिमा सुधारको प्रयास गरिएको बताउनुभयो । यसअघि लेआउट डिजाइनमा परिमार्जन गरिएको चर्चा गर्नुहुँदै उहाँले सम्मानित हुनुहुने व्यक्तित्वहरुलाई बधाई ज्ञापन गर्नुभयो । 


मधुपर्क सम्मान २०८१ का लागि स्रष्टा चयन समितिको संयोजक वरिष्ठ साहित्यकार पुस्कर लोहनी रहनुभएको थियो । सम्मानित व्यक्तित्वहरुबारे साहित्यकार प्रमोद प्रधानले प्रकाश पार्नुभएको थियो । कार्यक्रम मधुपर्कका निमित्त सम्पादक त्रिभुवनचन्द्र वाग्लेको सभापतित्वमा भएको थियो । 


मधुपर्क मन्थन कार्यक्रम

वार्षिकोत्सवको दोस्रो सत्रमा मधुपर्क मन्थन कार्यक्रमको आयोजना गरिएको छ । सो कार्यक्रममा वर्तमान नेपाली साहित्यमा आख्यानको अवस्थाबारे प्राडा. दयाराम श्रेष्ठले प्रकाश पार्नुभयो । उहाँले भन्नुभयो, “साहित्यकारले आफ्नो लागि लेख्ने होइन, समाज र पाठकका लागि लेख्ने हो, त्यसैले आख्यानमा जनजीवन प्रतिविम्बित हुनुपर्छ ।”

नेपाली भाषामा साहित्य लेख्दैमा त्यसको पहिचान नेपाली नहुने वल्कि यहाँका जनजीवन र प्रबृत्ति आख्यानमा आउनुपर्ने उहाँको सुझाव छ । “हाम्रो कथामा हिमाल, नदी नाला, ताल, झरना र यहाँको वस्तुस्थिति झल्किनुपर्छ । नेपाली मन बोलिनुपर्छ ।”


अर्का स्रष्टा सीता पाण्डेले आफ्नो पहिलो कथा गोरखापत्रको शनिबारीय पृष्ठमा प्रकाशन भएको स्मरण गर्नुहुँदै नेपाली वाङ्मय साहित्यको उन्नयनमा गोरखापत्र संस्थानका प्रकाशनको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।  आफ्नो ठाउँमा सबै व्यक्ति लेखक र कवि भए पनि लेखन समाज रुपान्तरणका लागि हुनुपर्छ भन्नुभयो ।

वर्तमान नेपाली साहित्यमा पद्य (कविता) को बारेमा प्राडा. लक्ष्मण गौतमले मधुपर्कको वार्षिकोत्सवमा अन्तरक्रियात्मक मन्थन सायद पहिलो पटक भएको स्मरण गर्नुभयो । कविता भकुण्डोजस्तो भएको बताउँदै उहाँले भन्नुभयो, “कविताको सुरुवात र अन्त्य नभएकाले खेलिने भकुण्डोजस्तो हो यो । स्रष्टा जुन परिवेश र युगमा बाँच्छ, सिर्जना पनि त्यस्ते गर्नेगरेको उहाँले स्मरण गर्नुभयो । 


अर्का स्रष्टा श्यामल अधिकारीले नेपाली साहित्यको गति अहिले अवरुद्ध भएजस्तो भएको बताउँदै नेपाली कविहरु ११३ शब्दमा रुम्मलिएको बताउनुभयो । लेखक स्रष्टा निडर नभएसम्म वास्तविक साहित्य आउन नसक्ने उहाँको भनाइ छ ।