• १३ असोज २०८१, आइतबार

प्रहरीको सुरक्षामा कामकाज गर्दै नागरपालिका

blog

खाँडाचक्र नगरपालिकामा सुरक्षा दिँदै प्रहरी । तस्बिर : प्रेमराज सिम्खडा

प्रेमराज सिम्खडा
कालीकोट, जेठ ३० गते ।
कालीकोट जिल्लाको खाँडाचक्र नगरपालिकामा प्रहरी तैनाथ गरिएका छन् । जनप्रतिनिधि र कर्मचारीका कारणले सेवाग्रही आक्रोसित भएपछि नगरपालिकाले प्रहरी सुरक्षामा कार्यालय सञ्चालन गर्न थालेको हो ।

समयमा भुक्तानी नदिनु, कर्मचारी कार्यालयमा कहिलेकाही मात्र हुनु, कामको सम्झौतामा ध्यान नदिनु, अनुगमन प्रतिवेदन समयमा तयार नहुँदा भुक्तानी प्रक्रिया लम्बीन थालेपछि सेवाग्रही आक्रोसित छन् । आक्रोसित सेवाग्रहीको त्रासका कारणले प्रहरीको सहयोगमा कर्मचारीले काम गर्नु परेको नगरपालिकाले जनाएको छ ।

नगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रवलजंग शाहीले सार्वजनिक सम्पत्तिको सुरक्षा, श्रेस्ताको सुरक्षाका लागि प्रहरीको सहयोग लिन बाध्य भएको बताउनुभयो ।

उहाँले आफ्ना पनि कमजोरी भएको भन्दै कमजोरीलाई सुधार्ने समयमा समेत नपाउने भएकाले आर्थिक मसान्तमा कामकाज गर्न सेवाग्राहीले नदिएपछि प्रहरी परिचालन गर्नुपरेको जानकारी दिनुभयो ।

नगरपालिकाको कार्यालयमा हतियारधारी सुरक्षा कर्मी खटिएका छन् । प्रहरीले कुनै पनि सेवाग्रहीलाई कार्यालय प्रवेशमा रोक लगाएका छन् । यस अघि एक होटल सञ्चालकले समयमा भुक्तानी नपाएको भन्दै नगरपालिकाको कार्यालय प्रवेश गरेर कुर्सि, फिल्डर लगायतका सामान सडकमा पछार्दै नगरपालिकाका कर्मचारीलाई धम्की दिनुभएको थियो ।

नगरका निमित्त प्रमुख शाहीले गल्ती गर्ने जनप्रतिनिधि र त्यसको सजाय आफुले पाउने गरेको गुनासो गर्नुभयो । समयमा बजेटको अख्तियारी नआउनु, योजनाको अनुगमन प्रतिवेदन तयार नहुनु, बजेटको दायरा नहेरी योजना बाड्नु, निति नियमको ख्याल नगरि बजेट खर्च गर्नुले पनि समुदायमा आक्रोस बढेको बताउनुभयो ।

नगरको हालै सार्वजनिक भएको महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनमा खाना खर्चमा ७० लाख ५८ हजार देखिएपछि नागरिक थप आक्रोसित भएका छन् । नागरिकको आक्रोसलाई थेक्न नसकेपछि प्रहरी परिचालन गरिएको हो । जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी निरीक्षक प्रकाश केसीले प्रमुख जिल्ला अधिकारीमार्फत पत्र आएको र नियमित गस्तीका क्रममा प्रहरी छ भनेर देखाउनका लागि नगरपालिकामा जाने गरेको बताउनुभयो ।