• ३२ जेठ २०८१, शुक्रबार

तुलाधरको मूर्तिकलाले जित्यो एक लाख पुरस्कार

blog

तस्बिर:रासस

काठमाडौँ, जेठ २९ गते । ललितपुरको बुङ्मतीका सुरेश लवट तुलाधरले परम्परागत मूर्तिकला साधनामा २० वर्ष खर्चिसक्नुभएको छ । परम्परागत कला सिर्जना होमिनेमा उहाँ चौथो पुस्ता हुनुहुन्छ । पुस्तान्तरण हुँदै आएको कलाको बिँडो उहाँपछिको पुस्ताले धान्ला वा नधान्ला उहाँ यकिन साथ भन्न सक्ने अवस्थामा हुनुहुन्न । 

तर तुलाधर भने जीवनलाई यही कलामा समर्पण गरिसक्नुभएको छ । कलायात्राको २० वर्षे यात्रामा उहाँलाई यस पटक अपेक्षा नगरेको उपहार प्राप्त भयो । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको राष्ट्रिय ललितकला प्रदर्शनी, २०८१ मा राखिएका चार सय ८२ कलाकारका पाँच सय २२ कलाकृतिमध्ये सर्वोत्कृष्ट ठहरिएको ‘२१ तारा’ले एक लाख पुरस्कार पायो । उक्त पुरस्कारलाई उहाँ बिस वर्षको मेहनतको उपलब्धि हो भन्नुहुन्छ । प्रदर्शनीमा परम्परागत, आधुनिक, धर्म, संस्कृति, इतिहास, दैनिक जनजीवनसँग सम्बन्धित विभिन्न दृश्य चित्र राखिएका छन् । 

त्यसमध्ये उहाँको सिर्जना परम्परागत काष्ठमूर्तिकला ‘२१ तारा’ हो । त्यसमा नियमबद्ध र परम्परागत बुट्टाले कलालाई थप आकर्षक बनाएको छ । परम्परागत कला सिर्जना गर्न सजिलो छैन । नियममा रहेर बनाउनुपर्ने भएकाले पनि कठिन हुने उहाँको अनुभव छ । त्यसमाथि कलामा निपुण हुनैपर्छ । उहाँको उक्त सिर्जनामा पाँच वटा ताराको प्रतिनिधित्व पञ्बुद्धले गरेको छ । हरेक ताराले के भन्न खोजेको हो त्यसमा रहेको चिह्न, सङ्केत र वस्तुमार्फत व्यक्त गरिएको छ । ध्यानी बुद्धलाई नै पञ्चबुद्ध भन्ने गरिएको उहाँको भनाइ छ ।

वैरोचन, अक्षोभ्य, रत्नसम्भव, अमिताभ र अमोघसिद्धिको सामूहिक नाम नै पञ्चबुद्ध हो । मूर्तिकलाको तल अष्टमङ्गल रहेको छ । लेखक वसन्त महर्जनले काठमाडौँको बौद्ध समाजमा घरको मुख्य प्रवेशद्वारमाथि लहरै पञ्चबद्धको चित्र अङ्कित गर्ने चलन रहेको उल्लेख गर्नुभयो । पञ्चबद्धको नामक्रममा वैरोचन बुद्धलाई पाँच बुद्धको मध्यभागमा राख्ने गरिन्छ । बिचमा ठुलो काष्ठकला (ग्रीन तारा) कुँदिएको छ । त्यसको उत्पलामा विश्वबज्र छ । यसले शक्तिको प्रतिनिधित्व गर्छ । सबैभन्दा अगाडि मञ्जुश्री राखिएको छ । कलाकार तुलाधर भन्नुहुन्छ, “त्यसरी राख्नुको कारण मञ्जुश्री सबैको गुरु हो । त्यसैले कसैले नाघ्नु भएन भनेर अगाडि राखिएको हो ।” 

एक्काइस वटै तारालाई पहिचान दिने चिह्नहरू छन् । जसले आ-आफ्नो महत्त्व दर्साइदिन्छ । पञ्चबद्धको मुनी धर्मरक्षकका रूपमा गरुड, बेटाल, सिंह, मकर विभिन्न स्वरूपमा कुँदिएको छ । उहाँको सिर्जनामा नागकन्या पनि समावेश छ । बौद्धधर्म अनुसार मनको इच्छा पूरा गर्ने ताराका रूपमा २१ तारालाई लिइन्छ । चाँपको काठबाट बनाइएको परम्परागत काष्ठकलामा रहेको एउटा÷एउटा ताराको छुट्टै महत्त्व र व्याख्या छ । कलाकार तुलाधरले २० वटा तारा एउटै काठबाट बनाउनुभएको हो । एउटा काठमा कला भर्न सजिलो छैन । 

त्यसमाथि मसिना बुट्टाका साथै नियममा बाँधिएर कला बनाउनु झन् गाह्रो हुने उहाँको भनाइ छ । एउटा आधार र एउटा तारा छुट्टै काठबाट बताइएको छ । उहाँले काष्ठकला धेरै बनाउनुभयो तर यो अवधारणामा भने पहिलो बनाएको सुनाउनुभयो । “ठुलो र विस्तृतमा बनाइएको यो मेरो पहिलो हो र यसैले सर्वोत्कृष्ट पुरस्कार पाउँदा खुसी भएँ,” उहाँले भन्नुभयो । साधन मालाअन्तर्गत प्रतिमा लक्षण सिद्धान्तमा आधारित रहेर बनाइएको परम्परागत मूर्तिकलामा नियम मिच्न पाइँदैन । कलाकार तुलाधरले भन्नुभयो, “यो कला नियममा रहेर नै बनाउनुपर्छ, कतै छुट भयो भने कलाको महत्त्व नै हुन्न, त्यसैले जसले पनि परम्परागत कला बनाउन गाह्रो हुन्छ । शास्त्रहरू जानेकै हुनुपर्छ, कला साधकले नियम बुझेकै हुनुपर्छ ।”

उहाँले २१ तारा बनाउन नौ महिना खर्चनुभएको छ । यो परम्परागत काष्ठ मूर्तिकला एक वर्ष घरमा बस्यो । प्रदर्शनीमा लैजाने सोच थिएन तर प्रतिष्ठानबाट प्रदर्शनीका लागि अनुरोध भएपछि मात्रै उहाँले गएको माघमा कला पठाउनुभएको थियो । प्रादेशिक ललितकला प्रदर्शनीमा बागमतीको प्रतिनिधित्व गर्दै प्रदर्शन भएको उक्त कला राष्ट्रिय प्रदर्शनीमा पनि सहभागी भएको थियो । जसमा ११ जना निर्णायकबाट अङ्कका आधारमा तुलाधरको सिर्जना सर्वोत्कृष्ट बनेको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले बताएको छ । 

प्रतिष्ठानका सदस्यसचिव देवेन्द्रकुमार काफ्ले थुम्केली भन्नुहुन्छ, “लोककला आफ्नो तरिकाले बनाउन सकिने भए पनि परम्परागत कलामा जे गर भनिएको छ त्यही गर्नुपर्छ टाउको अर्काेपट्टी फर्किएको छ भने त्यस्तै फर्काइएको हुनुपर्छ । अन्य कलामा बरु फरकरुपमा प्रस्तुत गर्न सकिएला, परम्परागत कलामा त्यो छुट कलाकारलाई हुन्न, तुलाधरको सिर्जनामा पनि त्यही नियम लागू छ ।” यसअघि प्रतिष्ठानबाट राष्ट्रिय ललितकला पुरस्कार र विशेष ललितकला पुरस्कार प्राप्त गर्नुभएका तुलाधरले यसपालिबाटै स्थापना भएको सर्वाेच्कृष्ट पुरस्कार प्राप्त गर्नुभयो । 

उहाँको २० वर्षको अनुभवले यो कला तयार भएको सुनाउनुभयो । “मध्यम वर्गीय र तल्लो वर्गीय कलाकारलाई सिर्जना गरेरै दैनिकी धान्न गाह्रै छ । माथिल्लो तह जसले कामको गुणस्तर दिनसक्छ भने उसको राम्रो छ”, उहाँले भन्नुभयो । उहाँले यसको मूल्य नतोके पनि १० लाखभन्दा बढी पर्ने बताउनुभयो । उहाँले यो कला विदेश पठाउने तयारी गर्नुभएको छ । तुलाधरलाई यसरी परम्परागत काष्ठमूर्तिकला कतिले गर्छन् भनेर खासै थाहा छैन । आफ्नो कुरा गर्दा उहाँ बुबाबाटै सीप सिकेको भए पनि स्वर्गीय लक्ष्मण महर्जनको कामको रस समाएको सुनाउनुहुन्छ । भन्नुहुन्छ, “मैले लक्ष्मण महर्जनकै रस लिएको हो, उहाँ जत्तिको काष्ठकलामा कोही छैन जस्तो लाग्छ । रासस