गोरखापत्र अनलाइन
काठमाडौं, जेठ २८ गते । पारिवारिक निजी वन सङ्घ, नेपालको तेस्रो राष्ट्रिय महाधिवेशन काठमाडौंमा सुरुभएको छ । महाधिवेशनले ४९ सदस्यीय नयाँ कार्य समिति चयन गर्नेछ ।
महाधिवेशनको उदघाटन उपराष्ट्रपति रामसहायप्रसाद यादवले एक समारोहबिच सोमबार गर्नुभयो । सो अवसरमा उहाँले निजी वनको दिगो व्यवस्थापनको खाँचो रहेको बताउनुभयो । निजी वनको सही सदुपयोग गर्न सके मुलुकको आर्थिक समृद्धि कायम गर्नमा सहयोग पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
प्रतिनिधिसभाका सदस्य नारायणी शर्माले वन मानिसको जीवनको शक्ति भएकाले त्यसको सही सदुपयोगको खाँचो रहेको बताउनुभयो । वनको विकास र संरक्षणमा सबैले आफ्नो ठाउँबाट सहोग गर्नुपर्ने उहाँले प्रष्ट पार्नुभयो । वनभित्रको काठ कुहिएर खेर जानुभन्दा त्यसको सदुपयोग गरी आर्थिक लाभ लिनुपर्ने उहाँले बताउनुभयो ।
प्रतिनिधिसभाका सदस्य सूर्यप्रसाद ढकालले गाँजाखेतीलाई व्यवस्थित गर्न सके एक खर्ब बरावरको वार्षिक राजस्व सङ्कलन हुने बताउनुभयो । देशको समृद्धि वन क्षेत्रको विकाससँग जोडिएकाले त्यसबारेमा सही नीति नियम बनाई त्यसको सदुपयोग गर्नुपर्ने उहाँले बताउनुभयो ।
सङ्घका अध्यक्ष जोगराज गिरीको सभापतित्वमा भएको कार्यक्रममा घनश्याम पाण्डे, भारती पाठकलगायतले धारणा राख्नुभएको थियो । महाधिवेशनमा देशभरबाट ५ सय प्रतिनिधिले भाग लिनुभएको छ । सात जिल्ला बाहेक मुलुकभर ७० जिल्लामा सङ्घको जिल्ला कार्यालय रहेको अध्यक्ष गिरीले बताउनुभयो ।
उहाँका अनुसार सङ्घको जिल्ला समिति नभएका जिल्लाहरुमा सोलुखुम्बु, ओखलढुङ्गा, ललितपुर, रोल्पा, डोल्पा, मुस्ताङ र मनाङ हुन् । आज सुरु भएको महाधिवेशनको उदघाटनसत्र आज सम्पन्न भए पनि बन्दसत्र मङ्गलबार हुनेछ । बन्द सत्रले ४९ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ । पुनः जोगराज गिरीलाई अध्यक्षको जिम्मेवारी दिने सम्भावना रहेको महाधिवेशनमा उपस्थित प्रतिनिधिहरुको भनाइ छ ।