• १२ साउन २०८१, शनिबार

सबैको सहयोगबाट लागूऔषधमुक्त समाज

blog

लागूऔषधमुक्त समाज बनाउन प्रहरीसाझेदारी कार्यक्रमअन्तर्गत सरोकारवालाहरूले जन जागरण कार्यक्रम । तस्बिर: जीवछ यादव

जीवछ यादव
लहान, जेठ २८ गते । 
सिरहा जिल्लामा १६ देखि २५ वर्षका युवाहरू लागूऔषधको दुर्व्यसनीमा लाग्ने युवाहरूको सङ्ख्या अत्यधिक देखिएको छ । लागूऔषध नियन्त्रण गर्न प्रहरीले जति प्रयास गरेपनि सफल हुन नसक्ने देखिएकोले सरोकारवाला सबैको सहयोगमा मात्रै लागूऔषधमुक्त समाज निर्माण गर्न सकिने सिरहा जिल्ला प्रहरीले बताएको छ ।

प्रहरीको साझा साझेदारी कार्यक्रमअन्तर्गत जिल्ल प्रशासन कार्यालय सिरहा र जिल्ला प्रहरी कार्यालय सिरहाले सरोकारवालाहरू अभिभावक सामुदायिक विद्यालयका प्रधानाध्यापक र संस्थागत विद्यालयहरूको सञ्चालकहरूसँग लहान नगरपालिकाको सहयोगमा लागूऔषधमुक्त समाज निर्माणका लागि लागू औषध नियन्त्रण तथा अपराध नियन्त्रण सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।

जिल्ला प्रहरी प्रमुख रमेश पण्डितले सिरहामा विगत पाँच वर्षको तथ्याङ्क हेर्दा अवस्था डरलाग्दो छ । खास गरेर १६ देखि २५ वर्षका युवाहरू लागूऔषध दुर्व्यसनीमा लागेका सङ्ख्या उल्लेखनीय रहेको बताउनुभयो । उहाँको अनुसार प्रहरीले जति सक्रियता देखाएपनि एक्लैले लागू औषधमुक्त समाज बनाउन सक्ने अवस्था छैन । घरदेखि विद्यालय, विद्यालयदेखि साथीहरूसँग कहाँ गयो कस्तो बानी ब्यहोरा र सङ्गतमा परेको हो निगरानी गर्नुपर्ने भएकोले प्रहरी एक्लैको प्रयासबाट सम्भव छैन । आमाबाबु घर परिवार र विद्यालयका शिक्षकहरूले निगरानी गर्नुका साथै प्रहरीलाई समयमा नै सूचना उपलब्ध नगराए लागू औषध नियन्त्रण हुन कठिन छ ।

२०७९/८० को तथ्याङ्क अनुसार १७३ मुद्दा दर्ता ११ हजार ७३ एम्फु बरामद, चार हजार ४१ ट्याब्लेट, ३४१ किलो ३५० ग्राम गाजा, एक हजार १६५ बोटल, ब्राउन सुगर १७० ग्राम, ४८१ मिलिग्राम, चरेस २ ग्राम ७७० मिलिग्राम, स्पासप्रो ५८४ ग्राम क्याप्सुल प्रहरीले निमन्त्रणमा लिएको थियो भने हालसम्म २०८०/०८१ म १०७ मुद्दा दर्ता चार हजार १४ एम्पुल, दुई हजार ३०६ टयावलेट, १८७ किलो ८५२ ग्राम गाजा, २४८ बोटल कोडिन, १५३ ग्राम ३५७ मिलिग्राम ब्राउन सुगर, ६४१ प्रोमेथाजिन प्रहरीले बरामद गरिएको छ ।

जिल्लाको तथ्याङ्क डरलाग्दो रहेको प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालले भन्दै अब हामी सिरहा जिल्लाका सरोकारवालाहरू चुज लागेर बस्न नहुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘अपराधमुक्त समाज बनाउन लागू औषधमुक्त समाज घोषणा गर्न आवश्यक छ । यसका लागि प्रहरी प्रशासनको प्रयासले मात्रै पुग्दैन । जसरी खुल्ला दिसामुक्त समाज बनाउन सबैको पहल आवश्यक रहेको थियो लागू औषधमुक्त समाज निर्माणका लागि सबैको उतिकै भूमिका छ । वडा स्तरीय समिति बनाएर भए पनि लागू औषध नियन्त्रण गर्न लाग्न प्रहरी प्रशासनले पहिलेपटक कार्यक्रम लिएर आएको छ ।’’

प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत लागू औषधमुक्त समाज निर्माणका लागि लहान नगरपालिकाले नीति तथा कार्यक्रममा उल्लेख गरी बजेट विनियोजन गरेर प्रहरीसँग मिलेर शिक्षक अभिभाकहरुसँग सल्लाह गरेर अघि बढ्ने लहान नगरप्रमुख महेश प्रसाद चौधरीले धारणा व्यक्त गर्नुभयो ।

कार्यक्रममा सामुदायिक विद्यालयहरूको तर्फबाट बलराम सिंह, संस्थागत विद्यालयहरूको तर्फबाट चक्र दाहाल नेपाल पत्रकार महासङ्घ सिरहाका अध्यक्ष मनोज बनैता यादवले यस अभियानमा सक्रियतापूर्वक लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।