• १३ साउन २०८१, आइतबार

अन्तर्राष्ट्रिय विमानस्थलमा आधा घण्टा सङ्कटकालीन योजनाको अभ्यास

blog

काठमाडौं, जेठ २८ गते । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा सोमबार दिउँसो १ बजेदेखि १ः३० सम्म विमानस्थल सङ्कटकालीन योजनाको अभ्यास हुने भएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाका अनुसार अन्तर्राष्ट्रिय मापदण्ड अनुसार हरेक वर्ष आपतकालीन अवस्थामा सम्बन्धित सबै निकायले कस्तो भूमिका निर्वाह गर्ने भनेर पनि यो अभ्यास गर्नुपर्दछ ।

उहाँले भन्नुभयो, “यो इमर्जेन्सी एक्सरसाइज हो । अन्तर्राष्ट्रिय रिक्वायर्ड अनुसार एयरपोर्टमा हरेक वर्ष अभ्यास गर्नुपर्छ । आपतकालीन अवस्थामा सबै निकायले कस्तो भूमिका निर्वाह गर्ने हो, त्यसका लागि एउटा काल्पनिक घटना कल्पना गरेर त्यस्तो घटना घटेको बेला रेस्क्यु, फायर फाइटिङ, मेडिकल चेकअप लगायत यी सबै कुराको परीक्षण गर्नका लागि डकुमेन्ट तयार भएको छ ।”

उहाँले सो डकुमेन्ट अनुसार अभ्यास गरिने र नयाँ घटनाको आधारमा संशोधन गरिने बताउनुभयो ।

उहाँले भन्नुभयो, “इमर्जेन्सीमा तयार अवस्थामा रहनको लागि गरिने एउटा ड्रिल हो यो ।” उहाँले यो समयमा सकेसम्म रन वेमा अवरोध नहुने उद्देश्यले अभ्यास गरिने बताउनुभयो ।

उहाँले भन्नुभयो, “साँच्चिकै घटना भएको भए आवतजावत रोकिन्छ । तर, यो अभ्यास भएकाले परिस्थितिको गम्भीरता हेरेर हुन्छ । आगो बल्ट, धुँवा निस्कन्छ, यस्तो बेला डिस्टर्व पनि हुन सक्छ भनेर हामीले सूचना निकालेका छौं । रन वेको छेउमा हुने भएकोले हामी अवरोध नहुने गरी गर्छौं ।”