• १२ साउन २०८१, शनिबार

स्याङ्जा पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

blog

अर्जुन काफ्ले

स्याङ्जा, जेठ २८ गते । स्याङ्जा जिल्लालाई प्रदेशकै दोस्रो पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । चापाकोट नगरपालिकाले चैत २८ गते पूर्ण खोप सुनिश्चितता घोषणाको सुरुवात र फेदिखोला गाउँपालिकाले जेठ ७ गते गरेर सबै पालिकामा सकिएसगै पूर्णखोप सुनिश्चित तथा दिगोपना प्रमाणीकरण जिल्ला घोषणाका लागि बाटो खुल्ला भएको हो । 

११ वटा स्थानीय तहमा जन्मेदेखि १५ महिनासम्मका ती हजार ४५७ जना र १६ महिनादेखि ५९ महिनासम्मका १० हजार ६३१ जना बालबालिकाले पूर्ण खोप लगाएसँगै म्याग्दीपछि खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको हो । स्याङ्जालाई पूर्णखोप सुनिश्चित तथा दिगोपना जिल्लाको घोषणा जिल्ला पूर्ण खोप समन्वय समितीका अध्यक्ष तथा जिल्ला समन्वय समिती स्याङ्जाका प्रमुख श्रीप्रसाद जिटिले गर्नुभएको हो । 

सोमबार जिल्ला समन्वय समितिको सभाहलमा स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चित हाम्रो प्रतिबद्धता भन्ने मूल नारासहित जिल्लालाई पूर्णखोप सुनिश्चित तथा दिगोपना प्रमाणीकरण घोषणा कार्यक्रममा पूर्ण खोप सुनिश्चितताको प्रमाणपत्र स्याङ्जाले प्राप्त गरेसङ्गै जिल्लामा कुनै पनि अवस्था र परिस्थितिमा कुनै पनि बालबालिकालाई कुनै पनि खोप लिनबाट वञ्चित नरहेको मान्न सकिने जिटिले बताउनुभयो । यहाँ पुतलीबजार नगरपालिकाका एक हजार ८२२ जना, वालिङ् नगरपालिकाका दुई हजार १५४ जना, चापाकोट नगरपालिकाका एक ९१ जना, भीरकोट नगरपालिकाका ९३० जना, गल्याङ  नगरपालिकाका १२२३ जना, फेदिखोला गाउँपालिकाका ४२५ जना, आँधीखोला गाउँपालिकाका ५७५ जना, अर्जुनचौपारी गाउँपालिकाका ६०९  जना, हरिनास गाउँपालिकाका ४९६ जना, बिरुवा गाउँपालिकाका पाँच सय जना र काली गण्डकी गाउँपालिकाका ८०६ जना बालबालिकाले खोप प्राप्त गरेको स्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख केशवप्रसाद चापागाईंले बताउनुभयो । 

स्वास्थ्य कार्यालय प्रमुख चापागाईंले बालबालिकाले विसीजी, रोटा, पीसीभी, डिपिटि, हेप–बी, एफआईपीभी, पोलियो, दादुरा, रुवेला, जापनिज, जेई लगायत १३ प्रकारका खोपको पूर्ण मात्रा पाएको बताउनुभयो । त्यस्तै, खोप कार्ड नभएर खोप लाउन छुटेका १६ जना बालबालिकालाई समेत लगाइने प्रमुख चापागाईंले बताउनुभयो । 

कार्यक्रममा पूर्णखोप सुनिश्चित घोषणा गर्न अतुलनीय भूमिका निर्वाह गर्ने उत्कृष्ट स्वास्थ्यकर्मीहरुलाई सम्मान पत्रले, स्वास्थ्य संस्थाहरुलाई प्रशंसा पत्रले र स्थानीय तह पालिकाहरुलाई गण्डकी प्रदेश सामाजिक विकास तथा मन्त्रालयका सचिव डा. विनोदबिन्दु शर्मा लगायतद्वारा कदरपत्रले सम्मान गरिएको थियो ।