• १२ साउन २०८१, शनिबार

प्रधानमन्त्री प्रचण्ड भारतीय प्रधानमन्त्रीको शपथ समारोहमा सरिक

blog

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ (बायाँबाट पहिलो), भारतका राष्ट्रपति द्रौपदी मुर्मु -(बायाँबाट पाँचौँ) र भारतका प्रधानमन्त्री नरेन्द्र मोदी (बायाँबाट छैटौँ) आइतबार नयाँदिल्लीमा आयोजित शपथग्रहण समारोहपछि अन्य अतिथिका साथ सामूहिक तस्बिरमा ।

काठमाडौँ, जेठ २८ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुनुभएको छ ।

प्रधानमन्त्री  प्रचण्ड भारतीय राष्ट्रपति भवनको प्राङ्गणमा शनिबार साँझ आयोजित विशेष समारोहमा सहभागी हुनुभएको  हो ।

प्रधानमन्त्री मोदीलाई तेस्रो कार्यकालका लागि राष्ट्रपति द्रोपदी मुर्मुले पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।

शपथ ग्रहण समारोहमा नेपालका प्रधानमन्त्री प्रचण्ड, श्रीलङ्काका राष्ट्रपति रणील विक्रमासिङ्गे, मालदिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जु, बङ्गलादेशका प्रधानमन्त्री शेख हसिना, भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे, मौरिससका प्रधानमन्त्री प्रबिन्द जुग्नौथलगायत विशिष्ट अतिथि उपस्थित हुनुहुन्थ्यो ।

यसैगरी, समारोहमा भारतका विभिन्न राजनीतिक दलका नेता तथा लब्धप्रतिष्ठित व्यक्तित्वहरुको सहभागिता थियो । सोही समारोहमा भारतका नवनियुक्त मन्त्रीहरुले समेत पद तथा गोपनीयताको शपथ लिनुभएको थियो ।

प्रधानमन्त्री प्रचण्डले भारतका प्रधानमन्त्री मोदीको निमन्त्रणामा शपथग्रहण समारोहमा सहभागी हुनुभई शुभकामना व्यक्त गर्नुभएको छ । 

भारतमा सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको गठबन्धनले बहुमत ल्याएपछि नरेन्द्र मोदीले तेस्रो कार्यकालका लागि आइतबार प्रधानमन्त्रीका रूपमा शपथ लिनुभएको हो । 

भारतीय जनता पार्टी नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडिए) का संसदीय दलका नेता मोदीले आइतबार नयाँदिल्लीमा विभिन्न राष्ट्रका प्रमुख तथा सरकार प्रमुखको उपस्थितिमा आयोजित विशेष समारोहमा शपथग्रहण गर्नुभएको हो ।  

मोदी सन् २०१४ मा पहिलो पटक र सन् २०१९ मा दोस्रो कार्यकालका लागि प्रधानमन्त्री निर्वाचित हुनुभएको थियो । भाजपासहितको राष्ट्रिय लोकतान्त्रिक गठबन्धनले लोकसभाका ५४३ मध्ये २९३ सिटमा जित हासिल गरेपछि उहाँकै नेतृत्वमा सरकार गठन भएको हो । 

यो पनि पढ्नुहोस

प्रधानमन्त्री प्रचण्ड भारत प्रस्थान (फोटो फिचर)

नेहरूपछि मोदीको तीन कार्यकाल

सन् १९५० मा जन्मिनुभएका प्रधानमन्त्री मोदी वाराणसीबाट तेस्रो पटक विजयी हुनुभयो । उहाँले तेस्रो कार्यकाल सुरु गरेसँगै भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरूको तीन कार्यकालसँग बराबरी भएको छ । 

भारतमा लोकतन्त्र प्राप्तिपछि तत्कालीन प्रधानमन्त्रीद्वय इन्दिरा गान्धी र मनमोहन सिंह दुई-दुई पटक प्रधानमन्त्री बन्नुभयो । मोदी नेतृत्वको गठबन्धनले सन् २०१४ मा भाजपाको २८२ सहित ३३६ सिट र सन् २०१९ मा भाजपाको ३०३ सहित ३५२ सिटमा जित हासिल गरेको थियो । 

यस पटक पनि भारतीय राष्ट्रिय कांग्रेस नेतृत्वको ‘भारतीय राष्ट्रिय विकास समावेशी (इन्डिया) गठबन्धन’ र भाजपा नेतृत्वको एनडिएबिच प्रतिस्पर्धा भएको थियो । कांग्रेसको ९९ सहित इन्डिया गठबन्धनले २३४ सिटमा जित हासिल गरेको छ ।