• १३ साउन २०८१, आइतबार

सुनको भन्सार वृद्धि खारेज गर्न माग

blog

काठमाडौँ, जेठ २७ गते । सुनचाँदी व्यवसायमा आबद्ध तीन वटा प्रतिनिधिमूलक संस्थाले सुन आयातमा गरिएको भन्सार वृद्धिको निर्णय खारेज गर्न सरकारसँग आग्रह गरेका छन् । नेपाल सुनचाँदी व्यवसायी महासङ्घ, नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घ र नेपाल हस्तकला सङ्घको संयुक्त टोलीले शुक्रबार अर्थमन्त्री वर्षमान पुनः सँग भेट गरी सरकारले आव २०८१/८२ को भन्सार विधेयकमार्फत सुनको आयातमा लाग्दै आएको १५ प्रतिशतको भन्सार दरलाई वृद्धि गरी २० प्रतिशत कायम गरिएकोमा विरोध गर्दै त्यसलाई खारेज गर्न माग गरेको हो । 

अर्थमन्त्री पुनले व्यवसायीको मागलाई आफूले सकारात्मक रूपमा लिएको उल्लेख गर्दै व्यवसायीले राखेका समस्यालाई कसरी समाधान गर्न सकिन्न त्यस विषयमा आवश्यक पहल गर्ने बताउनुभयो । सो अवसरमा नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अध्यक्ष माणिकरत्न शाक्यले सुनमा वृद्धि गरिएको भन्सार खारेज गर्नुपर्ने बताउनुभयो । 

मुलुकभरका सुनचाँदी व्यवसायीसँग प्रत्यक्ष रूपमा जोडिएको र आआफ्नो धर्म, संस्कृति र परम्परा अनुसार मानिसलाई जन्मदेखि मृत्युसम्म कुनै न कुनै रूपमा आवश्यक पर्ने सुन जस्तो संवेदनशील वस्तुमा यसरी निरन्तर रूपमा भन्सार दर वृद्धि भएकोमा हामी तीन वटै महासङ्घको गम्भीर ध्यानाकर्षण भएको बताउनुभयो । गत वर्ष पनि सरकारले भन्सार महसुल विधेयक २०८० मार्फत सुनको आयातमा लाग्ने भन्सार महसुल वृद्धि गरेको थियो । विश्व बजारमा निर्यात प्रतिस्पर्धामा उत्रन कठिनाइ भइरहेको अवस्थामा  एकाएक भन्सार दर वृद्धि गरिएपछि सिङ्गो सुनचाँदी व्यवसायमा ठुलो समस्या पर्ने अवस्था सिर्जना भएको उहाँको भनाइ छ ।