• १३ साउन २०८१, आइतबार

तेस्रो ठुलो सबस्टेसन तयार

blog

काठमाडौँ, जेठ २७ गते । पूर्व इनरुवादेखि पश्चिम नवलपरासीसम्म प्रत्यक्ष र समग्र पूर्वपश्चिम विद्युत् वितरणमै अप्रत्यक्ष गुणस्तर सुधार गर्ने देशकै ठुलो तेस्रो सबस्टेसन निर्माण भएको छ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११, थानाभर्‍याङमा ४०० केभी  हेटौँडा सबस्टेसन निर्माण सम्पन्न भएर चार्ज गरिएको हो ।

ग्यास इन्सुलेटेड प्रणाली (जिआइएस) प्रविधिमा आधारित स्वचालित यो सबस्टेसन र यसमा जोडिएका प्रसारण तथा वितरण लाइनले विद्युत्को स्थानीय वितरणदेखि भारत निर्यातलाई समेत स्तरोन्नति गर्ने छ । यो सबस्टेसनसँगै नेपाल–भारत विद्युत् प्रसारण तथा व्यापार आयोजनाबाट थानाभर्‍याङमै बनेको २२० र १३२/११ केभी क्षमताका सबस्टेसन पनि शुक्रबार नै चार्ज गरिएको छ । ढल्केबर मुलुककै पहिलो, इनरुवा दोस्रो र हेटौँडा तेस्रो ठुलो सबस्टेसन हो ।

यो सबस्टेसनले करिब चार हजार मेगावाट विद्युत् व्यवस्थापन गर्न सक्छ । अब हेटौँडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइन तयार भयो भने न्यु बुटवल सबस्टेसन (नवलपरासी) सम्मको पर्याप्त क्षमतासहितको र दिगो विद्युत् आपूर्ति प्रणाली स्थापित हुने छ,” नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भन्नुभयो, “मध्य क्षेत्रका नदी कोरिडोरका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण ग्रिडमा प्रवाह गरी देशभित्र खपत र बाँकी हुने विद्युत् हेटौँडा– ढल्केबर ४०० केभी प्रसारण लाइनमार्फत भारततर्फ निर्यात गर्न सहज हुने छ ।”

राष्ट्रिय ऊर्जा सङ्कट निवारण तथा विद्युत् विकास दशकसम्बन्धी अवधारणापत्र २०७२ मै यो परियोजना निर्माण गर्ने तय भएको थियो । तर अहिले सबस्टेसन तयार भयो तर प्रसारण लाइन भने पूरा हुन सकेको छैन । आयोजना अन्तर्गत ढल्केबर–इनरुवा खण्ड निर्माण अन्तिम चरणमा छ भने हेटौँडा–ढल्केबर खण्ड निर्माणाधीन अवस्थामै अल्झिरहेको छ । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १५, १६, १७ र ११ मा वर्षौंदेखि स्थानीयले अवरोध गरेका कारण प्रसारण लाइन निर्माण सम्पन्न हुन सकिरहेको छैन । अवरोध नभएका ठाउँमा भने निर्माण भइरहेको छ । 

कार्यकारी निर्देशक घिसिङका अनुसार हेटौँडा सबस्टेसनलाई भविष्यमा आवश्यकता अनुसार थप विस्तार गर्दै जान मिल्ने गरी निर्माण गरिएको छ । अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) बाट नुवाकोटको रातमाटेबाट निर्माण हुने ४०० केभीको डबल सर्किट प्रसारण लाइन हेटौँडा सबस्टेसनमा ल्याएर जोडिने छ । यसका लागि हेटौँडा सबस्टेसनमा आवश्यक पूर्वाधार संरचना निर्माण गरिसकिएको आयोजना प्रमुख आयोजना प्रमुख शुक्र देवकोटाले जानकारी दिनुभयो ।  

हेटौँडा ४०० केभी सबस्टेसन निर्माणका लागि डिसेम्बर २०१८ मा ठेक्का सम्झौता गरिएको थियो । सरकार तथा नेपाल विद्युत् प्राधिकरणको लगानी र विश्व बैङ्कको सहुलियतपूर्ण ऋणमा नेपाल–भारत विद्युत् प्रसारण तथा व्यापार आयोजना मातहत यो निर्माण गरिएको हो । 

४००, २२० र १३२ केभी हेटौँडा सबस्टेसनको अनुमानित लागत तीन अर्ब रुपियाँ रहेको छ ।