• १३ साउन २०८१, आइतबार

नेपालको विकास गरी युवा फर्काउँछौँ : अध्यक्ष ओली

blog

‘नेपालमा पर्यटन: अवस्था, चुनौती र सम्भावना’ पुस्तक लोकार्पण गर्नुहुँदै अध्यक्ष ओली ।

गोरखापत्र अनलाइन

काठमाडौं, जेठ २६ गते । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरू कामको खोजीमा विदेश गए पनि नेपाललाई बनाएर पुनः नेपाल फर्काइने बताउनुभएको छ । नेपालको विकास गरेर युवा जनशक्तिलाई यही रोजगारी सुनिश्चित गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो ।

एमालेको पर्यटन, प्रवर्धन तथा नागरिक उड्डयन विभागद्वारा आयोजित पुस्तक विमोचन तथा सम्मान कार्यक्रममा शनिबार उहाँले सो कुरा बताउनुभएको हो । सो विभागले ‘नेपालमा पर्यटन: अवस्था, चुनौती र सम्भावना’ पुस्तक प्रकाशन गरेको छ । सो पुस्तकको अध्यक्ष ओलीले आज विमोचन गर्नुभयो । 

अध्यक्ष ओलीले भन्नुभयो, “देशको वर्तमान अवस्थासँग मानिसको चित्त बुझेको छैन, कामको खोजीमा युवाहरू विदेश पलायन भइरहेका छन्, तर म भन्न चाहन्छु यो मुलुकलाई हामी बनाउँछौँ, बनाउन सकिन्छ । देश बनाएर युवालाई पुनः यही भूमिमा फर्काउँछौँ ।” अन्य देशको भौतिक सुख सुविधा र आकर्षण क्षणिक भएको उहाँले चर्चा गर्नुभयो । 

नेपालमा अब २०.२६ प्रतिशत नागरिक निरपेक्ष गरिबीको रेखामुनी रहेको विषय दुःखद भए पनि त्यसलाई हटाउन अब समय नलाग्ने उहाँले बताउनुभयो । “गरिबी हटाएर नेपाललाई शान्तिपूर्ण, न्यायोचित समाज बनाउन चाहन्छौँ, त्यो हामी बनाएर देखाउँछौँ” उहाँले भन्नुभयो, “यहाँ गरिबीभन्दा अभाव मानवीयता र मानताको छ, त्यसलाई पनि बदल्नुपर्नेछ ।”

नेपालको संसद अहिले दोषारोपण, झगडा गर्ने थलो बनेको छ, जोकि त्यहाँ जनताका समस्या, देशको समृद्धिको विषयमा गम्भीर छलफल गरेर निचोडमा पुग्नुपर्ने थियो, त्यसलाई पनि सुधार्नुपर्ने अवस्था छ ।

नेपालको गरिबी र समृद्धिका विषयमा गम्भीर छलफल गर्नुपर्ने थलो आज झगडा गर्ने थलोको रूपमा परिणत भएको उहाँले टिप्पणी गर्नुभयो । “नेपालको संसद् अहिले दोषारोपण, झगडा गर्ने थलो बनेको छ, जोकि त्यहाँ जनताका समस्या, देशको समृद्धिको विषयमा गम्भीर छलफल गरेर निचोडमा पुग्नुपर्ने थियो, त्यसलाई पनि सुधार्नुपर्ने अवस्था छ” उहाँले भन्नुभयो । 

नेपालको समृद्धिको एउटा प्रमुख आधार पर्यटन क्षेत्र भएकाले त्यस क्षेत्रमा सबैको योगदानको खाँचो रहेको उहाँले चर्चा गर्नुभयो । पर्यटन भित्र्याउन यहाँको धार्मिक क्षेत्र, प्राकृतिक र सांस्कृतिक क्षेत्र महत्त्वपूर्ण भएको उहाँले चर्चा गर्नुभयो । 

“धर्मको उदय यहीँबाट भयो, ज्ञान, तप र योगको प्रादुर्भाव यहीँबाट भयो उहाँले भन्नुभयो, “शिव, पार्वती, राम, सीता, बुद्ध, ऋषि, महर्षि र ब्रम्हऋषिहरुको जन्म यही भयो, यही ज्ञान प्राप्त गर्नुभयो । बुद्ध  र बुद्धिजमको विकास यही भूमिमा भयो, त्यसैले यो पवित्र भूमि हो” उहाँले थप्नुभयो, “भगवान् राम हाम्रो ज्वाइँ होइन, हाम्रा आफ्नै हजुरबुवा हुनुहुन्छ । श्रवणकुमार यही भूमिमा जन्मेर आफ्ना बुवाआमाको लालनपालन गर्नुभयो ।”

नेपालको पर्यटन क्षेत्रको विकास देशको आर्थिक समृद्धिको मेरुदण्ड भएकाले यस क्षेत्रको विकासका लागि लाग्नुभएका सबै क्षेत्र, समुदाय र व्यवसायीहरूलाई उहाँले धन्यवाद व्यक्त गर्नुभयो । पर्यटन क्षेत्रको विकासमा हातेमालो गर्न पनि उहाँले आग्रह गर्नुभयो ।

विभागका संयोजक तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले नेपालको पर्यटन क्षेत्रको इतिहास निकै छोटो भए पनि अथाह सम्भावना भएको क्षेत्र नेपाल भएको उहाँले चर्चा गर्नुभयो । नेपालमा एक करोड पर्यटक भित्र्याउन सक्ने हो भने नेपालको विकास रातारात सम्भव रहेको उहाँले बताउनुभयो । 

पर्यटन क्षेत्रको सबै कच्चा पदार्थ नेपालमै रहेकाले बाहिरबाट ल्याउनुपर्ने आवश्यकता नभएको बताउँदै उहाँले पर्यटन क्षेत्र नै समृद्धिका व्याकबोन भएको उहाँले बताउनुभयो । अर्को क्षेत्र कृषि पनि नेपाली अर्थतन्त्रको अर्को मेरुदण्ड भएको उहाँले बताउनुभयो । “समाजवादमा समृद्धि बाँड्ने हो, गरिबी बाँडेर मुलुकमा समाजवाद आउँदैन, चीनले विकास गरेको समाजवादबाट नेपालले शिक्षा लिन सक्छ” उहाँले भन्नुभयो । 

पर्यटन, प्रवर्धन तथा नागरिक उड्डयन विभागका अध्यक्ष भीमप्रसाद आचार्यले पर्यटनको विभिन्न १८ विधा समेटेर पुस्तक प्रकाशन गरिएको बताउनुभयो । पर्यटन क्षेत्रमा निजी क्षेत्रको उत्साहजनक सहयोग रहेको चर्चा गर्दै उहाँले सरकार र निजी क्षेत्र हातेमालो गरेरै यस क्षेत्रको विकास हुने बताउनुभयो । 

आज लोकार्पित पुस्तक ८३८ पृष्ठको छ । विभिन्न ६ खण्डमा विभाजित पुस्तकमा पर्यटन क्षेत्रमा दिग्गज मानिएका विज्ञहरूको लेख समेटिएको छ । पुस्तक प्रकाशनमा सहयोग गर्ने पर्यटन व्यवसायी, लेखक तथा विभागका सदस्यहरूलाई प्रसंशापत्र प्रदान गरिएको थियो ।