• १३ साउन २०८१, आइतबार

जसपा महाधिवेशन : पदाधिकारी र सदस्यको उम्मेदवारका लागि मापदण्ड तय

blog

काठमाडौँ, जेठ २६ गते । जनता समाजवादी पार्टी (जसपा) नेपालको प्रथम राष्ट्रिय महाधिवेशनमा पदाधिकारी तथा केन्द्रीय सदस्यको उम्मेदवार बन्न योग्यताको व्यवस्था गरेको छ ।

जेठ २८ गतेदेखि जनकपुरमा हुन लागेको महाधिवेशनमा पदाधिकारी तथा सदस्य पदको उम्मेदवार हुन पार्टी विधानको धारा २५ मा न्यूनतम योग्यता निर्धारण गरिएको जसपा केन्द्रीय विभागका प्रमुख पूर्ण बस्नेतले जानकारी दिनुभयो ।

केन्द्रीय समितिको पदाधिकारीका लागि उम्मेदवार हुन केन्द्रीय समितिको सदस्य वा प्रदेश/राष्ट्रिय समितिको अध्यक्ष भई कम्तीमा पाँच वर्ष काम गरेको हुनुपर्ने छ । यसैगरी केन्द्रीय समितिको सदस्यको उम्मेदवार बन्न सङ्गठित पार्टी सदस्य भई कम्तीमा १० वर्ष पार्टी सदस्य भएर केन्द्रीय समिति वा केन्द्रीय निकाय वा प्रदेश/राष्ट्रिय समितिको सदस्य वा केन्द्रीय विभागको सदस्य वा जिल्ला समितिको पदाधिकारी वा जनवर्गीय सङ्गठनको केन्द्रीय पदाधिकारी भई एक कार्यकाल वा लगातार पाँच वर्षसम्म काम गरेको हुनुपर्ने व्यवस्था गरिएको छ ।

प्रमुख बस्नेतका अनुसार महिला, दलित, श्रमिक, मधेशी, आदिवासी जनजाति, थारु, मुस्लिम र अपाङ्गता भएका व्यक्तिको हकमा भने लगातार पाँच वर्ष वा एक कार्यकाल जिल्ला समिति वा प्रदेश/राष्ट्रिय समिति वा जनवर्गीय सङ्गठनका केन्द्रीय समितिका पदाधिकारी भई काम गरेको भए पुग्ने छ ।