• १५ कात्तिक २०८१, बिहिबार

बाघलाई जङ्गल कि खोर

blog

बाघ मांसाहारी प्राणी हो । जङ्गलको राजा बाघ बरु भोकै मर्न सक्छ तर कहिल्यै घाँस खाँदैन भन्ने नेपाली उखान नै छ । अरूले मारेको सिनो नखाने विशेषतासँग बाघको आनीबानीलाई जोडिने गरिन्छ । जङ्गलमा भएका जोकोहीको पनि उसले सिकार गर्छ; चाहे ती साना जनावर हुन् वा हात्ती, गैँडा जस्ता ठुला जनावर । शक्ति, सामथ्र्यले भ्याएसम्म बाघले जङ्गलमा भेटिएका सबै जनावरको सिकार गर्छ र आफू बाँच्न खोज्छ । त्यसैले बाघलाई जङ्गलको राजा भनिएको हो । ज्यान ठुलो हुने हिसाबले त बाघभन्दा ठुलो ज्यान हात्ती र गैँडाको पनि हुने गर्छ । हात्ती र गैँडा शाकाहारी भएकाले ती जनावरसँग ज्यान लिने डर अरू जनावरलाई हुँदैन । बाघले भने लखेटी लखेटी सिकार गर्ने भएकाले जङ्गलभित्र उसको छुट्टै राज हुनु स्वाभाविक पनि मानिन्छ । व्यवस्थित र पूर्ण रूपमा स्वच्छ पारिस्थितिकीय प्रणालीभित्रका उपल्लो प्रजाति (छाता प्रजाति) का रूपमा बाघलाई लिइने गरिन्छ । बाघ बस्न सक्ने वनजङ्गलको पारिस्थितिकीय प्रणाली सम्पन्न र स्वच्छ वातावरण भएको मानिन्छ । कीटपतिङ्गरदेखि लिएर सबै जनावर बाँच्न सक्ने घाँस, पानी, आहारविहारका लागि उपयुक्त वातावरण भएको वनजङ्गल मात्र बाघको उपयुक्त बासस्थान मानिने भएकाले बाघ बाँच्न सक्ने जङ्गलमा अरू सबै वन्यजन्तु बाँच्न सक्छन् । 

करिब एक सय वर्षअघि विश्वभरि एक लाखभन्दा बढी बाघ प्राकृतिक बासस्थानमा अस्तित्वमा रहेको रेकर्ड पाइन्छ । सन् २०१० मा आइपुग्दा त्यो सङ्ख्या घटेर तीन हजारमा सीमित हुन पुग्यो । चिडियाखानामा बाघ जताततै देख्न सकिए पनि प्राकृतिक बासस्थानमा बाघ अहिले नेपाललगायतका विश्वका १३ वटा मुलुकमा मात्र पाइने गरेको छ । नेपालबाहेक भारत, भुटान, रुस, बङ्गलादेश, म्यानमार, मलेसिया, इन्डोनेसिया, लाओस, कम्बोडिया, थाइल्यान्ड र भियतनाममा मात्र प्राकृतिक अवस्थामा बाघको अस्तित्व रहेको छ । नेपालमा सन् २००९ को बाघको गणना हुँदा १२१ वटा बाघ थिए । बाघ संरक्षणमा उत्कृष्ट काम गरेको नेपालले सन् २०२२ मा बाघ गणना गर्दा ३५५ पु¥याएको छ ।  बाघ बिरालो प्रजातिको जनावर हो । यसले एक बेतमा दुई/तीन वटासम्म बच्चा जन्माउन सक्छ । एकातिर जङ्गली जनावर अर्कातिर मांसाहारी भएकाले यसका बच्चाको मृत्युदरको विषय भने अझै गर्भमै रहेको छ । तथापि सुरक्षित बासस्थान र प्रशस्त आहारा पाइरह्यो भने बाघले बच्चा त बिरालोले जस्तै जन्माउन सक्ने स्थितिले गर्दा नेपालले अन्तर्राष्ट्रिय मञ्चमा सन् २०२२ सम्ममा बाघको सङ्ख्या दोब्बर पार्ने प्रतिबद्धता गरे पनि प्रतिफल भने झन्डै तेब्बर देखियो । 

बाघ बढे, बढ्यो चुनौती 

सन् २०१० यता १२ वर्षको अवधिमा नेपालले २३४ वटा बाघ थप्यो । बाघ बढाएको खुसीसँगै यो अवधिमा बाघबाट नेपाली समाजले ठुलो सङ्ख्यामा मानिस गुमायो । सन् २०१० देखि सन् २०२४ को सुरुवाती अवस्थासम्म सय जनाभन्दा बढी मानिसलाई बाघले आफ्नो आहारा बनाइसकेको छ । 

यति ठुलो सङ्ख्याले बाघको आक्रमणबाट ज्यान गुमाउनुपर्दा तिनका परिवार आफन्तको वियोगमा दुःखी छन् । अभिभावक गुमाएर कतिपय व्यक्ति टुहुरा भएका छन् । दुई सयभन्दा बढी व्यक्तिका शरीरमा बाघको आक्रमणका घाउ छन् । कतिपय व्यक्ति अहिले अपाङ्ग भएर जिउन बाध्य छन् त कतिपय व्यक्ति ओछ्यानमा जिन्दगी काटिरहेका छन् । दुर्लभ वन्यजन्तु बाघ विश्व समुदायका लागि सम्पत्ति हो भनिन्छ तर बाघको बासस्थानवरिपरिका बासिन्दाको स्थिति हेर्दा कति टुहुरा भएका छन् त कति बाघको दाँत र नङ्ग्राको दाग बोकेर अपाङ्ग जीवन व्यतीत गरिरहेका दर्दनाक अवस्था छ । 

वन्यजन्तुबाट विशेष गरी निकुञ्जवरिपरिका गरिबभन्दा पनि गरिब परिवार बढी पीडित हुने गरेका छन् । जुन समुदायले वनजङ्गलमा आश्रित भएर जीवन गुजारा चलाउनु पर्छ, तिनै व्यक्ति बाघलगायतका वन्यजन्तुबाट प्रताडित भइरहेका छन् । जीवन गुजारा चलाउन घाँस, दाउरा अनि पानी, साग, निगुरो टिप्न जङ्गल पसेका व्यक्तिमाथि बाघले हमला गर्ने गरेको छ ।

तितो यथार्थ के हो भने बाघ पाइने जङ्गलवरिपरिका गरिब, विपन्न  समुदायको संरक्षणप्रतिको अगाध सक्रियता, साथ र सहयोगले आज नेपालले यो सफलता हासिल गरेको हो । मुलुकको नाक उँचो राख्न सक्रिय भूमिका निर्वाह गर्ने स्थानीय समुदाय नै बाघको मुखमा मृत्यु साटेर बस्न बाध्य भएका छन् । ज्यान गुमाउँदासमेत पीडितका आफन्तले अझै पनि बाघको संरक्षणमा कुनै सौदाबाजी गरेका छैनन् । स्थानीय समुदायको यो धैर्य भोलिका दिनमा झन् बोझिलो पीडा बन्नु हुँदैन । बरु निकुञ्जभित्रका बाघ स्थानीय समुदायका समृद्धिका आधार बन्नु पर्छ । बाघ पालेर त हाम्रो पनि उन्नति, प्रगति भएको छ भन्ने सन्देश निकुञ्जवरिपरिका गरिब बस्तीमा दिनुपर्ने बेला आएको छ ।   

बागमतीपश्चिममा मात्र बाघको घर 

नेपालका सबै वनजङ्गलमा बाघ पाइँदैन । बाघ पाइने पाँच वटा निश्चित ठाउँ छन् । पर्सा, चितवन, बाँके, बर्दिया र शुक्लाफाँटा निकुञ्ज र ती निकुञ्जसँग जोडिएको आसपासका क्षेत्रमा मात्र बाघ पाइने गरेको छ । रौतहटको बागमतीबाट पूर्व बाघको उपस्थिति अहिले छैन । बाघलाई चाहिने उचित बासस्थान, आहारा प्रजातिको अवस्था नभएकाले पूर्वी नेपाल बाघविहीन छ । पूर्वी नेपालमा हात्ती, चितुवा, ध्वाँसे चितुवा, गौरीगाई, नीलगाई, जङ्गली भैँसी (अर्ना) लगायतका वन्यजन्तु भने पाइने गरेका छन् । 

बागमतीपूर्व तराईको एकमात्र संरक्षित क्षेत्र कोशीटप्पु वन्यजन्तु आरक्षमा हालै एकसिङे गैँडा स्थानान्तरण गरी त्यो क्षेत्रलाई पनि गैँडाको बासस्थान बनाउने प्रयास भएको छ तर बाघको विचरण गर्ने ठुलो भूभाग र आहारा प्रजातिको व्यवस्था कोशीटप्पुमा नभएकाले पूर्वी नेपालमा तत्काल बाघ देख्न सकिने अवस्था निकै कम छ । 

बाघ समस्या कि अवसर ?

संसारभर रहेका एक हजारभन्दा बढी ठुला चिडियाखानामध्ये धेरै जसो चिडियाखानामा बाघ पालिएका छन् तर ती चिडियाखाना बाघ हेर्न भने प्रख्यात छैनन् । पछिल्ला दिनमा बाघ पर्यटनको अवधारणा विकसित भएपछि त प्राकृतिक बासस्थानमा रहेका बाघ हेर्न हप्तौँ र महिनौँ दिन जङ्गलमा पर्यटक, अध्ययन, अनुसन्धानकर्ता र वैज्ञानिकले कुर्ने गरेका घटना सार्वजनिक भइरहेका छन् । नेपालमा आउने विकसित मुलुकका अधिकांश पर्यटकको रोजाइमा चितवन र बर्दिया राष्ट्रिय निकुञ्ज पर्ने गरेको पनि बाघ र एकसिङे गैँडा सहजै देख्न सकिने भएकाले हो । त्यसैले बाघ नेपाल जस्ता मुलुकका लागि अवसर हो भन्न सकिन्छ । संसारमै दुर्लभ मानिएका पाटेबाघ, एकसिङे गैँडा आँखाअगाडि विचरण गरेको देख्न पाउने मुलुकका रूपमा नेपाल चिनिन थालेको कुरालाई अझ व्यापक बनाउन सके प्रकृतिमा आधारित पर्यटन व्यवसायबाट मुलुकले आर्थिक समृद्धि गर्न सक्ने देखिन्छ ।  बाघको औसत आयु १२ देखि १६ वर्ष मानिन्छ । जङ्गलमा आहाराकै लागि हरेक समय सिकारी हुनुपर्ने प्रकृतिप्रदत्त विशेषताले गर्दा बाघ बुढो हुँदै जाँदा दाँत झर्ने, नङ्ग्रा खिइने, रोग लाग्ने, लडाइँ पर्दा घाइते हुनेलगायतका कारण बाघले सिकार गर्न नसक्ने अवस्था आउन थाल्छ । अनि बाघले सहजै सिकारको खोजी गर्दै गर्दा मानव बस्तीनजिक आउने, पाठा, बाख्रा, गाईगोरु खाने, मानिसलाई झम्टिने खालका गतिविधि हुने गर्छन् । यसले गर्दा जङ्गलको राजा बाघ नरभक्षी हुने गर्छ । नरभक्षी बाघ अहिले नेपालको सन्दर्भमा ठुलो चुनौतीका रूपमा खडा हुन थालेको छ । 

नरभक्षी भएका बाघलाई खोरमा राख्ने गरिएको छ । पर्सा, चितवन, बर्दिया, जावलाखेलको चिडियाखाना गरी १६ वटा बाघ खोरमा थुनेर राखिएका छन् । ती बाघको आहाराको व्यवस्था गर्ने गरिएको छ । यसबाट एकातिर बाघको आफैँ सिकार गरेर खाने प्राकृतिक गुणलाई साँघुरो पारिएको छ भने अर्कातिर सिनो नखाने बाघलाई सिनो खुवाएर पाल्नुपर्ने अवस्था आएको छ । त्यसैले बाघलाई समस्याभन्दा अवसरको रूपमा लिन सक्नु पर्छ ।


वैकल्पिक खेती विस्तार

वनजङ्गलवरिपरि बसेर वन्यजन्तुको त्रास सहेर बस्नु साँच्चिकै पीडादायी हुने गर्छ । न लगाएको बाली भिœयाउन पाइन्छ न त रातविरात घरबाहिर निस्किन पाइन्छ । बिउ छर्दा नछर्दै बाँदरले टिपेर खानेदेखि लिएर फलेपछि रातभर जाग्राम बस्दा पनि बाली जोगाउन सकिँदैन । घाँसदाउरा गर्न जङ्गल पसौँ, फर्केर घर आइन्छ कि आइँदैन, ठेगान हुँदैन । वनजङ्गलमा निगुरो, पानीसाग टिप्न जाँदा बाघको आहारा बन्ने हो कि, हात्तीले कुल्चेर मार्ने हो कि भन्ने त्रास हुने गर्छ । यी र यस्तै सास्ती भोग्न नसकेर हुनेखानेहरू त सुरक्षित ठाउँमा बसाइँ सर्ने गर्छन्, हुँदा खानेहरूको जाने ठाउँ नभएपछि वन्यजन्तुसँगको द्वन्द्वमै जीवन गुजार्नुपर्ने हुन्छ । 

पछिल्ला दिनमा बाघको सङ्ख्यासँगै गैँडा र हात्तीको सङ्ख्या पनि वृद्धि भएका छन् । वन्यजन्तुको सङ्ख्या वृद्धिमा एक हदसम्म नेपालले आफ्नो लक्ष्य पूरा गरे पनि अबको कार्ययोजना तिनै वन्यजन्तुबाट पीडित हुने गरेका स्थानीय बासिन्दाको सुरक्षा, खेतीप्रणालीमा सुधार तथा जीविकोपार्जनको व्यवस्थाका लागि हुनु पर्छ । धान, गहुँ, मकै जस्ता अन्न बाली वन्यजन्तुले मन पराउने गरे पनि कतिपय जडीबुटीजन्य तथा सुगन्धित तेलसँग सम्बन्धित बालीलाई वन्यजन्तुले नखाने भएकाले आउँदा दिनमा त्यस्ता खालका बालीनाली लगाउनेतर्फ प्रोत्साहन गरिनु पर्छ । 

पानीसाग, निगुरो टिप्न जानुपर्ने स्थानीय बासिन्दाको अवस्था सुधार गर्न वैकल्पिक सिप तथा रोजगारीका अवसर प्रदान गर्नु पर्छ; जसबाट तरकारी किनेर खाने अवस्था सिर्जना होस् । कृषि प्रणालीमा आश्रित स्थानीय बासिन्दालाई दुर्लभ वन्यजन्तु हेर्न आउने पर्यटकलाई पथ पर्यटकको तालिम, होटल व्यवसायका तालिम प्रदान गर्ने कार्यक्रम सञ्चालन गरिनु पर्छ । 


बासस्थानमा सुधार 

बाघको सङ्ख्या बढ्यो भन्ने समाचारले जति उत्साह दिएको छ, त्यति नै जटिल ढङ्गले बाघ व्यवस्थापनमा चुनौती थपिएका छन् । बाघ हिंस्रक वन्यजन्तु हो । ‘बाघ बरु मर्छ कहिल्यै घाँस खाँदैन’ भन्ने नेपाली समाजमा उखान नै छ । बाघका लागि विचरण क्षेत्र ठुलो हुनु पर्छ । एक दिनमा बाघले झन्डै १० किलोमिटर हिँडडुल गर्नु पर्छ । एउटा वयस्क  बाघलाई एक पटकलाई कम्तीमा १५/१६ किलो मासु चाहिन्छ । एउटा जङ्गलमा एउटा मात्र बाघ बस्न सक्छ । त्यसैले बाघ बढेसँगै बासस्थानको विस्तार र उसको आहारा प्रजातिको सङ्ख्या बढाउने चुनौती नेपालसामु झन् पेचिलो ढङ्गले देखा परेको छ । 

सङ्घीयता कार्यान्वयनसँगै वडादेखि प्रदेशसम्म र प्रदेशदेखि सङ्घीय सरकारसम्म विकासका योजना थामिनसक्नु गरी बढेका छन् । ती सबै योजनाको रोजाइ वनजङ्गल हुने गरेको छ । यसरी हेर्दा हरेक वर्ष वनजङ्गलमाथिको दबाब थेगिनसक्नु छ । त्यस कारणले गर्दा बाघको बासस्थान विस्तार गर्ने भन्ने कुरा त्यति सहज त छैन तर जसरी नेपालले बाघको सङ्ख्या बढायो, अब बासस्थान विस्तार र सुधार गर्नुको विकल्प पनि छैन । बासस्थान भएन, आहारा भएन भने स्वाभाविक रूपमा बाघ बस्तीमा पस्छ, बाघले खाने कि मान्छे हो कि घरपालुवा जनावर हो । त्यो स्थिति आयो भने बाघ संरक्षणप्रति समाजले कस्तो प्रतिक्रिया देखाउला ? हिजोका दिनमा अनैकौँ पीडा र सास्ती रहेर भए पनि बाघ संरक्षणमा दिनरात कस्सिएका समुदाय सधैँ पीडा सहेर बस्लान् भन्न सकिँदैन । त्यसैले हाल भएको क्षेत्रलाई थप व्यवस्थित गर्दै पानीको स्रोतको दिगो व्यवस्थान, घाँसेमैदान तथा आहारा प्रजातिका वन्यजन्तु वृद्धि गर्नुपर्ने जरुरी देखिन्छ । 

निकुञ्जभित्र बाघ पाल्न सक्ने वातावरण निर्माण गर्नुपर्ने चुनौती त एकातिर छँदै छ अर्कातिर बढ्दो चोरी सिकार नियन्त्रण गर्न सक्नु झन् जटिल काम हो । वन्यजन्तुको आखेटोपहारको अन्तर्राष्ट्रिय व्यापारको सञ्जाल निकै बलियो भएकाले चोरी सिकारबाट बाघ जस्ता दुर्लभ वन्यजन्तुलाई बचाउन सक्नु पर्छ । चोरी सिकार नियन्त्रणका लागि स्थानीय समुदायको सहयोग र समन्वयबिना सम्भव नभएकाले स्थानीयवासीमा संरक्षणको जागरणको अभियान नै आजको आवश्यकता हो । 

सहअस्तित्वको नीति 

बाघ केका लागि ? बाघ महत्वपूर्ण कि मानिस ? यी दुई सवाल हरेक बेला उठ्ने गरेका छन् । अन्य वन्यजन्तुभन्दा बाघबाट हुने नोक्सानीको प्रकृति पनि फरक छ । बाघ हिंस्रक प्रजातिको वन्यजन्तु भएकाले यसले बालीनाली, घर अन्य भौतिक संरचनामा नोक्सानी नगरेर मानिसको ज्यानै लैजाने भएकाले बाघले गरेको क्षतिले समाजमा अपूरणीय क्षति हुने गर्छ ।  बाघ जति हिंस्रक भए पनि विवेकहीन र बोल्न नसक्ने प्राणी हो । उसले आफ्ना लागि केही गर्न सक्दैन । जे फेला प¥यो आहाराका लागि गाँस निल्ने मात्र हो तर मानिस विवेकशील प्राणी भएकाले आफू बचेर बाघलाई पनि बचाउनु उसको कर्तव्य हो । मानव र बाघबिचको सहअस्तित्व नै अहिलेको मुख्य कार्यभार भएकाले सरकारले आफ्ना रणनीति बनाउँदा, स्थानीय समुदायलाई प्रशिक्षित गर्दा सहअस्तित्वको रणनीति र कार्यदिशा दिन सक्नु पर्छ । 

घाँसदाउरा गर्न र निगुरो टिप्न जाने क्रममा मानिसको ज्यान जाने अवस्था अन्त्य गर्न स्थानीय बासिन्दाका निम्ति जीविकोपार्जनका कार्यक्रम सञ्चालन गरिनु पर्छ । वन्यजन्तुका कारण लगाएको खेतीबाली भित्र्याउन नपाउँदै सधैँ अभावको जीवन जीउन बाध्य सीमान्तकृत परिवारलाई वन्यजन्तुले नखाने वैकल्पिक खेती प्रणालीको विकास र रोजगारीको प्याकेज सञ्चालन गर्न सके मानव–वन्यजन्तु सहअस्तित्वको लक्ष्य प्राप्त गर्न सकिने देखिन्छ । 

वन्यजन्तु कूटनीति र पर्यटन प्रवर्धन

बाघ पर्यटनको मुख्य आधार पनि हो । बाघ संरक्षणमा यति ठुलो सफलता गरेको मुलुकले आगामी दिनमा वन्यजन्तु कूटनीतिमार्फत नेपालको पर्यटन प्रवर्धन गर्ने नीति अवलम्बन गर्नु पर्छ । वन्यजन्तु हेर्न निस्कने पर्यटकलाई संसारका बढी पैसा खर्च गर्ने पर्यटक मानिन्छन् । वन्यजन्तुको दृश्यावलोकन, आनीबानी व्यवहारसँग रमाउन चाहने पर्यटकको लामो बसाइ हुने हुँदा वन्यजन्तु हेर्न आउने पर्यटकलाई लोभ्याउने होडबाजी संसारमा चलेको हुन्छ । बाघको सङ्ख्या उल्लेख्य मात्रामा बढाएको नेपालले यो सुनौलो मौका सदुपयोग गर्न सक्नु पर्छ । विदेशस्थित नेपाली कूटनीतिक नियोगलाई परिचालन गरी नेपालमा बाघ हेर्न आउने पर्यटकको सङ्ख्या उल्लेख्य वृद्धि गर्न सकिने योजना निर्माण गरी त्यसतर्फ ध्यान   दिनु पर्छ । 

कोभिडले थला परेको अर्थतन्त्रलाई उकास्न सक्ने मुलुकको आर्थिक एजेन्डा ‘बाघ पर्यटन’ बनाउन सकिन्छ । निकुञ्ज छिर्नेबित्तिकै देखिने बाघलाई अन्तर्राष्ट्रिय पर्यटकको आकर्षणको विषय र निकुञ्जलाई पर्यटकको गन्तव्यस्थलका रूपमा विकास गर्न सके मुलुकले अहिले बेहोर्नु परेको आर्थिक दुर्दशामा केही हदसम्म मलमपट्टी लगाउन सकिन्छ । नेपालमा भित्रिने पर्यटकमध्ये ६० प्रतिशतभन्दा बढी पर्यटक प्राकृतिक सुन्दरता, बाघ, गैँडालगायतका वन्यजन्तुको दृश्यावलोकन गर्न संरक्षित क्षेत्रभित्र घुम्ने गरेका छन् । यो सङ्ख्या हेर्दा पनि आउँदा दिनमा बाघ पर्यटनको अभियानलाई नेपालले विश्व बजारमा बेच्न सक्ने असल ब्रान्ड बनाउन सक्छ ।