• १२ साउन २०८१, शनिबार

‘शहरक भीडमे एसगर हम’

blog

नेपाली पत्रकारिता र मैथिली साहित्यमा धर्मेन्द्र विह्वल एउटा यस्तो सुनाम हो, जोसँग परिचित नहुने व्यक्ति सायदै कोही होलान् । त्यसमा पनि पत्रकारिता र साहित्यानुरागीको भिडमा । पत्रकारितामा उहाँ धर्मेन्द्र झा हुनुहुन्छ भने साहित्यमा धर्मेन्द्र विह्वल । झा र विह्वल व्यक्ति एउटै भए पनि उहाँ भाषाका दुई खम्बा पनि हुनुहुन्छ । उहाँको एउटा खम्बाले समाजलाई सुसूचित गर्छ भने अर्कोले त्यही समाजलाई झक्झकाउँछ पनि । 

पत्रकारितामा तीन दशकदेखि देश र समाजलाई निरन्तर सुसूचित गर्दै आएका धर्मेन्द्र झा अर्थात् धर्मेन्द्र विह्वलले साहित्यमार्फत मनका बहलाई शब्दमा पनि रूपान्तरित गर्दै आइरहनुभएको छ । यसको ज्वलन्त दस्ताबेज मैथिली भाषाका दुई काव्यात्मक पुस्तक हुन्, ‘व्योमक ओहि पार’ र ‘शहरक भीडमे एसगर हम’ । उहाँका यी दुवै कृति मैथिली साहित्यको पुनरुत्थानको सङ्घर्षको गाथा पनि हो । 

मैथिली कविताको छैटौँ शृङ्खलाका रूपमा प्रकाशित ‘शहरक भीडमे एसगर हम’ आफैँमा विशेष छ । किनभने यसमा एकै शीर्षकमा ५१ वटा कविता कोरिएका छन् । वास्तवमा यो कृति मैथिली मात्र होइन, विश्व साहित्यमा पनि नौलो प्रयोग हो । विह्वल साहित्यमा नयाँ प्रयोग गर्न औधि रुचाउनुहुन्छ । हाइकु र तांका मैथिली साहित्यमै उहाँको पहिलो कृति मानिन्छन् । यस्तै मैथिलीमा दीर्घ कविता पनि विह्वलकै पहिलो मानिन्छ । यसकारण उहाँ मैथिली साहित्यका प्रयोगधर्मी रचनाकार पनि हुनुहुन्छ ।

आफ्नो समयको काव्यात्मक प्रतिमान स्थापित गर्न उन्मुख उहाँका कवितामा व्यक्तिगत अनुभवहरूको जरा गाडिएको हुन्छ र उहाँका कृतिमा समेत त्यो बुझाइको अनुभव गर्न सकिन्छ । ‘सहर’ शीर्षक दिइएका ५१ वटा कविता २०४७ सालदेखि २०६६ सालको बिचमा विभिन्न मितिमा लेखिएका छन् । कालक्रमका दृष्टिले २० वर्षको प्रयासको उपज हो उहाँको यो कृति । काव्यिक रचनाको नवीनतम प्रयोगमा उत्तरआधुनिकताको झलक विम्बित हुने उहाँको यो कृति जति आस्वादनपूर्ण छ, त्यति नै विसङ्गत समाजप्रतिको मार्मिक र कठोर प्रहार पनि छ । नेपालमा २०४७ देखि २०६६ साल व्यापक राजनीति र सामाजिक परिवर्तनको साक्षीको वर्ष हो । यस अवधिको संवेदशनील कालखण्डको प्रवाह उहाँको यस सिर्जनामा दृष्टिगोचर भएको छ ।

उल्लिखित दुई दशक अवधिभित्रका यी कवितामा त्यस समयको राजनीति र समाज प्रतिविम्बित भएको भन्दा अस्वाभाविक हुँदैन । नेपालमा यस अवधिमा भएका राजनीतिक तथा सामाजिक परिवर्तनका शब्द–साक्षी कविताहरू सामाजिक मनोभावका अभिव्यक्ति पनि हुन् । गद्य शैलीमा लेखिएका कवितामार्फत कवि विह्वलले सहरको सपना र वास्तविकता खोतल्ने प्रयास गर्नुभएको छ । अधिकांश कवितामा उहाँको आफ्नै अनुभव छ, जसले उहाँलाई सशक्त कविका रूपमा उभ्याएको छ । उहाँले विसङ्गति, विखण्डनवादी सोच, मानसिक जटिलता र स्वार्थकेन्द्रित समाजलाई कविताको माध्यमबाट ठाडो प्रहार गर्नुभएको छ । सङ्कीर्ण मानवीय संवेदनहीन समाजप्रति उहाँको आव्रmामक प्रस्तुतीकरण र लेखनशैली यथार्थवादी र प्रगतिवादी छ ।

वैचारिक विम्बका माध्यमबाट अराजकतातिर गइरहेको समाजको संवेदनामाथि कठोर वैचारिक प्रहार गर्दै सुषुप्त चेतना जगाउने उहाँको प्रयास यस कृतिमार्फत उजागर भएको छ । वस्तुतः साहित्य कल्पनामा आधारित हुन्छ तर उहाँको यो कृतिमा वास्तविकताको अंश पनि भेटिन्छ । किनभने देशका विभिन्न सहर चहार्दा देखेको सहरलाई उहाँले यसरी उतार्नुभएको छ–

भोर–साँझमे कोनो भेद नही

झुमि उठैए मदिरालय

भरल भीड अछि

एतह मलेछक

आऊ उठाबी एक प्याला

सहर खास ई मद्यपानक

मदिरा ताकए शब्द अनेक

सभकेओ आबए सभकेओ भागए

केओ नहि अपन एकर एक ।

(सहर ३४, पृष्ठ ३८)

अर्थात्

बिहान–साँझमा कुनै भेद छैन

झुम्छन् हाम्रा मदिरालय

सर्वत्र भिड छ

यहाँ दुष्टको

आऊ उठाऊँ एक प्याला

सहर ठाउँ यो मद्यपानको

मदिराले खोज्छ शब्द अनेक

सबै आउँछन् सबै जान्छन्

कोही छैन यसको एक ।

यी पङ्क्तिले उहाँको रचनामा शब्द मात्रै होइन; भावना, अनुभव र संवेदनालाई दर्शाउँछ । कङ्व्रिmटको जङ्गल जस्तै विकसित भइरहेको सहर र यन्त्र जसरी चलायमान र भागदौडमा रमेका मानिसको प्रवृत्तिमाथि चोट गर्दै उहाँ भन्नुहुन्छ– 

आइ अनायास

सहरक मुडेरपर

सहस्रो गिद्धसभ 

बैसल छै 

महाभोजमे सहभागी हेबाक

एतय किछु अनिष्ट

होब जा रहल छै 

(सहर ४४, पृष्ठ ५१)

कृतिमा मैथिली चित्रकार एससी सुमनले प्रत्येक कवितामा अलग अलग चित्र कोर्नुभएको छ; जसले कवितालाई झन् जीवन्त र सरलीकृत बनाएको छ । कृतिको आवरणमा पनि सुमनकै कला उतारिएको  छ । यस सङ्ग्रहमा कला र शब्दको ‘फ्युजन’ गरिएको छ । अर्थात् यो सङ्ग्रह विह्वल र सुमनजीको संयुक्त सिर्जनात्मक कृति रहेको भन्नु अतिशयोक्ति हुँदैन । अब चर्चा गरौँ, विह्वलको अर्को कृति ‘व्योमक ओही पार’ अर्थात् ‘आकाशको उतापट्टि’ को विषयमा । यो कृति पनि मैथिली साहित्यको एउटा नवीनतम प्रयोग हो । यो मैथिलीको पहिलो तांका सङ्ग्रह पनि हो । यो सङ्ग्रह संवेदनशीलता र गहन अनुभूतिको परिचायक हो ।

‘हम बाजब

बाज लेल बाजब

ओ किछु कहै

हमर अधिकार

हम लेबे करब ।’

(पृष्ठ ३४)

(म बोल्छु/बोल्नका लागि बोल्छु/उसले जेसुकै भनोस्/मेरो अधिकार/म जसरी पनि लिन्छु ।)

यी पङ्क्तिमा जीवन र कला चेतनाको सौन्दर्य प्रतिविम्बित छ । जीवनको सौन्दर्यलाई गहन रूपमा अनुभूत गर्नु यस तांकाको प्रधानता हो । तांकामा जीवन र चेतनाको सौन्दर्यलाई शब्द संयोजनमार्फत प्रस्फुटित भएको छ । यसमा प्राकृतिक दर्शन र विम्बको शालीनतापूर्वक प्रयोग भएको पाइन्छ । तांकामा सांस्कृतिक सद्भाव माधुर्य छ । एकत्व र अपनत्वबिचको गहिराइ सुरुचिपूर्ण छ । यस पृष्ठभूमिमा यो तांकासङ्ग्रह, तांका यात्राको दिशामा अभिनव र नूतन प्रारम्भ हो । यसले मैथिली भाषाको नयाँ आयाम र उत्प्रेरण सञ्चार गर्न महìवपूर्ण भूमिका निर्वाह गरेको छ ।

विह्वलका तांकामा प्रेमाभिव्यक्ति र शृङ्गारिक शालीनताको सापेक्षता पनि अभिव्यक्त भएको छ; जो यस सङ्ग्रहको सुन्दर पक्ष हो । भौगोलिक, सांस्कृतिक र जातीय नश्लको असर, प्रभाव तथा विभेदको सूक्ष्म र मिहिन ढङ्गले चिरफार गर्ने प्रयासमा तांकाकार विह्वल सफल भएका छन् ।