• १३ साउन २०८१, आइतबार

थानकोट–चन्द्रागिरि–चित्लाङ सडक असार २० सम्म बन्द

blog

मकवानपुर समाचारदाता

हेटौँडा, जेठ २५ गते  । थानकोट–चन्द्रागिरि–चित्लाङ सडक (गणेशमान सिंह मार्ग) निर्माण एवं मर्मतसम्भारका क्रममा शुक्रबारबाट बन्द हुने भएको छ । थानकोट–चन्द्रागिरि–चित्लाङ सडकको थानकोट–चन्द्रागिरि खण्डमा मोड सुधार, उकालो कम गर्ने, सडक चौडा गर्नेलगायतका सडक मर्मतसम्भारको काम गर्न शुक्रबारबाट आगामी असार २० गतेसम्मका लागि दिउँसोको समयमा बन्द गरिने भएको हो । 

गत पुस २८ गते चित्लाङ–चन्द्रागिरि–थानकोट सडकको सेतो पहरा खण्डमा एकै परिवारका पाँच जनाको ज्यान जाने गरी कार दुर्घटना भएपछि सरकारको तीव्र आलोचनासँगै चित्लाङ–चन्द्रागिरि–थानकोट सडक निर्माण एवं मर्मतसम्भारलाई सरकारले प्राथमिकतामा राखेको छ । सडक डिभिजन कार्यालय, काठमाडौँका इन्जिनियर रामकुमार श्रेष्ठले थानकोट–चन्द्रागिरि सडक खण्डको सुधारका व्रmममा सुरक्षालाई दृष्टिगत गरी सडक बन्द गरेर काम गर्न लागेको जानकारी दिनुभयो । 

उहाँले सडक मर्मतसम्भारका क्रममा आवागमन गर्न सुरक्षाको जोखिम रहेको भन्दै शुक्रबारबाट आगामी असार २० गतेसम्म बिहान ९ बजेदेखि साँझ ४ बजेसम्म पूर्ण रूपमा सडक बन्द गरी निर्माण एवं मर्मतसुधार कार्य गर्नुपर्ने भएकाले सो समयमा सडक बन्द गर्न लागेको बताउनुभयो । थानकोट चित्लाङ सडक खण्डको दुई भागमा सडक निर्माण सुधार कार्यका लागि गत वैशाखमा निर्माण कम्पनी बिएसपी/जयश्री महालक्ष्मी जेभीसँग ठेक्का सम्झौता भई काम भइरहेको छ । २०८१ वैशाख ३१ गते कम्पनीसँग भएको सम्झौतामा २०८२ वैशाख ३० गतेसम्ममा निर्माण एवं मर्मतसम्भारको काम मूल्य अभिवृद्धि करसहित तीन करोड ९३ लाख ५२ हजार ८४९ रुपियाँको लागतमा सम्पन्न गर्नुपर्ने उल्लेख छ । 

थानकोट–चन्द्रागिरि सडक खण्डको निर्माण एवं मर्मतसम्भार अन्तर्गत पानीघाटबाट केही माथिबाट करिब आठ सय मिटर कालोपत्रे गर्ने, मोड सुधार, सडक चौडा गर्ने, उकालो कम गर्नेलगायतका कार्य गरिने भएको छ । उहाँले गत पुसमा कार दुर्घटना भएको सेतो पहरा क्षेत्रमा बागमती प्रदेश सरकारको लगानीमा उच्च ग्रेड रहेको स्थानमा उकालो कम गर्नेलगायतका काम भएको जानकारी दिँदै तीन/चार स्थानमा मोड काट्नुपर्ने र सडक चौडा कम भएको खण्डमा ‘ब्याक कटिङ’ र ‘ग्रेड डाउन’ गर्ने क्रममा सुरक्षाका उपाय अपनाएर काम गर्नुपर्ने अवस्था रहेको बताउनुभयो । ब्रेकर प्रयोग गरी ब्याक कटिङ गर्ने क्रममा सडकको भौगोलिक अवस्थाका कारण तीन/चार वटा घुम्ती सडकसम्म ढुङ्गा तल झर्न सक्ने सम्भावना रहेको बताउँदै उहाँले भन्नुभयो, “सवारीसाधन तथा मानवीय क्षतिको जोखिम रहेकाले उक्त सडकखण्ड बन्द गरी निर्माण एवं मर्मतसुधारको कार्य गर्न लागिएको हो ।”

उहाँले निर्माण एवं मर्मत अवधिभर वैकल्पिक बाटोको प्रयोग गर्नसमेत आग्रह गर्नुभयो । थानकोट चेकपोस्टदेखि चन्द्रागिरिसम्म साढे आठ किमी लम्बाइ रहेको थानकोट–चित्लाङ सडकखण्डको काठमाडौँतर्फ लामो समयदेखि निर्माण भइरहे पनि अझै जोखिमपूर्ण छ । 

यस्तै गत पुसमा दुर्घटनापछि सेतो पहरा क्षेत्रमा दुर्घटना जोखिमका सडकको ग्रेडिङ कम गर्नेलगायतका सडक सुधारका उपाय अपनाइएको छ । प्रदेश सरकार मातहतको पूर्वाधार विकास कार्यालय, ललितपुरको १५ लाख रुपियाँ बजेटबाट भिरालो कम गर्नेलगायतका सडक सुधारको काम भएको हो ।

स्थानीय बासिन्दा र जनप्रतिनिधिको दबाबमा दुर्घटनापछि चित्लाङ–चन्द्रागिरि–थानकोट सडक गणेशमान राजमार्गको कालोपत्रेसहित स्तरोन्नतिका लागि चालु आर्थिक वर्ष २०८०/८१ मा विनियोजितसहित नेपाल सरकारले सात करोड ९९ लाख रुपियाँ बराबर स्रोतका लागि सहमति प्रदान गरेको छ । चालु आवका लागि उक्त सडकको स्तरोन्नति गर्न दुई करोड रुपियाँ विनियोजन गरी काम भएको छ । 

सडक डिभिजन कार्यालयले सडक बन्द गरी निर्माण एवं मर्मतसम्भारको काम गर्नुपर्ने भएकाले सहजीकरण गरिदिन स्थानीय तहलाई आग्रह गरेको छ ।