• १३ साउन २०८१, आइतबार

गृहमन्त्री लामिछानेले राजनीतिक दलसँग मागे विपदमा खट्ने स्वयंसेवक

blog

उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने

काठमाडौं, जेठ २४ गते । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले राजनीतिक दलहरूसँग प्राकृतिक विपद्को समयमा स्वयंसेवकको भूमिका गर्ने व्यक्तिहरूको विवरण माग गर्नुभएको छ ।

बिहीबार मनसुन पूर्वतयारी तथा प्रतिकार्य सम्बन्धमा राजनीतिक दलसँग अन्तरक्रिया गर्दै उपप्रधानमन्त्री लामिछानेले राजनीतिक दलहरूसँग विपद्मा स्वयंसेवा गर्ने व्यक्तिहरूको विवरण माग गर्नुभएको हो ।

उहाँले मनसुनजन्य विपद्मा स्वयंसेवकहरूको आवश्यक पर्ने उल्लेख गर्नुहुँदै दलहरूले आफ्नोतर्फबाट कति स्वयंसेवक दिनसक्छन् ? सोही अनुसार मन्त्रालयले योजना बनाउने बताउनुभयो । उहाँले दलहरूले दिने जनशक्तिमध्ये कति जना विपद्मा राहत, उद्धारमा अनुभव भएका हुन्छन्, सो कुरा पनि खुलाउन आग्रह गर्नुभयो । उहाँले राजनीतिक दलहरूको सङ्गठन सबैतिर हुने भन्दै सो सङ्गठनलाई विपद् व्यवस्थापनमा लगाउँदा प्रभावकारी हुने पनि बताउनुभयो ।

‘‘सम्पूर्ण राजनीतिक दलहरूलाई एउटा प्रस्ताव म के राख्न चाहन्छु भने आउँदै गरेको मनसुनजन्य विपद्का लागि गृह मन्त्रालयले स्वयंसेवकको रूपमा तपाईँको राजनीतिक दलबाट कति सङ्ख्यामा साथीहरूको अपेक्षा गर्नसक्छौँ होला ? तीमध्ये कति राहत, उद्धारमा अनुभव भएका हुनुहुन्छ होला भन्ने कुराको डिटेल यो महिनाको अन्त्यसम्म प्राप्त हुन सक्यो भने हामीले बनाउने योजनामा त्यसको असाध्यै ठुलो भूमिका हुन्छ ।,’’ गृहमन्त्री लामिछानेले भन्नुभयो, ‘‘त्यो यसपटकका लागि मात्रै हुन्छ । असोज १९ सम्मका लागि सम्पूर्ण राजनीतिक दलहरूले हामीले अपेक्षा गर्नसक्ने यहाँहरूले भन्ने बित्तिकै उपलब्ध गराउन सक्ने जनशक्ति बारे जानकारी गृह मन्त्रालयलाई दिनुभयो भने एकीकृत रूपमा गर्न खोजेको योजनाको लागि मद्दत हुनजान्छ ।’’

उपप्रधानमन्त्री लामिछानेले प्राकृतिक विपद्का बेलामा काम गर्नका लागि राजनीतिक दलहरूको साझा मञ्च बनाउनु आवश्यक रहेको भन्दै यसतर्फ पनि सरकारले सोचेको बताउनुभयो ।