गुणबहादुर रोका
सुलीकोट, जेठ २४ गते । पृथ्वी राजमार्गअन्तर्गत पर्ने सडक आँबुखैरनीदेखि डुम्रेसम्मको वैकल्पिक मार्गको तयार पारिएको दशकिलो–बिर्दी–सेरा–पैवाटार हुँदै डुम्रे सडकअन्तर्गत गोरखाको पालुङटार नगरपालिका–९ ढुङ्गेटारीमा मोटरेबल पुल निर्माण सुरु भएको छ ।
गण्डकी प्रदेश सरकारको बजेटमा पूर्वाधार विकास कार्यालय गोरखाले खारखोला र चितिखोला भएर बग्ने दुई खोलाको दोभान माथि चौडाइ ८.४० मिटर र लम्बाइ २५ मिटर लामो सिङ्गल स्पाम आरसिसी प्राविधिक मोटरेबल पुल निर्माण गर्न लागिएको हो ।
पुल निर्माणसँगै पालुङटार नगरपालिका– ९, १० र ६ साथै १३ नम्बरको वडाको केही भूभागका बासिन्दाहरूलाई पालुङटार नगरपालिकादेखि गोरखा सदरमुकामसम्म आवतजावत गर्न सहज हुने पालुङटार नगरपालिकाका उपप्रमुख वन्दना पाण्डेले जानकारी दिनुभयो ।
पालुङटार नगरपालिकाका बासिन्दा हाल गोरखा नगरपालिका–१३ को अबुँवा हुँदै गोरखा सदरमुकामसम्म पुग्न घुमाउरो सडक प्रयोग गर्छन् । पुल निर्माण भएपछि पालुङटार नगरपालिकाका बासिन्दाहरूलाई गोरखा सदरमुकामसम्म आवतजावत गर्न सहज हुनुका साथै दूरी छोटिने भएको छ ।
पूर्वाधार कार्यालय गोरखाका प्रमुख गणेश सुबेदीका अनुसार सो पुल निर्माणका लागि २०८० साल वैशाख २७ गते श्री गणेश अमृत निर्माण सेवा जेभीसँग दुई करोड ७५ लाख ९० हजार एक सय २५ रुपियाँमा ठेक्का सम्झौता भएको थियो ।
पुल निर्माणका लागि स्थानीय सडक पुल निर्माण कार्यक्रमअन्तर्गत स्थानीय पुल सर्पोट युनिट र स्विस एजेन्सी फर डेभलेपमेन्ट एण्ड कोअपरेशनले प्राविधिक सहयोगमा गरिरहेको पूर्वाधार कार्यालय गोरखाका इन्जिनियर मोहन श्रेष्ठले बताउनुभयो । २०८२ साल असोज २६ गते सम्पन्न गर्नु पर्ने मोटरेबल पुल निर्माण कम्पनीले धमाधम काम अघि बढाएको छ ।