• ११ पुस २०८१, बिहिबार

पर्यटकको रोजाइमा ‘लामडाँडा’

blog

लामडाँडा । फाइल तस्बिर

वालिङ (स्याङ्जा), जेठ २४ गते । पछिल्लो समय ‘लामडाँडा’ आन्तरिक तथा बाह्य पाहुनाहरुको रोजाइमा पर्न थालेको छ । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका-२ मा अवस्थित लामडाँडा गाउँमा ‘लामडाँडा सामुदायिक घरबास’ सञ्चालनमा आएसँगै पाहुनाहरुको रोजाइमा पर्न थालेको हो । 

लामडाँडामा अधिकांश गुरुङ समुदायको बाक्लो बसोवास छ । आन्तरिक तथा बाह्य पाहुना आकर्षित गर्दै गाउँमा आम्दानी भित्र्याउने योजनासहित घरबास सञ्चालन गर्ने निर्णय गरिएको लामडाँडा सामुदायिक घरबास सञ्चालक समितिका अध्यक्ष लीलबहादुर गुरुङले बताउनुभयो । बाक्लो बस्ती रहेकाले सबैको सामूहिक प्रयासबाट घरबास सञ्चालन गर्न सकिने भएकाले लामडाँडालाई घरबासका रुपमा विकसित गरिएको उहाँले बताउनुभयो ।

“एकै ठाउँमा बाक्लो बस्ती भएको र यहाँका गाउँलेहरु घरबास सञ्चालन गर्न इच्छुक भयौँ”, उहाँले भन्नुभयो, “फलस्वरुप घरबास सञ्चालन गर्न आवश्यक तालिम तथा सीप सिकेर अगाडि बढ्यौँ ।” गएको फागुनदेखि घरबास सञ्चालनमा आएको हो । घरबासमा आउने पाहुनालाई लक्षित गरी स्थानीय खानाका परिकार, गुरुङ समुदायका सांस्कृतिक नृत्यले स्वागत सत्कार गरिँदै आएको छ । उहाँका अनुसार स्थानीय महिला आफ्नो गाउँ ठाउँमा पाइने फूल तथा पातबाट आकर्षक माला बनाएर पाहुनाको स्वागतमा खटिनुहुन्छ । 

पाहुना गाउँमा प्रवेश गरेसँगै सामुदायिक भवनमा टीका मालाद्वारा महिलाले स्वागत गर्ने गरिएको स्थानीय लामडाँडा महिला विकास सङ्घकी अध्यक्ष लक्ष्मी गुरुङले बताउनुभयो । “सुरुमा पाहुनालाई सामुदायिक भवनमा स्वागत गर्छौ”, उहाँले भन्नुभयो, “स्वागतसँगै त्यहीँ नै स्थानीय परिकारका खाजा उपलब्ध गराउछौँ ।” सामुदायिक भवनमै सबैले साँझ खाना खाएर सांस्कृतिक कार्यक्रममार्फत पाहुनालाई मनोरञ्जन दिने गरिएको उहाँले बताउनुभयो । सांस्कृतिक कार्यक्रम सकिएपछि पाहुनालाई घर-घरमा बाँडेर सुताउने गरिएको छ । 

“साँझ पाहुनालाई स्वागतसँगै सुरु भएको प्याकेज भोलिपल्ट बिहानको नास्तासम्म रहन्छ”, उहाँले भन्नुभयो, “स्वागतदेखि बिदाइसम्मको एक दिनको प्याकेजको प्रतिपाहुना एक हजार दुई सय शुल्क लिने गरेका छौँ ।” भर्खरै सञ्चालनमा आएको, नयाँ र रमणीय ठाउँ भएकाले पनि यहाँ पाहुनाको भीड लाग्दै गएको हो । स्थानीयको स्वागत सत्कार तथा गुरुङ समुदायको रीतिरिवाज संस्कार, संस्कृतिको अवलोकन गर्नका लागि पनि यहाँ पाहुना आउने गरेका उहाँले बताउनुभयो ।

“गुरुङ समुदायका विभिन्न सांस्कृतिक कार्यक्रम पुरानो पुस्ताले नयाँ पुस्तालाई सिकाउनुहुन्छ”, उहाँले भन्नुभयो, “जसले गर्दा संस्कार, संस्कृति तथा परम्पराको सिकाइको पुस्तान्तरणमा समेत सहयोग पुगेको छ ।” लामडाँडामा हाल एक सय जनासम्म बस्ने क्षमता रहेको छ । यहाँ हप्तामा तीन-चार दिन ३०-३५ जनाका दरले पाहुना आउने गर्छन् । विशेष गरी बिदाका दिनमा बढी चहलपहल हुने गरेको छ । गाउँमा आन्तरिक तथा बाह्य पाहुनाको आकर्षण भएपछि अहिले आम्दानीको स्रोतका रुपमा घरबासले स्थान पाउन थालेको छ । रासस