अर्जुन काफ्ले
स्याङ्जा, जेठ २४ गते । मनसुन आउने समय नजिकिँदै गर्दा स्याङ्जामा विपद् व्यवस्थापनका लागि जिल्ला विपद् सहायता कक्ष स्थापना गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय स्याङ्जाले मनसुनजन्य विपद् प्रभावितहरुको खोज उद्धार तथा राहतसम्बन्धी छलफलबाट सहायक प्रमुख जिल्ला अधिकारीको संयोजनमा जिल्ला विपद् सहायता कक्ष स्थापना गरेको हो ।
प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले गृह मन्त्रालयले जिल्लामा विपद् सहायता कक्ष स्थापना गर्नु भन्ने निर्देशन अनुसार जिल्ला प्रशासन कार्यालय स्याङ्जा कक्षको स्थापना गरेको बताउनुभयो ।
जिल्लाका ११ वटा स्थानीयतह, सुरक्षा समिति, जिल्ला स्थित उद्योग वाणिज्य सङ्घ, चेम्बर अफ कमर्श, पत्रकार महासङ्घ र नागरिक समाज लगायतको सहभागितामा बसेको छलफलले जिल्ला विपद् व्यवस्थापन कक्ष सगै सबै पालिकामा पनि विपद् कक्षहरु सञ्चालन गर्ने निर्णय भएको प्रजिअ नेपालले बताउनुभयो ।
अहिलेसम्म विपद् व्यवस्थापनमा पालिकाले गरेका गतिविधि र आगामी दिनमा गर्न सकिने कामका बारेमा प्रगति विवरण कार्यक्रममा पेस गरिएको थियो ।
गृह मन्त्रालयअन्तर्गत विपद् पूर्वतयारी तथा प्रतिकार्य महाशाखाले दिएको परिपत्र अनुसार मनसुनजन्य प्रकोप आउन अगाडि तयारी अवस्थामा रहन र जनधनको क्षतिको संरक्षण गर्न अपनाउनुपर्ने विधिका विषयमा सर्तक रहन अनुरोध गरेको थियो ।
जिल्ला विपद् सहायता कक्षका लागि सहायक प्रजिअको संयोजनमा र स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको संयोजनमा समिति गठन गर्ने निर्णय भएको छ ।
जिल्ला व्यवस्थापन सहायता कक्ष सञ्चालन समितिको सदस्यहरुमा जिल्लास्थित सुरक्षा निकायका प्रतिनिधि, नेपाल रेडक्रस सोसाइटी, जिल्ला उद्योग वाणिज्य सङ्घ, पत्रकार महासङ्घको प्रतिनिधि, नागरिक समाजको प्रतिनिधि रहने र जिल्ला आपतकालीन केन्द्रका प्रतिनिधि सदस्य सचिव रहनेछन् ।
प्राकृतिक होस वा जुनसुकै विपद् सूचना दिएर आउदैन छलफलमा निर्देशन दिँदै प्रजिअ नेपालले भन्नुभयो, ‘‘जस्तोसुकै विपद्को सामना र प्रतिकार्यको तयारीमा रहनुहोला ।’’
विपद्का बेला आलटाल, चासो र संवेदनशिल नबनेको देखिएमा कारवाही हुने चेतावनी प्रजिअ नेपालले दिनुभयो ।
बाढीपहिरो लगायतका विपद्जन्य अवस्था आएमा नजिकको प्रहरी चौकी वा स्थानीय तहका सहायता कक्षमा खबर गर्न सबै नागरिकहरुलाई सहायक प्रमुख जिल्ला अधिकारी तथा जिल्ला विपद् सहायता कक्षका संयोजक दीपक पौडेलले आग्रह गर्नुभयो ।