गुणबहादुर रोका
सुलीकोट, जेठ २४ गते । उत्तरी गोरखाको धार्चे गाउँपालिकाको लार्के खण्डको कालो भिरमा सुख्खा पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।
बिहीबार बिहान करिब ६ : ३० बजेको समयमा उत्तरी गोरखाको लार्के खण्डको धार्चे गाउँपालिका –१ कालो भिरमा पहिरो जाँदा सडक अवरुद्ध भएको मनास्लु क्षेत्रका स्थानीय छ्याङ लामाले जानकारी दिनुभयो ।
उहाँका अनुसार त्यस क्षेत्रमा माथिबाट खसेको पहिरोले सडकमा ठुला ढुङ्गा र माटोले सडक ढाकिएको छ । पहिरो परी कुनै मानवीय क्षति नभएको पनि उहाँले बताउनुभयो । पहिरोलाई नेपाली सेनाको टोलीले केही बेरमा मेसिन लगाएर हटाउने प्रयास भइरहेको उहाँको भनाइ छ ।
अहिले त्यस ठाउँमा नेपाली सेना, नेपाल प्रहरी र स्थानीयवासीको सहयोगमा पहिरो हटाउन पहल भइरहेको बताइएको छ । त्यस पहिरोले ७ मिटर बाटो अवरुद्ध भएको छ । पहिरो ४० मिटर माथिबाट खसेर अवरुद्ध भएको थियो । अहिले त्यस क्षेत्रबाट आबत–जावत गर्ने सवारी साधन तथा सर्वसाधारण बिहानबाट रोकिएका छन् ।
अहिले त्यस क्षेत्रमा गएको पहिरो पन्छाउन दोभान क्षेत्रमा रहेको नेपाली सेनाको टोलीले मेसिन लगाएर पहिरो पन्छाउन लागिपरेको मनास्लु क्षेत्रका स्थानीय छ्याङ लामाले बताउनुभयो । अबको केही बेरमै सवारी साधन तथा सर्वसाधारणलाई हिँडडुल गर्न सहज गराउने प्रयास भइरहेको छ ।