• १३ साउन २०८१, आइतबार

बेनी–जलजला–ढोरपाटन सडक आयोजना अघि बढाइने

blog

मुना हुँदै लुलाङ खोरिया जाने सडक । फाइल तस्बिर

ठाकुरप्रसाद आचार्य
म्याग्दी, जेठ २३ गते ।
बेनी–जलजला–ढोरपाटन सडक आयोजना अघि बढाइने भएको छ । मध्यपहाडी लोकमार्गको वैकल्पिक सडकका रुपमा विकास गर्ने उद्देश्यले यो आयोजना अघि बढाइएको हो ।

बेनीबाट सुरु भएर बागलुङको ढोरपाटन हुँदै पूर्वी रुकुम जोड्ने बेनी–दरवाङ–मुना–जलजला–ढोरपाटन सडक निर्माण योजनालाई सङ्घीय सरकारले बजेटमा समावेश गरेसँगै यो आयोजना अघि बढ्ने सुनिश्चित भएको हो ।

आगमी आर्थिक वर्ष २०८१/०८२ को समपूरक बजेटमा समावेश गरी १२ करोड रुपियाँ प्रस्ताव गरिएको छ । यो आयोजना गण्डकी प्रदेश सरकार र सङ्घीय सरकारको लागत साझेदारीमा सञ्चालन हुने पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख विष्णु पौडेलले जानकारी दिनुभयो ।

धबलागिरि गाउँपालिका २ लुलाङको खोरियासम्म पुगेको सडकलाई ढोरपाटनसम्म जोड्न बाँकी छ भने पूर्वी रुकुमको टकसेरादेखि ढोरपाटनको निसिलढोरसम्म ८ किलोमिटर सडकले जोडिन बाँकी छ । तीन वर्ष भित्रमा निर्माण सम्पन्न गर्ने गरी ९२ करोड ९२ लाख रुपियाँ बराबर लागत अनुमान गरिएको कार्यालय प्रमुख पौडेलले बताउनुभयो ।

म्याग्दी प्रदेश निर्वाचन क्षेत्र (ख) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य तथा पूर्व भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जालीले मध्यपहाडी लोकमार्गको वैकल्पिक सडकका रुपमा विकास गर्ने उद्देश्यले यस आयोजनालाई पूर्णता दिन सङ्घीय सरकारले प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको बताउनभयो ।

धवलागिरी गाउँपालिकाको शिवाङदेखि गाउँपालिकाको केन्द्र मुना हुँदै जलजला–ढोरपाटन जोड्न सडक कालोपत्र सहित स्तरोन्नति गर्न यो बजेट परिचालन हुने पूर्वाधार विकास कार्यालयका प्रमुख पौडेलले जानकारी दिनुभयो ।

दरवाङदेखि मुुना हुुँदै मरेनी जोड्ने २६ किलोमिटर सडक कालोपत्र गर्न एक अर्ब बजेट अनुुमानसहितको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पारिएको पूर्वाधार विकास कार्यालय म्याग्दीले जनाएको छ ।

बेनीदेखि दरवाङ–मुना–जलजला–ढोरपाटन हुँदै पूर्वी रुकुमको टकसेरा जोड्ने सडक निर्माण भएपछि मध्य पहाडी लोकमार्गको बागलुङ खण्डभन्दा ७० किलोमिटर दूरी छोटिने भएकाले यो सडक आयोजनालाई सरकारले पनि प्राथमिकतामा राखेको हो ।

धवलागिरी गाउँपालिका–२ खोरीयामा तीन वर्षअघि पुगेको सडकलाई जलजलासँग जोड्न १९ किलोमिटर सडकको मार्ग खोल्न यस वर्ष सडक डिभिजन कार्यालय बाग्लुुङकाे तीन करोडको आयोजना सञ्चालित छ ।

गण्डकी प्रदेश सरकारले धारापानीदेखि ताकम हुुँदै शिवाङ जोड्ने सडक कालोपत्र गर्न चालुु आर्थिक वर्षमा २५ करोडको आयोजनाको ठेक्का सम्झौता गरी कार्यान्वयनको चरणमा प्रवेश गरेको छ ।

भौगोलिक रुपमा म्याग्दीको मङ्गला, मालिका र धवलागिरी गाउँपालिकाका बासिन्दा लाभान्वित हुने र दीर्घकालीन रुपमा राष्ट्रिय महत्त्व राख्ने सडकले धेरै वर्षको प्रयासपछि महत्त्व पाएको धवलागिरी गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले बताउनुभयो । 

पूूर्वाधार कार्यालय म्याग्दीमार्फत २४ किलोमिटर दूरीको बेनी–दरवाङ सडकअन्तर्गत बेनीदेखि सिमसम्म अघिल्लो वर्ष नै कालोपत्र भइसकेको छ । सिमदेखि पानाबगर खण्डमा अहिले कालोपत्र गर्ने काम सुरु भएको छ । भने दरबाङदेखि दरवाङ–धारापानी खण्डको सडक ग्राभेल गर्ने कार्य चालु आर्थिक वर्षमा सम्पन्न भएको छ ।

बेनी हुँदै दरबाङ–मुना–जलजला हुँदै ढोरपाटन सडक सञ्जालले जोडिएमा पश्चिम म्याग्दीको विकासमा नयाँ आयाम थपिने जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले बताउनुभयो ।