• १३ साउन २०८१, आइतबार

विपदका घटनामा एक वर्षमा ६१ जनाले गुमाए ज्यान

blog

अनिल पराजुली
हेटौँडा, जेठ २३ गते ।
बागमती प्रदेशमा विपदका घटनामा एक वर्षको अवधिमा ६१ जनाले ज्यान गुमाएका छन् । २०८० जेठ २२ देखि २०८१ जेठ २२ गतेसम्म बागमती प्रदेशमा भएको ८३६ विपद्का घटनामा ६१ जनाले ज्यान गुमाउनु भएको हो ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार १७७ जना घाइते हुनुभएको छ भने तीन जना बेपत्ता भएका थिए । एक वर्षको अवधिमा भएको विपदको घटनामा करिव ५१ करोडको क्षति भएको छ । १७८ पूर्वाधारको क्षति भएको छ भने ६३१ पशुचौपाया मरेको मन्त्रालयको तथ्याङ्क छ ।

एक वर्षको अवधिमा प्रदेशमा ४९७ आगलागीका घटना भएका छन् । १२३ स्थानमा वन डढेलो, १०८ पहिरो, ४२ जनावर आतङ्क, १६ भारी वर्षा भएको तथ्याङ्क छ । त्यस्तै बाढी १२, हुरीबतास ११, अन्य गैर प्राकृतिक विपद् तीन, सर्पदंश तीन, हिमपहिरो तीन र एक पटक भूकम्प गएको तथ्याङ्क छ ।

पहिरोको उच्च जोखिम
गृह मन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको विपद् पोर्टल अनुसार बागमती प्रदेशका जिल्लाहरु पहिरोको उच्च जोखिममा छन् । २०६९ देखि २०७९ सम्मको तथ्याङ्क विश्लेषण गर्दा प्रदेशभर ६०२ वटा पहिरोका घटना घटेकोमा तीनसय जनाको मृत्यु भएको छ भने विगत दश वर्षमा २०७७ सालमा पहिरोबाट सबैभन्दा बढी मानिसको मृत्यु भएको तथ्याङ्क छ । बागमती प्रदेश विपद् जोखिमको दृष्टिकोणले बहुप्रकोपीय उच्च जोखिममा छ । नुवाकोट, सिन्धुपाल्चोक, मकवानपुर, ललितपुर र काभ्रेपलाञ्चोकमा सबैभन्दा बढी पहिरोका घटना भएकोमा नुवाकोट जिल्लामा सबैभन्दा बढी क्षति भएको थियो ।

प्रदेशको स्थापना भएको सात वर्षको अवधिमा विपद् व्यवस्थापनका लागि विपद् व्यवस्थापन ऐन २०७५, प्रदेश विपद् व्यवस्थापन नीति २०७६, प्रदेश विपद् व्यवस्थापन रणनीतिक कार्ययोजना (२०७६–२०८७) लगायतका विभिन्न कानुनहरु तर्जुमा भई कार्यान्वयनमा रहेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।

दश वर्षमा एघार हजार ८५२ जनाको मृत्यु, ७ खर्व क्षति
गृह मन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको विपद् पोर्टल अनुसार बागमती प्रदेशमा दश वर्षको अवधिमा ११ हजार ८५२ जनाको मृत्यु भएको छ । २०१३ जुलाईदेखि २०२३ जुलाईसम्म बागमती प्रदेशमा बाढी, पहिरो, भूकम्प, आगलागी पाँच हजार ५८१ घटनामा सो क्षति भएको हो ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालय अधिकृत आठौं रबिता कार्कीका अनुसार १० वर्षको अवधिमा भूकम्पमा परेर आठ हजार ३७०, आगलागीमा ४६९, बाढीमा परेर एकहजार १२८ र पहिरोमा परेर एकहजार ८८५ जनाको मृत्यु भएको हो । ११ लाख ९९ हजार ६१६ जनसङ्ख्या प्रभावित बनेका छन् । पाँच लाख चार हजार निजी घार क्षतिग्रस्त भएको छ ।

दश वर्षको अवधिमा विपदमा परेर प्रदेशमा सात खर्बको क्षति भएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालय अधिकृत आठौं रबिता कार्कीका अनुसार भूकम्प, आगलागी, बाढी र पहिरोका कारण ७ खर्ब ६५ अर्ब ७९ करोड ८८ लाख ४० हजार बराबरको क्षति भएको जानकारी दिनुभयो ।