अनिल पराजुली
हेटौँडा, जेठ २२ गते । पश्चिम मकवानपुरको मनहरिको विभिन्न स्थानमा निर्माण गरिएको पक्की पुल उद्घाटन गरिने भएको छ । मनहरि गाउँपालिकाले निर्माण गरेको तीन वटा पक्की पुल यही जेठ २६ गते उद्घाटन गर्ने तयारी गरिएको हो ।
मनहरि गाउँपालिकाले आर्थिक वर्ष ०७७–७८ मा आन्तरिक श्रोतबाट ५ वटा पक्की पुल निर्माणको काम सुरु गरेको थियो । कुल ३३ करोड ४० लाख ६५ हजार लागतमा वडा नं १,२,३, र ४ जोड्ने च्यापल खोला, हाँडीखोला, ट्वाङ्रारा खोला, मसिने खोला र ठाडो खोलामा गरी ५ वटा पुलको ठेक्का लागेको गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले जानकारी दिनुभयो ।
हाल ट्वाङ्रारा खोला, मसिने खोला र च्यापल खोला पुलको निर्माण कार्य सम्पन्न भइसकेको छ । बानियाँ कन्स्ट्रक्सनसँग सम्झौता गरी निर्माण सम्पन्न भएको उक्त तीनवटै पुल उद्घाटन गरिने छ । अन्य दुईवटा पुलको निर्माण कार्य आगामी मङ्सिरसम्म सम्पन्न भइसक्ने अध्यक्ष कालाखेतीको भनाइ छ । “ठाडोखोला पुल निर्माण कार्य ८५ प्रतिशत र हाँडीखोला पुल ६३ प्रतिशत सम्पन्न भइसकेको छ,” उहाँले भन्नुभयो, “यही मङ्सिरसम्म निर्माण कार्य सम्पन्न हुनेछ” ।
गाउँ कार्यपालिका बैठकले पुलको उद्घाटन गर्ने मिति तय गरेको हो । पुलको मकवानपुर क्षेत्र नं २(ख) बाट निर्वाचित बागमती प्रदेश सांसद इन्द्र बानियाँ उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।