चित्र मिजार
सिन्धुपाल्चोक, जेठ २२ गते । जुगल गाउँपालिकाले दलित समुदायका आरनलाई प्रविधिमैत्री बनाउन औजार सहयोग गरेको छ । आरन सुधार अन्तर्गत उक्त पालिकाले आरनका औजार सहयोग गरेको हो ।
गापाभित्र आरन व्यवसाय गरिरहेका ५३ जनालाई औजार वितरण गरिएको अध्यक्ष रेशम स्याङबोले जानकारी दिनुभयो । परम्परागत आरन व्यवसायलाई व्यवसायीकरण गर्न औजारहरू महत्त्वपूर्ण हुने उहाँले बताउनुभएको छ । यसले व्यवसाय प्रवर्द्धनका साथै जीविकोपार्जनमा मद्दत मिल्ने स्याङबोले थप्नुभयो ।
आरन सुधारका औजारहरूमा हावा दिने, कटिङ, वाईलिङ मेसिन लगायतका सामग्री वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत लोक बहादुर विकले बताउनुभयो । गाउँघरमा आरनबाट गुजारा चलाउँदै आएका दलित समुदायका व्यक्तिका व्यवसायमा सुधार ल्याउने उद्देश्यले औजारहरू सहयोग गरिएको उनको भनाइ छ । आगामी वर्षमा पनि पालिकाले दलित समुदायको अवस्था परिवर्तनका लागि काम गर्दे जाने विकले बताउनुभएको छ ।