• १२ साउन २०८१, शनिबार

महिलालाई भारतमा विक्री गर्ने सिलवाल तीस वर्षपछि पक्राउ

blog

३० बर्सपछि पक्राउ परेका नारायण विक्रम सिलवाल । तस्बिर: नेपाल प्रहरी

चित्र मिजार

सिन्धुपाल्चोक, जेठ २२ गते । ३० वर्षपछि मानव बेचबिखन मुद्दाका फरार प्रतिबादीलाई सिन्धुपाल्चोक प्रहरी अन्तर्गत इलाका प्रहरी कार्यालय मेलम्चीले पक्राउ गरेको छ । 

२०३९ साल वैशाख महिनामा दुई जना युवतीलाई ललाई फकाई राम्रो काममा लगाइदिन्छु भन्दै भारतको कलकत्ता र बम्बई सहरमा लगेर ४० हजारमा बिक्री गरेको आरोपमा साबिक बरुवा गाविस वडा नम्बर ८ घर भई हाल पाँच पोखरी थाङपाल गाउँपालिका–२ वर्ष ६९ का नारायण विक्रम सिलवाललाई प्रहरीले पक्राउ गरेको प्रहरी नायव उपरीक्षक निरञ्जन भट्टराईले जानकारी दिनु भएको छ । 

सिलवाललाई मेलम्ची प्रहरी कार्यालयबाट खटिएका प्रहरीले पक्राउ गरी जिल्ला अदालत सिन्धुपाल्चोकबाट ४ दिन म्याद थपेर थप अनुसन्धान सुरु गरिएको डिएसपी भट्टराईले बताउनु भएको छ । ‘गाउँमा किन दुख गरेर बस्छौ, भारतमा राम्रो काम र दाम पाउँछौँ’ भन्ने विभिन्न प्रलोभनमा पारेर नारायणले जिल्लाबाट भारतमा चेलीबेटी बेच्ने गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सिलवाललाई मेलम्ची प्रहरीले जेठ २० गते पक्राउ गरी जिल्ला अदालत चौतारामा पेस गरेको थियो । अहिले उनी जिल्ला कारागारमा थुनामा छन् ।