काठमाडौँ, जेठ २१ गते । जनता समाजवादी पार्टीका सांसद वीरेन्द्रप्रसाद महतोले प्रदेशहरुमा भूगोल र जनसङ्ख्याको आधारमा बजेट छुट्याउनुपर्ने बताउनुभएको छ ।
सोमबार प्रतिनिधि सभा बैठकमा आ.व. २०८१/०८२ को राजश्व र व्ययको वार्षिक अनुमान माथिको सामान्य छलफलका क्रममा बोल्नुहुँदै सांसद महतोले प्रदेशहरुमा भूगोल र जनसङ्ख्याको आधारमा बजेट छुट्याउनुपर्ने बताउनुभएको हो ।
उहाँले प्रदेश र स्थानीय तहको बजेट कटौती गर्न नहुने बताउनुभयो । उहाँले सङ्घीयालाई सवल बनाउनका लागि प्रदेश र स्थानीय तहलाई अझ बजेट आवश्यक पर्ने बताउनुभयो ।
‘‘सुन्नमा आएको छ प्रदेशको, स्थानीय तहको बजेटहरुमा कटौती गरेका छौँ । मलाई लाग्छ सङ्घीयतालाई सबल बनाउनका लागि अहिले झन् बढी बजेटको आवश्यकता भएको हुनाले बजेट कटौती नगरिदिन अनुरोध गर्न चाहन्छौँ ।,’’ सांसद महतो भन्नुभयो, ‘‘बजेट छुट्याउँदाखेरी भूगोल र जनसङ्ख्याको आधारमा प्रदेशहरुमा बजेट छुट्याउन सक्यौँ भने त्यसको अर्थ हुन जान्छ । बजेट कार्यान्वयनको चुनौती देखिएको छ । बजेटको आम लक्ष्य पूरा हुनका लागि बैंकमा रहेको तरलता बिस्तारै बजारमा जान, पुँजी बजार र रियलस्टेटमा आशाको किरण ल्याउन जरुरी छ ।’’
त्यस्तै, छलफलमा बोल्दै जनता समाजवादी पार्टी, नेपालका सांसद प्रकाश अधिकारीले बजेट समाजवादउन्मुख हुन नसकेको बताउनुभयो । उहाँले राज्यले दायित्व नबेहोरेको स्थितिको बजेट भएकाले समाजवादउन्मुख भन्न नमिल्ने बताउनुभयो ।
सांसद अधिकारीले भन्नुभयो, ‘‘समाजवादउन्मुख बजेट भनिएको छ । तर समाजवादउन्मुख बजेटको कार्यान्वयनमा राज्यले दायित्व बेहोरेको स्थिति देखिदैन । राज्यले सबै निजी क्षेत्रलाई विकास गर्ने, विस्तार गर्ने जिम्मेवारीमा छाडिदिएको छ । कसरी हुन्छ यो समाजवादउन्मुख बजेट ? आर्थिक नीति ? यसैमा पहिलो प्रश्न छ ।’’
सांसद अधिधारीले कृषिमा लगानी दशक घोषणा गरिए पनि वैज्ञानिक कृषि प्रणालीको कुनै योजना नदेखिएको बताउनुभयो ।