• १३ साउन २०८१, आइतबार

कान्ति लोकपथ आजदेखि दैनिक तीन घण्टा खुल्ने

blog

अनिल पराजुली
हेटौँडा, जेठ २१ गते ।
हेटौँडा हुँदै ललितपुर जोड्ने कान्ति लोकपथ सोमबारदेखि दैनिक तीन घण्टा खुल्ने भएको छ । सोमबार बिहान ९ बजेदेखि १२ बजेसम्म र साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म कान्ति लोकपथ सडक खुल्ने जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार बिहान ४ बजेदेखि ९ बजेसम्म र दिउँसो १२ बजेदेखि ६ बजेसम्म सडक बन्द रहनेछ । जेठ २५ गतेबाट कान्ति लोकपथ सडक पूर्ण रुपमा सुचारु हुने प्रहरी चौकी  भट्टेडाँडा ललितपुरले जानकारी दिएको छ । ललितपुरको बागमती गाउँपालिका–२ रातोभिरमा सडक निर्माण गर्ने क्रममा ढुङ्गा माटो झरेर सडक भासिएकाले सडक पूर्णरुपमा बन्द थियो ।

यसअघि मर्मतका लागि गएको चैत १ गतेदेखि ४५ दिनका लागि सडक बन्द गरिएको थियो । बागमती प्रदेशको राजधानी हेटौँडालाई सङ्घीय राजधानी काठमाडौँसँग जोड्ने कान्ति लोकपथ मकवानपुरको हेटौँडाबाट ठिंगन हुँदै बगुवा, काल्चे, भट्टेडाँडा, तीनपाने, टीकाभैरव हुँदै ललितपुरको सातदोबाटोसम्म पुग्छ । जम्मा ९२ किलोमिटर लम्बाइ रहेको कान्ति लोकपथ २०१३ सालमा शिलान्यास गरिएको थियो ।